Wednesday, March 15, 2017

मुक्तक ५०

१.
भन के गर्छौ पाउँमा शरण परे भने म
तिम्रै यादमा तड्पी तड्पी मरे भने म
लासमाथि चढाइदिनु एक थुङ्गो फूल
यदि , नसकेरै अात्महत्या गरे भने म

२.
तिम्लाई पो हासीखुशी अनि रमाइलो होला त्यहाँ
हुनुपर्नेभन्दा बेहद रुपमा मैलाई छ'नि पीडा यहाँ
बनायौ तस्बिर छोएर रुने,नपरोस् दुख्न तिम्लाई
यहि चाहान्छु म त --- तिमी जहाँ भए'नि म जहाँ

३.
तिमीले देखेका एकएक बैध सपना पनि मिठा
तिमीले देखेका हरेक अबैध विपना पनि मिठा
आफ्नो हुदाँ प्यारो, पराईको भएसी झनै प्यारो
प्यारो मान्छेका यौवना मिठा,बचपना पनि मिठा

४.
मलाई डाह हुन्छ-घुरेर तिम्लाई एकोहोरो कसैले हेर्यो भने
मलाई अझै डाह हुन्छ -- नजिकै कोहि बसेको देख्यो भने
म चाहान्छु - छाइरहनु यी आँखामा र बसिरहनु साथै सधै
नत्र , अौडाहा हुन्छ लुकिछिपी कसैले तिम्लाई भेट्यो भने

Wednesday, March 8, 2017

मुक्तक ४९

भन के गर्छौ पाउँमा शरण परे भने म
तिम्रै यादमा तड्पी तड्पी मरे भने म
लासमाथि चढाइदिनु एक थुङ्गो फूल
यदि , नसकेरै अात्महत्या गरे भने म

Wednesday, February 22, 2017

पर्खालमा कला


कला आफैमा प्रसंसनिय कार्य हो । उसैमाथि उदाङ्गो रहेका भित्ताहरुमा कला भर्नु झनै सुन्दर कार्य हो । यही सुन्दर कार्य चितवनको माटोमा हुर्किरहेको साहित्यिक संस्था अक्षर समुह चितवनले गरेको छ । सरकारी कार्यालयको भित्ताहरू रंगहीन र कुरूप बन्दै गएपछि चितवनका सहित्यकारले सिर्जनशील चित्रहरू मार्फत रंगाउँदै आएका छन् । विज्ञापान र राजनीतिक नाराले भरिने पर्खालमा सन्देशमूलक सिर्जनाले भरिँदा सबैको आकर्षण बढेको छ । पर्खालमा कलाले सर्वजनिक कार्यालयका भित्तोलाई आकर्षण बनाउँदै कलाको महŒव फैलिँदै गएको देखिन्छ । कलाकर्मीले कानुनी शिक्षा, वातावरण र संरक्षणका विषयका चित्रलाई प्रथमिकता दिएर पर्खालमा कला भरेका छन् । जिल्ला विकास समिति र जिल्ला प्रहरी कार्यालय पुग्ने जोकोही सिर्जनात्मक कलाले एकै छिन लोभ्याउँछ । भित्तामा कोरिएको चित्र अगाडि बसेर तस्बिर लिनेहरू धेरै भेटिन्छन् । चितवनको भरतपुरबाट सुरु भएको पर्खालमा कला अभियान देशैभरि फैलाइने साहित्यकारले बताएका छन् । बालुवाबाट कला उतार्ने नेपालकै पहिलो चित्रकार प्रकाश थापा (प्रथा) र रत्ननगर वल्ड आर्ट लिंकका सञ्चालक एवं कलाकार योगेश खनालको अगुवाइमा नवकलाकारहरू सुरज अर्याल, सेवक श्रेष्ठ, कृष्ण थापा, प्रियंका चौधरी, विश्व श्रेष्ठ, हरिकृष्ण भट्ट र निश्चल श्रेष्ठको समूहले पर्खालमा कला भर्दै आएका छन् ।
अक्षर समूह चितवनको आयोजनामा ललितकला प्रतिष्ठान र जिल्ला विकास समितिको सहयोगमा जिल्लामा ‘पर्खालमा कला’ अभियान चलाइएको छ । मुख्य गरी महिला हिंसाविरुद्ध, बालअधिकार, महिलाअधिकार, प्रकृति र संस्कृति संरक्षण एवं विश्व शान्तिका लागि चेतना दिने सन्देशमूलक कला पर्खालमा कोरिएका छन् । सौन्दर्य प्रदान, जनचेतना, कलाको विकास र सफा सहर बनाउने अभियान यसले सहयोग पुग्ने सहित्यकारहरूले बताएका छन् । हेरौ , अक्षर समुहले पर्खालमा कुदेका केहि कलाहरु .....!!


मुक्तक ४८

तिम्रो आँसु मेरो घाउमा नुन बराबर !
तिम्रो मुस्कान मुरलीको धुन बराबर !!
एक बाछिटो खूशी लिएरआउ प्रिय !!!
त्यहि खुशी पुर्णिमाको जून बराबर !!!!

