Tuesday, October 27, 2015

२३. कविता : अंकमाल

आउ,
तिम्रो विरोधमा उत्रीएका
मेरा ओठहरु टालिदेउ
आँखाहरु बन्द गरिदेउ
फुटालिदेउ कानका जालिहरु
छिनालिदेउ हातहरु
छप्पछप्प हान
र टुक्य्राईदेउ मेरा गोडाहरु
अझै पनि चित्त बुझेन भने
लैजाउ सडकको बिचमा
छर्किदेउ आधा लिटर मट्टितेल
स्यार्र कोर सलाई
अनी फ्यार्र फालिदेउ मेरो शरिरमाथी

तर पनि म छाड्ने छैन
हामिबिचको भाइचाराको डल्लाहरुलाई
पञ्चासेको भिरबाट गुडुल्क्याउदै
राम-जानकी चोक पुर्याउन
म छाड्ने छैन
त्यही डल्लाहरुले बनाएको बाटोबाटै
मधेस र पहाड गर्न
म छाड्ने छैन
हिमालको हिउँ पगालेर
पहाडको बाटो हुँदै
तराईका फाँटहरुमा सिँचाइ गर्न
अनी छाड्ने छैन
तिम्री मतिया माईले पस्किएर दिएको
कासको थालमा भात खान

तिम्रो भुगोलबाट माटोको भागबण्डा गरिदा
हिमालको झ्यालबाट चियाउँदै
पहाडको फेदिमा उभिएर
समर्थनको थपडी बजाउन कसरी सक्छु म ?

ओ महासय,
सोच त - पहाडबाट झरना खसेन भने
हिमालबाट हिउँ बगेन भने
कसरी हुन्छ हराबरा तराई ?
कसरी फलाउछौ अन्नपात ?
कसरी धान्छौ एकमुठी प्राण ?
अनि भन त - कसरी फेर्छौ
एकमुठी स्वच्छ स्वास तिमीले ?

यो पनि नबिर्सनु कहिल्यै
तिमी, केबल तिम्रो मात्रै होइनौ
सिङ्गो देशको मेरुदण्ड हौ
सिङ्गो देशबासिको आधार हौ

होला, जन्मिएको पाखो फरक होला
हुर्किएको बाटो फरक होला
तर, हामी फुलेको बगैचा एउटै हो
छुट्टिएर हैन
मिलेर छर्नुछ - बगानमा सुवास हामिले
सुगन्ध हामिले
तसर्थ जरैदेखी उखेलेर फालौ
तेरो र मेरो को भावना
रिस र रागको भावना
र गरौ - भाइचाराको सम्बन्धलाई बिजारोपण
अनि गरौ - यही खुशीयालिमा एकपटक अंकमाल हामीले 

Friday, September 11, 2015

.......यानिकी सुजित गुरुङ्ग !!

म एकदमै बेचैनमा छु यतिबेला । उसो पनि फेरी आफैले निम्त्याएको बेचैनी भन्न रुचाउछु म यसलाई । मनले चैन छोड्नुका कारणहरु अनगिन्ती हुन्छन् । तथापी सबैले सहजै मनन गर्न सक्ने कुराहरु पनि छन् जस्तो कि प्रेममा पर्नु, धोका खानु, मन दुख्नु, पिडा हुनु, घाउ चोटपटक लाग्नु, असाध्यै खुशी हुनु, मन परेको मान्छेसँगको दुरी टाढिनु या नजिक हुनु, कसैलाई पर्खिरहनु । यस्तै यस्तै ।
जिन्दगीमा चैनभन्दा बेचैन को स्वास बढी फेरेकी छु मैले । कुनैपल अभावले गर्दा, कुनै पल प्रेमले गर्दा त कैयौ पल एक्लोपनले गर्दा । समय सधै एक नासको कहाँ हुदो रहेछ र ? कहिले कस्तो परिस्थिति, कहिले कस्तो । सताइरहन्छ, तड्पाइरहन्छ र मेरो हकमा हसाउछ एकदमै सिमित मात्रामा । बिना हिचकिचाहट भन्न सक्छु म कि आजसम्मको भोगाइमा हासोभन्दा आशु धेरै, खुशिभन्दा पिडा धेरै, प्राप्तिभन्दा अभाव धेरै अनि आफन्तको ममता भन्दा एक्लोपनको डसाइले धेरै तड्पिएकी छु म । घरिघरी त यस्तो लाग्छ यो संसारमा म भन्दा दु:खी अरु कोही पनि छैन । फेरी अर्को कोल्टे फर्कन्छु र सोच्छु - हैन म भन्दा कैयौ दु:खिहरु पनि छन् यहाँ । जसका हातखुट्टा कुजिएका छन् र परिवार कै बोझ भैरहेका छ्न् , जो शारिरिक तथा मानसिक दुबै किसिमले असक्त छन्, जो अन्तिम विकल्पको रुपमा बाटोमा कचौरा र हातमा बोरा बोकेर हिडेका छन् । तिनिहरुलाई हेर्छु र महसुस गर्छु - अहो ! म कती भाग्यमानी ।
अँ, म बेचैनको कुरा गर्दै थिए । उसो त नढाटी भन्दा म प्राय कहिल्यै चैनमा हुदिन । अपवाद बाहेक । तर हिजोदेखी अझ बढ्ता बेचैनी छ यो मनमा । सन्दर्भ एकल कविता वाचनको थियो । हरेक शनिबारको दिन समयको घडिले ९:१५ बजाउनासाथ सुरु हुन्छ उज्यालो ९० नेटवर्कमा एकल कविता वाचन, अच्युत घिमिरेको साथमा । प्राय: नटुटाई सुन्छु म । सुन्छु । सुन्दै जादा कविको वाचन शैली र कविताले मोहित पार्यो भने कार्यक्रम अन्तिमसम्म नै सुन्छु अन्यथा बिच मै बन्द गरिदिन्छु या बटार्छु अन्य स्टेसनतिर ।

