Saturday, November 11, 2017

खै ! यो कस्तो जिन्दगी ??

खै ! यो कस्तो जिन्दगी ??

सुत्लो निमोठिएको मकैको बोट जस्तो,
नम्वर च्यात्तिएको कागजको नोट जस्तो,
नफूल्दै किरा लागेको तोरी जस्तो,
अझ भनौ भने -
गाउँ समाजमा हेपीएको कोरी जस्तो - जिन्दगी
खै ! यो कस्तो जिन्दगी ??

सुर्योदय नभएरै ढल्केको घाम जस्तो,
सरकारको काम जस्तो, राजधानीको जाम जस्तो,
स्टेरिङ भाचिएको तर टल्कने कार जस्तो
अझ भनौ भने -
मृत आमाको छातिमा गुञ्जिएको शिशुको गुहार जस्तो - जिन्दगी
खै ! यो कस्तो जिन्दगी ??

सँगै भएर पनि टाढा जस्तो,
अधिकार नपाए पनि हक साझा जस्तो,
ठेगाना मेटिएको चिठ्ठीको खाम जस्तो,
अझ भनौ भने -
बिना लालपुर्जा जमिनमा किसानले लेखेको नाम जस्तो - जिन्दगी
खै ! यो कस्तो जिन्दगी ??

Sunday, May 7, 2017

अनौठो शक्ति

माइतीघरबाट अन्मिएको दोस्रो शिशिर पश्चात्
पाएथे मैले आमा हुनुको पहिलो सौभाग्य
जब आफू हजुरबा बनेको खबर सुनेथे ससुराले
तब खुम्च्याएथे ननिको गरि नाक
र, बनाएथे चुक जस्तै अनुहार
बुझ्दैछु -
परिवारको खुशीको अगाडि हाम्रो खुशी फिक्का रहेछ ।

उसैगरि, दोस्रो शिशिर आइपुग्दा नपुग्दै
बनेथिन् मेरी सासू दोस्रो सन्तानकी हजुरआमा
हजुरअामा बनेको खबर कानमा पर्दा नपर्दै
गुजुमुज्ज परेकोथ्यो सासुको निधार
र, परेकोथ्यो उस्तै गुजुमुज्ज मन
बुझ्दैछु -
अरुको मन खुसाउदा खुसाउदै बिर्सने रहेछौ हामी आफै हास्न ।

दोष न मेरो थियो न मेरा अबोध सन्तानको
तर, नबुझेझै गरि भन्नुभो श्रीमानले -
सुनिस् अब जाचेर सन्तान जन्माउनु पर्छ ।
मैले नसुनेझै गरेर भने -
सुन्नुभो हजुर, दुई सन्तान भैगए अब नियोजन गरौ ।
उहाँले नसुने झै नै गर्नुभो र निस्कनु फुत्त बाहिर
जानुभो तर थाहा छैन कहाँ जानुभो ?
न थाहा छ पुग्नु भो कहाँसम्म ?
बुझ्दैछु -
अरुमा सपर्पित हुदा हुदै सिद्दिने रहेछ हाम्रो जिन्दगी ।

जब दुई रातपछि घर फिरेका
लोग्नेका सुरुवालमा देखे अालो टाटो
तब, भुलेर दुई सन्तानको भविष्य
बिर्सिएर ज्यानको माया
थाती राखेर मनोकांक्षाहरु
हठात मलाई गर्भवती हुने मन भयो
बुझ्दैछु -
हाम्रा लागि सबैभन्दा ठुलो शिरको सिन्दुर रहेछ ।

ठुली छोरी बायाँ हातमा
सानी छोरी दायाँ हातमा
दुबै छोरीका स्कुले ब्याग दुई काधमा
अनि, मजेत्रोले छोपेर हिडेकीछु पुटुस्स उठेको पेट
थाहा छैन मजेत्रो छोपेको यो
जिन्दगीले दिन नसकेको खुशीको पोको हो ?
या हो भरोसाको पहाड ?
बुझ्दैछु -
हामी आफ्ना लागि कम र अरुका लागि बढी बाच्ने रहेछौ ।

हरेक बिहान स्कुलको गेट अगाडी उभिएर
कक्षाकोठाभित्र छिर्दै गरेका
फूल जस्ता छोरीहरुलाई देखेसी
बिना समाधानका तर्कनाहरु खेल्छन् मनमा -
एउटै छोराले बोकेर हिड्न सक्छ परिवारको खुशी
तर दुई छोरीले धान्न सक्द‌ैनन् किन ??
अह ! बुझिन मैले -
साच्चै, छोराहरुमा के छ त्यस्तो अनौठो शक्ति
जुन छोरीहरुले बोध गर्न सकेनन् अाजसम्म पनि
र, परिरहे पछाडि सधै

Monday, April 24, 2017

कविता : रहे पो पृथ्वी बाचौला हामी

(  विश्व अर्थ आवर अवसरमा सिर्जित कविता  )


तिमी बिना न मेरो अस्तित्व छ
न म बिना तिम्रो अौचित्य छ
हामी एउटै कागजका दुई पाना हौ
तिम्रो जगेर्ना मेरो कर्तव्य
मेरो संरक्षण तिम्रो दायित्व
त्यसै‌ले त,
जमिन, जंगल, जल, वायु इक्वल टु पृथ्वी
पृथ्वी इक्वल टु वातावरण
वातावरण इक्वल टु मानिस

पुर्ण वेवास्ताका साथ, वेविचारका साथ
रछ्यान पल्तिर गोप्य वस्त्रलाई आँखा चिम्लेर मिल्काएझै
एकआपसका अन्तरनिहित
सम्बन्धहरुलाई उ पर हुत्याएर
गड्याङगुडुङको सन्त्रास्तमा
अन्धो हुण्डरीबाट बचाउन
एक जोडी परेवाले छोपेझै आफ्ना चल्लाहरु
छपक्क छोपेर अात्मघाती व्यवस्था
हालेझै गरेर आफ्नै आँखामा छारो
वातावरण, वातावरणीय सम्पदा
जैव, जैविक विविधता
प्रकृति, प्राकृतिय सुन्दरता
समाज, सामाजिक विनम्रता
अनि प्रजातीय संशाधनलाई बेवास्ता गरि
हामी आफ्नै खुट्टामा बञ्चरो हानिरहेछौ
र बढाइरहेछौ जिवनका चुनौतीहरु
या घटाइरहेछौ अायु ??

