महिना मंसिरको छ। सामाजिक सञ्जालभरि छ्यापछ्याप्ती भेटिन्छन् नवविवाहित दम्पतिका फोटा। उसैगरी भेटिन्छन् म्यारिज एनिभर्सरी मनाउने पनि। हिजोआज मलाई फेसबुक खोल्नै मन लाग्दैन। मुहारपुस्तिकाको भित्ताभरि टाँसिएका नव दम्पतिका तस्बिरले आफैंलाई गिज्याएझैं लाग्छ।
एकदिन बेलुकापख आमाले फोन गर्नुभयो। मंसिरे गुनासो पोख्नुभयो। त्यस्ता गुनासा यस अगावै पनि कैयौं पटक स्पर्श गरिसकेका छन् मेरा कानले र गरेका छन् सुने नसुने झैं पनि।
'अस्ट्रेलियाबाट बिहेकै लागि आएको रे। कुलघरानको केटो। घर बुटवल। एक्लो छोरो। दिदी बहिनी २ वटी। घरजम भैसकेका। कुरो आको छ के गर्छेस्?' आमाले एकै श्वासमा भन्नुभयो। मैले उत्तर दिन नपाउँदै थप्नुभो -तैं एउटी छस् अब बाँकी। एउटाको जिम्मा लगाइदिन पाए ढुक्कहुन्थ्यो। हुन त तँ आफै बुझ्नेछस् त्यै पनि आमाको मन हो पिर लाग्दो रैछ। जमाना यस्ता छन् कसैले बात लगाइदिन्छ कि भन्ने डर हुँदो रैछ। तँलाई सम्झिदा सम्झिदै उजेलो हुन्छ कहिलेकाँही। कहिलेकाही सोच्दा सोच्दै अघाउँछु, खान मन लाग्दैन। राम्रो कुरो छ। एकपटक विचार गरेस्।
केहीबेर सन्नाटा छायो। सन्नाटालाई छिचोल्दै बोलें- बुझ्दैमा केही भएन क्यारे। मन परे ब्या गर्नी हो नत्र कसैको कर छैन। एकपटक मसँग कुरा गर्न भन्नु न त।
बालकृष्णले कुरो ल्याका हुन्। उनैलाई तेरो नम्बर दिन्छु। बोल्न जानेकी छस्। म नपढेकीले के सिकाउनुरु त्यैपनि अल्ली नरम भएर कुरा गरेस्-आमाले फोन राख्ने बेलामा भन्नुभयो।
शनिबार छुट्टिको दिन। अबेर उठें। लगभग बिहान ९ बजेको थियो। मोबाइलमा घण्टी बज्यो। यसो नम्बर हेरे ९८४७०९४....।