लेख्नु मात्र ठुलो कुरा कदापी होईन । फेरी लेखेरै ठेली तयार पार्नु पनि खासै ठुलो कुरा मान्दिन म यद्धपी लेखिएका लेखका शब्दहरुले पाठकको मन छुदैनन् भने ।

Thursday, August 13, 2015

कथा सङ्ग्रह - ईन्द्रमायाको देशमा


एक  फन्को  मारेपछी  "ईन्द्रमायाको देशमा


चितवन कविडाँडाका एल.बि. छेत्री । पेशाले प्रेरणाका स्रोत भन्न रुचाउछु म उँहालाई । साहित्य वरिपरी र साहित्य बाहिर रहेर पनि सदैव केहि गर्नुपर्छ, गलत गर्नुहुन्न र डराउनु पनि हुन्न भनेर झकझकाइरहने एल.बि. छेत्रीलाई म आफ्नो अभिभावक ठान्दछु । बस् । एउटा सन्तान भएर अभिभावकको व्यक्तिगत जिवनिमाथी यत्ती मात्र बोले मैले । अब लागौं ईन्द्रमायाको देशतिर ।

विमोचन अगावै चर्चामा आइसकेको यस कथा सङ्ग्रह विमोचन पश्चात गुपचुप रहने त कुरै भएन । मण्डला थिएटरको हलमा श्रावण ९ गते शनिबारको दिन ईन्द्रमायाको देश विमोचित भयो । सबै पाठकको लागी उक्त देशमा घुम्न, खेल्न, रमाउन प्रवेश खुला गरियो तर रु २०० को टिकट कटेर मात्र । म छुटको अफरमा परे र रु १०० मै पाए प्रवेश अनुमती । प्रवेश अनुमती पाएको करीब २ हप्तापछी मात्र घुम्न निस्कने अवसर जुर्यो मलाई । त्यसपछी लागे म 'ईन्द्रमायाको देशमा' । ९४ पृष्ठको यस सङ्ग्रहभित्र जम्माजम्मी २२ वटा कथाहरु सङ्ग्रहित छन् । एडगर एलेन ले भने झै पाठकको रोजाई बुझेरै हुनुपर्छ कथाकारले बिल्कुलै छोटा धारका कथाहरुलाई प्रश्रय दिनुभएको छ । 'राष्ट्रानीर्माण' बाट सुरु भएको कथाको लहरले 'उसले फेरी सपना बुन्नु छ' मा पुगेर बिट मारेको छ । छोटा छोटा वाक्यांशहरु छन् जसले गर्दा पढिरहन पट्यार लाग्दैन । क्लिष्ट शब्दहरुलाई प्रवेश निषेध गरिएको छ जसले गर्दा हामी जस्ता भर्खरै बामे सर्न खोज्दै गरेका पाठकहरुलाई वाक्यांशहरुले बोल्न खोजेको भाव बुझ्न खासै कठिन पर्दैन । डा. गोविन्दराज भट्टराई कै शब्दमा भन्नुपर्दा - लेखक नारिप्रती अत्यन्तै संविदनशिल हुनुहुन्छ । एउटा शिक्षित व्यक्तिले नारिप्रती जती संविदनशिल हुनुपर्छ त्यती नै उदारता र स्नेह प्रकट गर्नुभएको छ । साथै, पुरुषको दम्भ, अहङ्कार, प्रेम, सद्भाव, सबै पक्ष छर्लङ्ग पारेर विभिन्न कथाले प्रस्ट्याएका छन् । हरेकजसो कथामा सफल नारी पात्र उपस्थित छन् । यस कथा सङ्ग्रह 'ईन्द्रमायाको देशमा' मा नारी स्वतन्त्रताको खोजी र आत्मनिर्माणको अद्धितिय शक्ती प्रकट गरिएको छ ।