बिशेषत लोकतन्त्रको खोल ओढेर
पुजीवादी व्यवस्थाको पुच्छर समात्दै
जीवन विरोधी, समाज विरोधी र भविष्य विरोधी
उपभोगवादी, मुनाफाखोर र लालची व्यवस्थापनको
पछिपछि दगुर्ने हामी
सोचेनौ , सोच्दैनौ पनि
तर अबुझ बनेर गरिरहन्छौ प्रश्न -
यो जलवायु परिवर्तन किन ??
भूमण्डलीय तापक्रमको वृद्धि किन ??
यतिविघ्न वायु प्रदुषण किन ??
किन दिनानुदिन घटिरहेछ कृषि उत्पादन ??
किन फेरिइरहेछ फल्ने, फूल्ने, पाक्ने याम ??
किन बढ्दैछ ब्याक्टेरियाको सङ्क्रमण ??
किन बढ्दैछ प्राकृतिय विनाश ??
अनि किन बढीरहेछ अापसमा अमानवियकरण ??
परिणामत: जसले लोक हैन
आफ्नै, हाम्रै सबथोक खोसिरहेछ एकएक गरि

भलै, नबुझे पनि नजाने पनि
महसुस जरुर गर्न सक्छौ हामी
हिजोकोभन्दा आजको‍ जीवन चक्रले
सामना गर्दै गइरहेको - संकटको स्थिति
बढ्दै गइरहेको - वाधा व्यवधानको स्थिति
अनि महसुस गर्न सक्छौ हामी - प्रकोपको स्थिति

स्यार्र कोरेर फालेको एक काटी सलाई ह‍ो
तर उसैले जलाउने सामर्थ्य बोकेर हिड्छ दुनियाँ
उसै, गरेको गल्ती सानो हो
तर परिणाम निम्तिन्छ अकल्पनीय
र, पारिदिन्छ संकटमा जीवन
अन्ततोगत्वा पुर्याउछ पारिस्थितिक प्रणालीमै खलल
यसर्थ , सोचेर बेलैमा, दिएर तनमन
लगाएर जिउज्यान, बढाउँ पाइला अगाडि
जसको लागि ढक्ढक्याउनुछ सरकारी नितिको ढोका
बढाउनुछ विद्युतिय सर्वसुलभता
त्यसपछि अाफसेआफ हुनेछ दाउराको उपभोग कम
तत्पश्चात स्वत: कम कार्बनडाईअक्साइडको उत्पत्ति
र स्वत: न्युनिकरण हरितग्यासको उत्पादन

हामी पर्खिरहेछौ समय
समयले पर्खिरहेछ घाम
अब हुन्न यसैगरि खुम्चिएर हामी
उठौ, पहल थालौ -
रोकौ - वनजंगलको विनास
रोकौ - खनिजजन्य इन्धनको अधिकतम उपयोग
र, रोकौ - अौधोगीकीय प्रदुषण विस्तारै - विस्तारै

रहे पो पृथ्वी , रहला वातावरण
भए पो वातावरण , बाचौला हामी

Wednesday, March 15, 2017

मुक्तक ५०

१.
भन के गर्छौ पाउँमा शरण परे भने म
तिम्रै यादमा तड्पी तड्पी मरे भने म
लासमाथि चढाइदिनु एक थुङ्गो फूल
यदि , नसकेरै अात्महत्या गरे भने म

२.
तिम्लाई पो हासीखुशी अनि रमाइलो होला त्यहाँ
हुनुपर्नेभन्दा बेहद रुपमा मैलाई छ'नि पीडा यहाँ
बनायौ तस्बिर छोएर रुने,नपरोस् दुख्न तिम्लाई
यहि चाहान्छु म त --- तिमी जहाँ भए'नि म जहाँ

३.
तिमीले देखेका एकएक बैध सपना पनि मिठा
तिमीले देखेका हरेक अबैध विपना पनि मिठा
आफ्नो हुदाँ प्यारो, पराईको भएसी झनै प्यारो
प्यारो मान्छेका यौवना मिठा,बचपना पनि मिठा

४.
मलाई डाह हुन्छ-घुरेर तिम्लाई एकोहोरो कसैले हेर्यो भने
मलाई अझै डाह हुन्छ -- नजिकै कोहि बसेको देख्यो भने
म चाहान्छु - छाइरहनु यी आँखामा र बसिरहनु साथै सधै
नत्र , अौडाहा हुन्छ लुकिछिपी कसैले तिम्लाई भेट्यो भने

Wednesday, March 8, 2017

मुक्तक ४९

भन के गर्छौ पाउँमा शरण परे भने म
तिम्रै यादमा तड्पी तड्पी मरे भने म
लासमाथि चढाइदिनु एक थुङ्गो फूल
यदि , नसकेरै अात्महत्या गरे भने म