Thursday, January 12, 2017

घरभित्रका कुरा

मंसिर महिना भर्खरै निख्रीयो । दुर्भाग्य, कतिको मनमा लागेको काउकुती यसपाली पनि यसै टर्यो , कतिको प्रेमको जालोले यसपाली पनि लगनगाठो कस्न पाएन तर कती आमा, बाहरुको पिरको भारी घटेको छ यसपाली भने कती आमा, बाहरुको पिर झन् बढेको छ । हिजो भन्दा आज बढी । आज भन्दा भोली बढी । चित्त बुझाउनको लागी अर्को मंसिर पर्खिरहनु पर्दैन । दाँई हाल्नको लागी आगनभरी फिजारिएको परालमाथी बसेर पुषको पारिलो घाम ताप्दै आमा बालाई ढाडस दिनुहुन्छ - मंसिर नाघेर के भो त माघ छदै छ नि ।

केहि दिन यता मन चैनमा छैन । काममा मनै छैन । यसर्थ आज कार्यालय गैन । घरमै छु । घर के भन्नु डेरामा छु । ६ तले घर छ । तेस्रो तलाको एक कोठामा म आफ्नो दैनिकी गुजार्छु । बाकिँ कोठामा अरु बिभिन्न मान्छे बस्छन् । को को बस्छन् ? के के गर्छन् ? म जान्दिन । जान्न जरुरी पनि लाग्दैन । आज त्यसै त्यसै बिरक्त लागिरहेछ । पारिलो घाम ताप्ने मनसायका बाबजुत छैठौ तलामा आइपुगेकी छु यतिबेला । दुई बित्ताको फराकमा घुम्न पुग्ने बराबरको खाली ठाउँ छ । यो घरको आगन भने पनि टुडिखेल भने पनि यही हो । यत्ती हो । कुर्सीमा बस्न पनि मन छैन यसर्थ गुन्द्री ओछ्याएर बसेकी छु । चाकल माडेर । खेलाउदिन भन्दा भन्दै पनि मनमा अनेकन कुराहरु खेल्न थाल्छन् । जुन कुरा बेवास्ता गर्न खोज्छु त्यही कुरा झन् छिटो दिमागमा आइपुग्छ ।

खै ! कुन्नी किन भैरहेछ यस्तो ? कार्यालय सम्झ्यो कि नदुखेको टाउको दुखेर आउछ भन्या । यो कार्यालय गुजारा चलाउने माध्यम हो कि टाउको दुखाउने साधन ? मैलाई मात्र यस्तो भएको हो कि अरुलाई पनि यस्तै हुन्छ कुन्नी ? ठम्याउन सकिरहेकी छैन ।

स्वभाविक पनि हो - जहाँ महिला स्वयं महिलाको विरोधी हुन्छे, डाडे हुन्छे, आँखी हुन्छे त्यहाँ समान स्थिती रहदैन । न रहन्छ समन्वयको अवस्था पनि । ह्या छोडिदिउ बिनासित्तिमा के गर्नु टाउको दुखाउने कुरा ।

अँ, घर छेउको पल्लो घरको छतमा अन्दाजी छ दशक पार गरेकी आमा बसिरहनु भएको छ । उहाको ढाड मतिर फर्किएको छ मेरो मुहार उहातिर फर्किएको छ । उहा आफ्नै सुरमा हुनुहुन्छ मेरो सुर के छ मैलाई थाहा छैन । पारिलो घाम नसा झै लागिरहेछ । निदाउ निदाउ झै भैरहेछ । पगाहा बसेको वस्तु झै । पाउर गाडेर आनन्दले बसेको वस्तु झै बस्न मन छ तर मन अमन छ । एकछिन यताउता टहल्लिदै थिए । मोबाइलमा बज्यो “ ॐ जय जगदिश हरे, स्वामी जय जगदीश हरे” । झट्ट मोबाइल हेरे । मोबाइलको स्क्रीन त कालै छ । फ्यात्त फालिदिए , कत्ती मन नपरेकी सौतेनी छोरिलाई झै । गुटुङ्टुङ दगुर्दै एउटी सानी सानी नानी आइन आमा छेउ । कती राम्री नानी पुतली जस्ती । फेरी कती राम्रो जामा ? त्यो उमेरमा त्यस्तो फरर परेको जामा कहिल्यै लाउन पाइन मैले । त्यो दिन सम्झदा मात्रै पनि तुरुक्क आशु चुहिन्छ । सायद आमालाई उनको उपस्थिती झिजो लाग्यो क्यारे । कराउनु भो । रुखो बोले झै गरी मायालु पाराले । नानी रुन्चे मुख पारेर तल झरिन् । फेरी भजन बज्यो - “ ॐ जय जगदिश हरे, स्वामी जय जगदीश हरे” । थाहा भो भजन पल्लो घरको छातामा बस्ने आमाको मोबाईलमा बजेको रैछ । फोन काटियो या काटिइयो - थाहा भएन तर भजन बन्द भो ।

एकछिनपछी फेरी एउटी दिदी आउनु भो । आमा छेउ मै बस्नु भो । मधुरो मधुरो गरी सुनिरहेकी छु । घरायसि सामान्य कुरा चल्दै थियो । एकाएक आमाको आशुले भरिएको आवाज निस्कियो । सोचे - बिचरा बिरामी हुनुहुदो र'छ केरे । दुखेर हो कि । मेरा कान ठाडा भए । चासो बढ्यो । सुन्दै थिए - एउटा छोरो । त्यही पनि सानै देखी बाहिर बाहिर हिड्यो । घरको दु:ख टार्यो । तिमी छोरिहरु उम्कियौ । बुहारी आई । अब त सुखका दिन आए भन्ने लागेथ्यो तर होईन रहेछ । खास दु:खका दिन त बल्ल सुरु हुँदै रहेछन् । बुहारी राइकाटा छे । कसैलाई टेर्दिन । झन् त्यो सोझो छोरालाई के गन्दी हो र ? बरा ! तेल्ले नि सुख पाउने भएन । हामी त डाडाका घाम भयौ । अब देउघाट गएर पनि जिन्दगी गुजार्न सकिन्छ । बरा ! त्यो बालखाले के गर्छ ?