परिवर्तन एक्कासी हुँदैन । समयसँगै विस्तारै हुँदै जान्छ । जस्तो कि २१औं शताब्दिमा तत्कालै परिवर्तन खोजिएको जातभातको कुरा । यो कुरा पछिल्लो पुस्ताले अबलम्बन गरेता पनि हाम्रा बुवाआमा तथा हजुरबुवा हजुराआमा को पुस्तालाई पाच्य हुँदैन । उँहाहरुको मानसिकताले आफुभन्दा तल्लो जातको मान्छेलाई घरभित्र पस्न, उनिहरुले छोएको खाना खान स्विकृती दिदैन । यो सत्य हो ।

Monday, June 22, 2015

आमालाई चिठ्ठी


 मिती : २०७२/०३/०७
        सोमबार
स्थान : सुनसान कोठा
समय : जून हराएको रात



ममतामयी आमा,

                         असिम प्यार र अगाध सम्झना ।

                                    थाहा छ - समयले कोल्टो फेरिसक्यो । हात हातमा हुने मोबाइल फोनको बिगबिगिले चिठ्ठीपत्रको जमाना एकादेशको कथा बनिसकेको छ तर पनि आधुनिक जमानाको सुविधालाई अल्ली परै छाडेर सेतो पानामा काला अक्षरहरु उतार्न मन लाग्यो मलाई । त्यो पनि तिम्रो सम्झानाको खातिर । फेरी यसरि कोरा कागजमा आफ्ना बहहरु पोख्नुको आनन्दानुभुत त्यो मोबाइलबाट कहाँ पाउन सकिन्छ र ? हो, आमा आज अनायासै तिम्रो यादले भाव विह्वल भए म । खै ! किन भए त्यो म आफैलाई थाहा छैन ।

पत्र लेख्दै गर्दा यि दुई नयनबाट साउने बलेसी सरी अश्रुधारा बहिरहेका छन् । यि काला अक्षरहरुमा नपरुन भन्नको खातिर घरी घरी लेख्दा लेख्दैको कलम बिसाउछु र आँखा पुस्छु अनि पुन : लेख्न थाल्छु । यो क्रम निरन्तर चलिरहेको छ । यस पानामा फुलेका अक्षरहरु पढ्दै गर्दा रुदा रुदा फुलेका मेरा आँखहारु तिम्रो वरिपरी नघुमुन । बस् ।

आमा,
                थाहा छैन किन यस्तो बेचैनी बढिरहेछ मलाई । जती जती सम्झाउन खोज्छु यो मन उति नै छट्पटी बढिदिन्छ झन । क्यै गरी सकिरहेकी छैन । मनभरी खात लागेका सपनाहरुले दिनहुँ झक्झक्याइरहन्छन र पनि ब्युझिन सकिरहेकी छैन । फेरी निदाएकी पनि छैन तर लमतन्न परेर सुतेको शरिर उठ्न मन गरिरहेको छैन । घरिघरी त यस्तो लाग्छ कि - पुगौँ कुनै अग्लो डाडामा र बन्द गरौ दुबै आँखा अनि बिर्सेर दुनियाँ सारा, भुलेर आफन्त सारा अनि त्यागेर सारा लोभ, मोह, र इर्ष्या हाम्फालु त्यही डाडाको टुप्पादेखी र एक निमेषमै मारिदिउ आफ्ना अनगिन्ती सपनाहरु तर सपना सँगसँगै म मर्न चाहान्न । त्यसैले त सकिन त्यसो गर्न पनि । फेरी सोच्छु - सपनाहरुको लानी 'सपनानाषक बिषादि' छरिदिउ सपना फूल्ने मनको बारिभरी । बिडम्बना, सोचनिय मेरा सबै प्रयासहरु फगत भैरहे । विफल भैरहे म यस मानेमा हर हमेशा ।
सधैजसो यही सुनसान कोठामा हुन्छु । झ्यालमा उभिन्छु र आकाशका ताराहरुसँग भलाकुसारी गर्छु घण्टौसम्म तर कालो बादल मडारिएको छ आज आकाशमा र झुल्किएका छैनन् मेरा ताराहरु यसर्थ एक्लो पनले छट्पटाइरहेको छ मलाई । यसैबेला चारैतिर हेर्छु, सोच्छु नितान्त एक्ली लाग्छु म आफु । छैनन् कोही वरिपरी । यदी कोही हुदो हो त खुशीमा सँगै हास्ने साथ भेट्टाउदी हुँ, यदी कोही हुदो हो त म रुदा आशु पुछिदिने हात भेट्टाउदी हुँ, भेट्टाउदी हुँ मन निराश भैरहेको बेला हौसलका केहि शब्दहरु अनि भेट्टाउदी हुँ मनको बह बिसाउने चौतारी पनि ।

Tuesday, May 26, 2015

मुक्तक ४०

महिनौदेखी गासँ, बासँ र कपास टुटाएपछि
भुकम्पिय विपत्तिले मलाई टुहुरो बनाएपछि
झनझन पिडाले आहात भएकिछु म आमा
हुरि-वतासले जून छेकेको त्रीपाल उडाएपछी