Wednesday, February 22, 2017

पर्खालमा कला


कला आफैमा प्रसंसनिय कार्य हो । उसैमाथि उदाङ्गो रहेका भित्ताहरुमा कला भर्नु झनै सुन्दर कार्य हो । यही सुन्दर कार्य चितवनको माटोमा हुर्किरहेको साहित्यिक संस्था अक्षर समुह चितवनले गरेको छ । सरकारी कार्यालयको भित्ताहरू रंगहीन र कुरूप बन्दै गएपछि चितवनका सहित्यकारले सिर्जनशील चित्रहरू मार्फत रंगाउँदै आएका छन् । विज्ञापान र राजनीतिक नाराले भरिने पर्खालमा सन्देशमूलक सिर्जनाले भरिँदा सबैको आकर्षण बढेको छ । पर्खालमा कलाले सर्वजनिक कार्यालयका भित्तोलाई आकर्षण बनाउँदै कलाको महŒव फैलिँदै गएको देखिन्छ । कलाकर्मीले कानुनी शिक्षा, वातावरण र संरक्षणका विषयका चित्रलाई प्रथमिकता दिएर पर्खालमा कला भरेका छन् । जिल्ला विकास समिति र जिल्ला प्रहरी कार्यालय पुग्ने जोकोही सिर्जनात्मक कलाले एकै छिन लोभ्याउँछ । भित्तामा कोरिएको चित्र अगाडि बसेर तस्बिर लिनेहरू धेरै भेटिन्छन् । चितवनको भरतपुरबाट सुरु भएको पर्खालमा कला अभियान देशैभरि फैलाइने साहित्यकारले बताएका छन् । बालुवाबाट कला उतार्ने नेपालकै पहिलो चित्रकार प्रकाश थापा (प्रथा) र रत्ननगर वल्ड आर्ट लिंकका सञ्चालक एवं कलाकार योगेश खनालको अगुवाइमा नवकलाकारहरू सुरज अर्याल, सेवक श्रेष्ठ, कृष्ण थापा, प्रियंका चौधरी, विश्व श्रेष्ठ, हरिकृष्ण भट्ट र निश्चल श्रेष्ठको समूहले पर्खालमा कला भर्दै आएका छन् ।
अक्षर समूह चितवनको आयोजनामा ललितकला प्रतिष्ठान र जिल्ला विकास समितिको सहयोगमा जिल्लामा ‘पर्खालमा कला’ अभियान चलाइएको छ । मुख्य गरी महिला हिंसाविरुद्ध, बालअधिकार, महिलाअधिकार, प्रकृति र संस्कृति संरक्षण एवं विश्व शान्तिका लागि चेतना दिने सन्देशमूलक कला पर्खालमा कोरिएका छन् । सौन्दर्य प्रदान, जनचेतना, कलाको विकास र सफा सहर बनाउने अभियान यसले सहयोग पुग्ने सहित्यकारहरूले बताएका छन् । हेरौ , अक्षर समुहले पर्खालमा कुदेका केहि कलाहरु .....!!


मुक्तक ४८

तिम्रो आँसु मेरो घाउमा नुन बराबर !
तिम्रो मुस्कान मुरलीको धुन बराबर !!
एक बाछिटो खूशी लिएरआउ प्रिय !!!
त्यहि खुशी पुर्णिमाको जून बराबर !!!!

Thursday, January 12, 2017

घरभित्रका कुरा

मंसिर महिना भर्खरै निख्रीयो । दुर्भाग्य, कतिको मनमा लागेको काउकुती यसपाली पनि यसै टर्यो , कतिको प्रेमको जालोले यसपाली पनि लगनगाठो कस्न पाएन तर कती आमा, बाहरुको पिरको भारी घटेको छ यसपाली भने कती आमा, बाहरुको पिर झन् बढेको छ । हिजो भन्दा आज बढी । आज भन्दा भोली बढी । चित्त बुझाउनको लागी अर्को मंसिर पर्खिरहनु पर्दैन । दाँई हाल्नको लागी आगनभरी फिजारिएको परालमाथी बसेर पुषको पारिलो घाम ताप्दै आमा बालाई ढाडस दिनुहुन्छ - मंसिर नाघेर के भो त माघ छदै छ नि ।

केहि दिन यता मन चैनमा छैन । काममा मनै छैन । यसर्थ आज कार्यालय गैन । घरमै छु । घर के भन्नु डेरामा छु । ६ तले घर छ । तेस्रो तलाको एक कोठामा म आफ्नो दैनिकी गुजार्छु । बाकिँ कोठामा अरु बिभिन्न मान्छे बस्छन् । को को बस्छन् ? के के गर्छन् ? म जान्दिन । जान्न जरुरी पनि लाग्दैन । आज त्यसै त्यसै बिरक्त लागिरहेछ । पारिलो घाम ताप्ने मनसायका बाबजुत छैठौ तलामा आइपुगेकी छु यतिबेला । दुई बित्ताको फराकमा घुम्न पुग्ने बराबरको खाली ठाउँ छ । यो घरको आगन भने पनि टुडिखेल भने पनि यही हो । यत्ती हो । कुर्सीमा बस्न पनि मन छैन यसर्थ गुन्द्री ओछ्याएर बसेकी छु । चाकल माडेर । खेलाउदिन भन्दा भन्दै पनि मनमा अनेकन कुराहरु खेल्न थाल्छन् । जुन कुरा बेवास्ता गर्न खोज्छु त्यही कुरा झन् छिटो दिमागमा आइपुग्छ ।

खै ! कुन्नी किन भैरहेछ यस्तो ? कार्यालय सम्झ्यो कि नदुखेको टाउको दुखेर आउछ भन्या । यो कार्यालय गुजारा चलाउने माध्यम हो कि टाउको दुखाउने साधन ? मैलाई मात्र यस्तो भएको हो कि अरुलाई पनि यस्तै हुन्छ कुन्नी ? ठम्याउन सकिरहेकी छैन ।

स्वभाविक पनि हो - जहाँ महिला स्वयं महिलाको विरोधी हुन्छे, डाडे हुन्छे, आँखी हुन्छे त्यहाँ समान स्थिती रहदैन । न रहन्छ समन्वयको अवस्था पनि । ह्या छोडिदिउ बिनासित्तिमा के गर्नु टाउको दुखाउने कुरा ।

अँ, घर छेउको पल्लो घरको छतमा अन्दाजी छ दशक पार गरेकी आमा बसिरहनु भएको छ । उहाको ढाड मतिर फर्किएको छ मेरो मुहार उहातिर फर्किएको छ । उहा आफ्नै सुरमा हुनुहुन्छ मेरो सुर के छ मैलाई थाहा छैन । पारिलो घाम नसा झै लागिरहेछ । निदाउ निदाउ झै भैरहेछ । पगाहा बसेको वस्तु झै । पाउर गाडेर आनन्दले बसेको वस्तु झै बस्न मन छ तर मन अमन छ । एकछिन यताउता टहल्लिदै थिए । मोबाइलमा बज्यो “ ॐ जय जगदिश हरे, स्वामी जय जगदीश हरे” । झट्ट मोबाइल हेरे । मोबाइलको स्क्रीन त कालै छ । फ्यात्त फालिदिए , कत्ती मन नपरेकी सौतेनी छोरिलाई झै । गुटुङ्टुङ दगुर्दै एउटी सानी सानी नानी आइन आमा छेउ । कती राम्री नानी पुतली जस्ती । फेरी कती राम्रो जामा ? त्यो उमेरमा त्यस्तो फरर परेको जामा कहिल्यै लाउन पाइन मैले । त्यो दिन सम्झदा मात्रै पनि तुरुक्क आशु चुहिन्छ । सायद आमालाई उनको उपस्थिती झिजो लाग्यो क्यारे । कराउनु भो । रुखो बोले झै गरी मायालु पाराले । नानी रुन्चे मुख पारेर तल झरिन् । फेरी भजन बज्यो - “ ॐ जय जगदिश हरे, स्वामी जय जगदीश हरे” । थाहा भो भजन पल्लो घरको छातामा बस्ने आमाको मोबाईलमा बजेको रैछ । फोन काटियो या काटिइयो - थाहा भएन तर भजन बन्द भो ।

एकछिनपछी फेरी एउटी दिदी आउनु भो । आमा छेउ मै बस्नु भो । मधुरो मधुरो गरी सुनिरहेकी छु । घरायसि सामान्य कुरा चल्दै थियो । एकाएक आमाको आशुले भरिएको आवाज निस्कियो । सोचे - बिचरा बिरामी हुनुहुदो र'छ केरे । दुखेर हो कि । मेरा कान ठाडा भए । चासो बढ्यो । सुन्दै थिए - एउटा छोरो । त्यही पनि सानै देखी बाहिर बाहिर हिड्यो । घरको दु:ख टार्यो । तिमी छोरिहरु उम्कियौ । बुहारी आई । अब त सुखका दिन आए भन्ने लागेथ्यो तर होईन रहेछ । खास दु:खका दिन त बल्ल सुरु हुँदै रहेछन् । बुहारी राइकाटा छे । कसैलाई टेर्दिन । झन् त्यो सोझो छोरालाई के गन्दी हो र ? बरा ! तेल्ले नि सुख पाउने भएन । हामी त डाडाका घाम भयौ । अब देउघाट गएर पनि जिन्दगी गुजार्न सकिन्छ । बरा ! त्यो बालखाले के गर्छ ?

Friday, November 11, 2016

साताको ब्लगरमा ...

ब्लगको सिमा विस्तृत भएको हुँदा विषयवस्तु पनि विस्तृत नै हुन्छ जस्तो लाग्छ :फुच्ची जमुना

फुच्ची जमुना भनेर चिनिने उनको वास्तविक नाम जमुना‍‍‍‍‍‍ न्यौपाने हो। स्थायी घर चितवन मेघौली भएकी जमुनाको साहित्यमा विशेष रुचि छ । जमुनालाई ब्लगहरु पढ्न र लेख्नमा पनि उतिकै रुची छ । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै जमुना न्यौपानेसँग कुराकानी गरेका छौ। प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 


आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ ?
बुवा आमाकी कान्छी छोरी, दाजु र दिदिहरुकी कान्छी बहिनी, साहित्यमा फुच्ची जमुना , झट्ट हेर्दा सानी नै छु यसर्थ पनि सबैकी प्यारी छु जस्तो लाग्छ । प्यारी भएको फाइदा उठाउदै अरुको हृदयमा बस्न मन पराउने मान्छे म ।

ब्लगिङ किन र कसरी शुरु गर्नुभयो  ?
'भावनामा उपन्यासको ठेली तयार छ' भन्नेहरु बर्गेल्ती भए झै मेरो पनि मथिङ्गलमा आख्यानात्मक पाण्डुलिपिहरु थुरै तयार भए जुन पाण्डुलिपिलाई काला अक्षरमा उतारेर बेलाबखत पढिरहन मन लाग्यो । कुरा आयो उतार्ने कहाँ ? झट्ट उपाय निस्कियो 'ब्लग' र फ्याट्ट तयार भयो ।


केका लागि ब्लगिङ गर्नुहुन्छ  ?
उसो त म कुनै प्रख्यात लेखक होइन तर पनि मनका भावना लगायत यदाकदा हिड्दा, कसैसँग कुरा गर्दा, कसैको बारेमा सुन्दा या कुनै पनि घटनाले मनमा चसक्क छोयो भने ब्लग लेख्छु ।

ब्लगिङका लागि विषयवस्तु कसरी छान्नुहुन्छ ?
ब्लगको सिमा विस्तृत भएको हुँदा विषयवस्तु पनि विस्तृत नै हुन्छ जस्तो लाग्छ यसर्थ त्यही फराकिलो घेराभित्र दाँई मार्दा जताको भित्तामा ठोक्किन्छ उतैपट्टी फर्केर लेख्ने गर्छु ।

तपाईले  http://aksharkafoolaharu.blogspot.com/ बाहेक अरु पनि चलाउनु हुन्छ ?
आधिकारिक ब्लग भनेको यत्ती एउटा हो मेरो ।

ब्लगिङ गर्न कतिको सजिलो छ ?
कसैले किन लेखिस् यस्तो ? भनेर वादविवाद गर्दैन, यो किन समेटिनस् पनि भन्दैन, यस्तो लेख् भनेर अर्डर दिने नि कोही हुन्नन् , यो डिलिट गर भनेर धम्की दिने आँट नि कसैले गर्दैनन् । सरसर्ती हेर्दा चाही आफुलाई कम्प्युटरको किबोर्ड चलाउन कत्तिको सजिलो / अप्ठेरो लाग्छ त्यसैमा निर्भर हुने रहेछ ब्लगको सरलता र जटिलता पनि ।


तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छ ?
वास्तविकताले मान्छेलाई छिटो छुन्छ । प्रत्यक्ष देखेका, सुनेका र भोगाइका छालहरुलाई सलल बगाउदै लेख्न मन पराउँछु । यसर्थ पनि मन लगाएर पढ्ने मनहरुको प्रतिकृया सकारात्मक नै आईरहेकाछन् ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन् ?
ब्लगिङको अलावा छोटा, मिठा लेखहरु लेख्न र पत्रपत्रीका तथा अनलाईन मिडियाहरुमा प्रकाशित गर्न विशेष रुची लाग्छ ।


अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कतिको समाबेश गर्नु भएको छ ?
धेरै । आफ्नो रुचिको निस्वार्थ भावले स्वागत र कदर गर्ने भनेकै ब्लगले हो ।

ब्लगमा समेटिएका सामाग्रीसँग जोडिएका कुनै रमाईला प्रसङ्ग भए बताई दिनुहोस न ।
खासै त्यस्तो बताउनै लायकको रमाइलो प्रसङ्ग त छैन भन्दा पनि हुन्छ । किन पनि भने म धेरै भावुक हुन्छु । खुशीमा पनि र विस्मात पनि । भावुक पक्ष हावी भैईदिदा हरेक रमाईला प्रसङ्गहरु ओझेलमा पर्ने गरेका छन् मेरा ।


केहीले ब्लगिङलाई नागरिक पत्रकारिता पनि भन्ने गरेको पाईन्छ के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?
हो पनि हैन पनि । हो किन भने ब्लगले कुनैपनी व्यक्तिका कुनैपनि विषयवस्तुमा आधारित स्वतन्त्र विचारलाई पदार्पण गर्ने काम गर्छ । हैन किन भने केहि ब्लगहरु यस्ता पनि हुन्छन् जसले विचार भन्दा पनि अफवाह बढी फैलाउछन् । त्यस्ता ब्लगरु हेर्दा ब्लगको नै दुरुपायोग भए जस्तो लाग्छ ।


अन्त्यमा,
'मेरो रिपोर्ट' प्रती कृतज्ञ छु । साथै, घर दैलोमै आइपुगेको विजया दशमिको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका समस्त नेपाली मनहरुलाई हार्दिक मंगलमय शुभकामना । 

Link : http://meroreport.net/page/bow-fuchchi-jamuna

मुक्तक ४७

मन बहलाउन कि चौतारी चाहिन्छ कि भिर चाहिन्छ
जिन्दगी बिताउन सुख छैनभने मनभरी पिर चाहिन्छ
भुवै भुवाको'थ्यो ओछ्यान त्यै पनि निद्रा परेन किन ?
लाग्छ कि त काख,की एकै शिरान दुइ शिर चाहिन्छ

Tuesday, October 25, 2016

गजल ४९

जसको नाम पुष्प छ उ पत्झर बनेर सिद्धियो
लगत्तै एउटा कमल पत्थर बनेको देखियो

हुन त मुसो बराबर तर सम्झन्छ उ शेर हुँ म
त्यही शेर बस्ती पसेर बिध्वंश गरेको भेटियो


थाहा छैन उ हावा हो या हावा उ जस्तै भएको हो
हावा मान्छे द्वारमा बोलिको खड्ग लिएर उभियो


उ लोकको पुजारी हो या हो रावणको अवतार ?
जती पहुचँ बढ्यो उति उति अत्याचार थपियो


जब रङेहात भेट्टायो विरालोले न्याउरिलाई
तत्पश्चात जवानको एउटा इतिहास सकियो

मुक्तक ४६

रोएर,,,चाहे कराएर,,,या त फकाएरै भन्नु थियो
किनकी ,,,मलाई जसरि पनि तिम्री बन्नु थियो
नसके पनि टिपेर दिन जून,,,झारेर दिन तारा
पहिले नजिक हुनुथियो अनि दिलमा थुन्नु थियो

Tuesday, October 4, 2016

आलेख : श्रम शोषण कि पहुचवाद ?



समय आजभन्दा लगभग बत्तीस हजार वर्ष पहिलेको हो । काठमाण्डौ एक हराबरा र अत्यन्तै सुन्दर नगर थियो । तात्कालीन समयमा यस नगरलाई स्वर्गको नमुना दिने चल्ती थियो । यहाँ पाइला टेक्न पाए जिवन धन्य हुन्छ भन्ने मनोभावना व्याप्त थियो सारा नेपालीमा । मेरो मनमा पनि यहि कुरा खेलिरहन्थ्यो - अहो ! म कमठमाण्डौ पुग्न पाए जिवन झलमल हुने थियो । बत्ति बाल्नै नपर्ने गरि झलमल ।

एकदिन म नारायणीको पूलमा उभिएर यस्तै कुरा सोच्दै थिए अकस्मात आफैले आफैलाई सम्हाल्न र जोगाउन नसक्ने गरि हावाहुरी चल्न थाल्यो । बोटबिरुवाहरु ढले, घर घर जस्तो रहेन छिनभरमै छानो आकाशको भयो, बग्दै गरेको पानिको गति फेरियो, लय फेरियो र त नदिहरु उल्टो बहन सुरु गरे । काली र सेती यसैका परिणाम हुन् । अरुको त के कुरा मान्छेका आङका कपडाहरु समेत उडे । स्थितीको वर्णन गरि साध्य रहेन । अवस्था विध्वंशकारी थियो । जस्तो सतीदेवीले दक्षप्रजापतिको यज्ञकुण्डमा हाम्फाल्दा भएथ्यो, जस्तो चन्द्रावती ब्राह्मणीलाई डोलेहरुले अमरावती लग्दै गर्दा भएथ्यो । ठिक त्यस्तै भयो यहाँ पनि । म नारायणीको पूलमा आँखा चिम्म गरेर, घुडो र मुन्टो एकै ठाउँमा जोडेर धर्ती माताको शरण परेर बसेकी थिएँ अचानक म स्वयम् हावाहुरीसँगै उडिरहे जस्तो लाग्यो । माथि माथि , धरातल भन्दा धेरै माथि । चराको देशमा । आँखा खोलेर सत्य असत्य छुट्याउन खोजे तर अह ! धुलोले ढाकिएका आँखाका ढकनिहरु खुल्नै मानेनन् ।

करिब - करिब ५ मिनेट पश्चात स्थिती उस्तै शून्य भयो जस्तो ५ मिनेट पहिले थियो । युवतीको तिघ्रामा टिमिक्क टासिएको जिन्स जस्तै टासिएका मेरा ढकनिहरु बिस्तारै खुले । आँखा खोलीसक्दा म अलमल परे । अक्क न बक्क परे । तीन छक्क परे । छक्क नपर्नु पनि कसरी केहि मिनेट पहिले नारायणीको पूलमा उभिएकि छोरी केहि मिनेट मै पशुपतिनाथको व्दार अगाडि पाउँछे आफुलाई भने । एकछिन त मेरो दिमाग शून्य भयो । घरि खुशीले चिच्याउ जस्तो लाग्थ्यो, घरि अकल्पनिय स्थितीले असमन्जसमा परे जस्तो लाग्थ्यो । आँखा अगाडीको वास्तविकतालाई स्विकार्नु मेरो कर्तव्य थियो । स्विकार गरे र गन्तव्यको बाटो खोज्ने तरखरमा लागे । सबै गोरेटाहरु नौला छन् । कुन गारेटोले कँहा पुर्याउछ भन्ने थाहा छैन । मैले समातेर हिडेको गोरेटोले बागबजार ल्याई पुर्यायो मलाई । आहा ! कति सुन्दर बगान ढकमक्क फुलेका फूलहरु अनि तिनै फूलहरुबाट हररर आइरहेको बास्नाले मोहित गरायो मलाई । अझ मोहित त भमराहरुको दृश्यले बनायो । लाग्यो यो भन्दा सुन्दर ठाउँ सायदै होला यो दुनियाँमा । यसर्थ यहि किन नबसु म र ? मैले यहि बस्ने प्रबन्ध गरे । बाससँगै खानपिनको लागि एउटा जागिर भए सहज हुनेथियो भन्ने मनसायका बाबजुत मेरा पाइलाहरु अर्को अपरिचित गोरेटो तर्फ अगाडि बढे । वरिपरिको रमणिय दृश्य हेर्दै मन आनन्दित पार्दै हिड्दै थिए नक्साल भन्ने ठाउँमा पुगेछु । अहो ? कति ठुलो कारखाना र ? अनुमति बिना प्रवेश निषेध गर्यो व्दारपालेले । एउटा पहेलो गुलाफ थमाइदिए हातमा । उ मुसुक्क मुस्कुरायो र मलाइ भित्र छिर्न दियो । म खिस्स हास्दै भित्र छिरे । जब म भित्र छिरे तब कुन दुनियाँमा आइरहेछु भनेर हेक्का नै गर्न सकिन । हजार भन्दा बढी बत्तिहरु बलिरहेका कति झिलिमिली ? कति ठुला ठुला मेसीनहरु ? हाम्रो गाउँको घर भन्दा पनि ठुला मेसीन । धेरैबेर नियालेपछि थाहा भयो कि यो कारखाना सिलाइ बुनाइको कारखाना हो रहेछ र ती मेसिनहरु कपडा सिलाउने मेसिन । हाम्रो गाउँमा जस्तो हात र खुट्टाले कल चलाउदै खिट् खिट् पार्दै सिउनु नपर्ने, न काट्न पर्ने न नाप्न पर्ने , कपडा मेसिनमा राखिदिएपछि जस्तो भन्यो त्यस्तै कपडा तयार भएर निस्कने । क्या गज्जपको मेसीन ।

भाग्यबस मलाई यसै कारखानामा काम मिल्यो । खुशीले पागल जस्तै भए म ।

मैले यस कम्पनिमा काम गर्न थालेको पुगनपुग दुई बर्ष भयो । यहाँ पुरुषभन्दा महिला कर्मचारीको संख्या बढी थियो । जुन कुरा वादको अस्तित्व बोकेर हिडेको समाजमा एक नमुना थियो । यसर्थ मलाई गर्व थियो यस कम्पनिप्रति । अझ गर्व यस कुरामा थपियो जब कम्पनिमा महिला कार्यालय व्यवस्थापिकाको नियुक्ति गरियो । अझ बढी गद्गद् भयो मेरो मन ।

कामको सिलसिलामा कार्यालय प्रमुख काठमाण्डौ बाहिर जानुभएको थियो केहि समयको लागी । जब उहाँ बाहिर निस्कनुभयो तब कार्यालय कार्यालय जस्तो रहेन । दाम्लोबाट फुत्किएको भैसी र कार्यालयका कर्मचारीको गतिविधि उस्तै उस्तै भयो । नव नियुक्त व्यवस्थापिका शिखाले एकएक हुकुम उर्दी गर्न लागिन् । जस्तै - महिनावारी भएका महिला कार्यालयको शौचालय जानु नपाउने, आँखा पाकेकाहरु शिर ठाडो गरेर हिड्न, बोल्न नपाउने, दात उछिट्टिएकाहरु समुहमा हास्न नपाउने आदी इत्यादि । त्यसैबखत मलाई पनि सोध्न मन लागेको थियो - पुठ्ठो उछिट्टिएकाहरु सबैको अगाडिबाट हिड्न पाउने कि नपाउने ? गिजा निला हुनेहरु बोल्न हुने कि नहुने ? तर सोधिन । र मेसिनका मुख्य परिचालक थिए बि.बि. राणा । सम्भवत राणा वंशको उत्पतिको मुख्य श्रेय उनैलाई जान सक्छ तर उनको उत्पति बारे पूरै अनविज्ञ थिए म । यि दुवैको बानि र उर्दीले सबैलाई हैरानी थपिरहेथ्यो । कर्मचारीहरु बिस्तारै अनुपस्थित हुने क्रम बढ्न थाल्यो । जागिरै छाड्ने संख्या पनि बृद्दि हुदै गयो ।

एकदिनको कुरा हो मेरो मेसिनले काम गरेन । परिचालक राणालाई हेरिदिन आग्रह गरे । सुने नसुने झै गरे उनले । मेरो मेसिनसँगै अन्य पाँच मेसिनको पनि जडान थियो । यसर्थ मेरो मेसिन बन्द हुदा अन्य पाँच मेसिनको पनि काम ठप्प हुन्थ्यो । त्यसपछि व्यवस्थापिका शिखालाई बिन्ति गरियो । उनले पनि डेढ पुच्छर लाइनन् । उनिहरुको यो बानि न मलाई मन पर्यो न अरु अरुलाई नै । बारम्बारको अनुरोध पश्चात मेसिन बन्नु पर्ने सट्टामा ठ्याप्पै बन्द भयो । त्यसपछि म सिधै राणाको कक्षमा पुगेर सोधे - बन्नुपर्ने सट्टमा मेरो मेसिन किन बन्द भयो झन् ? उनले ठाडो जवाफ दिए – “शिखा जीलाई तिम्ले मेसिन बनाईदेउ भनेर अर्डर किन दे’को ? मेसनि बनेन भनेर किन धम्क्याको ? आफुभन्दा ठुला मान्छेसँग कसरी बोल्नुपर्छ भन्ने थाहा छैन ? फेरि यस्तो कामै नगर्ने मेसिन भनिछौ कामै नगर्ने मेसिन किन चाहियो भनेर बन्द गरिदिएको । आजबाट तिमीलाई छुट्टि । तिमी जान सक्छ्यौ ।” मेरो आँखाबाट तुरुक्क आशु चुहियो । असाध्यै नरमाइलो लाग्यो र नराम्रो पनि अनि लाग्यो काठमाण्डौ जति सुन्दर छ यहाँका मान्छेहरु त्यो भन्दा कैयौ गुणा नराम्रा छन् । कुरुप छन् । ति कुरुप मान्छेहरुले काठमाण्डौलाई नै कुरुप बनाउदै छन् । ति कुरुप मान्छेहरु वनमारा झार हुन् । त्यो झारलाई बेलैमा मास्नु जरुरी छ हैन भने सिंगो वन नै सखाप हुनेछ ।

मन एक तमासले दुखिरहेथ्यो । दुखिरहेको मन बहलाउन नागपोखरी छिरे । त्यँहा पनि त्यहि दृश्य थियो । जहाँ, पोखरीका साना माछाको हुल अघिअघि र ठुला माछाहरु पछिपछी बेतोडले कुदिरहेका थिए । सायद, साना माछालाई ठुला माछाले आफ्नो बस्तिमा नबस्नु भनि उर्दी दिएका थिए । विचरा साना माछा कहाँ जान्थे र ? नमानेपछि ठुलाले खेदिरहेका थिए र साना खेदिनु सिवाय कुनै विकल्प थिएन । त्यहाँ पनि मन बहलाउन नसकेर कमलपोखरीतिर लागे । जहाँ कमलको एउटै फूल थिएन । मन झन् विरत्तियो र पुतलीसडक हुदै बागबजारतिर लागे । पुतलीसडकमा उडिरहने रंगीविरंगी पुतलीहरु पनि एउटै देखिन मैले न बागबजारमा फूलको बगान देखियो । त्यसपछि मलाई यो काठमाण्डौ छाडेर मेरै गाउँ फर्कने रहर भयो । भुर्र उडेर जान मन लाग्यो तर सकिन । मन सम्हाल्न नसकेर बागबजारको एक कुनामा बसेर रुदै थिए कसैले बोलाए जस्तो लाग्यो – फुच्ची, ए फुच्ची , उठ भन्या अफिस जान ढिलो भैसक्यो । म झल्यास्स ब्युझिए ।

Wednesday, June 29, 2016

कविता : विमानस्थल


कतै आउनेहरुको लस्कर
कतै जानेहरुको लस्कर
कतै छुटेका छन् हासो र मुस्कानका फोहोरा
त, कतै खसेका छन् गहको बाटो हुँदै मोतिका दाना
कुनै कक्षमा - भेटिएपछिको अगाध प्रेम साटासाट
कुनै कक्षमा - वर्षौसम्म छुट्टिनुपर्नेको पिडा साटासाट
सोच्दैछु - दुबै कक्षका मानिसहरुले
कसरी सम्हालिरहेछन्
र, कसरी थामिरहेछन् -
मनभित्र उर्लिएको स्नेहको बाढी ??
नुन र तेलको मिश्रण जस्तो
कसरी गर्नु फरक यि दुइ धारको तुलना ?
त्यती मात्रै कहाँ हो र ?
मनभरी सपनाको भारी बोकेर
आखाभरी श्रीमती र छोराछोरीको तस्बिर टागेर
अनी छातिभरी आमा र बाबाको ममता सिञ्चिएर
मुग्लान छिरेको छोरो
सपनाहरुसँगै आफुलाई पनि
बन्द बाकसमा कैद गरेर फर्कन्छ
यही बाटो हुँदै
यही गोरेटो हुँदै
हो, यही हो समयले पारिल्याएको
बाध्यताले धकेली ल्याएको
अनी भाग्यको मसिले लेखिल्याएको
मिलन र विछोडको एउटा संगमस्थल
जसलाई विमानस्थल भनिन्छ !!

Monday, February 1, 2016

मुक्तक ४५

मुना-मदनको गाथा धेरैले सुनाए, हिजो पनि आज पनि
हसाउछु भन्दै आउनेहरुले रुवाए, हिजो पनि आज पनि
तिमी जून हौ,तिमी तारा, तिमी नै फूल, तिमी नै सहारा
आँखामा बसाउनेले आशुसँगै बगाए,हिजो पनि आज पनि

Wednesday, January 20, 2016

अशरफ फयादको नाउँमा

ashraffayadh
यतिबेला हरेक सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा एक कविको नाम अग्रपंतिमा छ - "प्यालेस्टिनी कवि अशरफ फयाद" र उस्तै प्रख्यात भएको छ #FreeAshraf  ह्याट्कट्याग पनि ।  उनले बटुलेको यो चर्चा देशव्यापी मात्र नभै विश्वव्यापी रुपमा छ । निकै छोटो समयमा यती ठुलो ख्याती कमाएका फयादलाई बधाईका शब्दहरु भन्दा बेशी जिवनदानको माग गरिरहेछन् लाखौ लाख साहित्यकारहरु । अरुबखत लुछाचुडी र तँ तँ मँ मँ गर्ने जनताहरु जब संकत पर्छ तब एक हुन्छन् । नेपालका मात्र होइन हरेक देशका । विश्वभरिका । यतिबेला त्यसरि नै एकजुट भएका छन् जनताहरु । केबल नेपालका मात्र होइन देशभरिका जनता । कवितालाई माया गर्ने जनताहरु । कविता लेखेकै कारण साउदी सरकारले मृत्युदण्डको सजाय सुनाएपछि नेपाल लगायत विश्वका विभिन्न मुलुकका कवि, लेखक, कलाकारहरुले उनको बचाउका लागि आवाज उठाइरहेका छन् । 
फयादलाई लागेका आरोपमध्ये धर्मत्याग पनि एक हो । कला र कवितासम्बन्धी विभिन्न संगठनमा बसेर महत्त्वपूर्ण काम गर्दै आएका प्यालेष्टिनी मूलका कवि फयादको जन्म सन् १९८० मा साउदी अरेबियामा भएको हो भने उनी त्यहाँ शरणार्थीको रुपमा बस्दै आएका हुन् । एकदिन एक साथीसित वादविवाद भएको थियो र, त्यसैको निहुँमा उनी सन् २०१३ अगष्ट ६ मा पक्राउ परेका थिए । तर त्यसको भोलिपल्टै उनी जमानतमा छाडिएका थिए । पछि २०१४ जनवरी १ मा पुन: पक्राउ गरेर उनलाई कठघरामा उभ्याइयो र त्यहाँ ४ वर्षको जेल सजाय साथै ८०० कोर्राको सजाय सुनाइयो जुन सजाय हल्का भएको निर्क्योल निकालेर सो मुद्दालाई पुन: ब्युँताइयो । यसै सिलसिलामा पुनरावेदन अदालतले उनलाई तल्लो अदालतमा पठायो जहाँ २०१५ नोभेम्बर १७ का दिन फयादको मुद्दा हेर्न नियुक्ति पाएका नयाँ न्यायाधीशले उनलाई सिधै मृत्युदण्डको सजाय सुनाए ।

त्यसबखत उनको पक्षमा बहस गर्ने कुनै वकिल राख्ने अनुमति दिइएन र सबैभन्दा आश्चर्यको कुरा, न्यायाधीशले उनीसँग बोल्दा पनि नबोली मृत्युदण्डजस्तो सजाय सुनाएका थिए । यस घटनाले वास्तवमै अन्तर्राष्ट्रिय कानुनको उपहास गरेको देखिन्छ तर साउदी सरकार भने यसबारे मौन बसेको छ ।

फयादको सन् २००८ मा ‘Instructions Within’ र्शीषकमा कविताकृति प्रकाशित भएको थियो जुन पुस्तकमा सङ्ग्रहित कविताले धर्म (इस्लाम)माथि प्रश्नचिन्ह खडा गर्दै नास्तिकताको सन्देश प्रवाह गरेको भनिएको छ । र त्यही नै उनको दोषको रुपमा अघि सारिएको छ ।

साथै , उनलाई साइबर क्राइमसम्बन्धी आरोप पनि लागेको छ । उनको फोनमा एक महिलासित खिचेको फोटो फेला परेपछि उनलाई साइबर क्राइमसम्बन्धी मुद्दा लागेको हो, जो उनकै कलाकार साथी थिए । लामो कपाल पालेको, महिलासित अवैध सम्बन्ध राखेको जस्ता आरोपसमेत उनलाई लागेको छ ।

वस्तुत: ईश्वर (अल्लाह) र पैगम्बरलाई तिरस्कार गरेको, कुरानलाइ उपहास गरेको, बोलाएको दिन अदालतमा हाजिर नभएको र आफ्ना कवितामार्फत नास्तिकताको सन्देश फैलाएको आदि आरोप नै मुख्य हुन् । यद्यपि, साउदीका धार्मिक प्रहरीले एक पुरुषलाई कोर्रा हानिरहेको भिडियो अनलाइनमा पोष्ट गरेको कारण बदला लिइएको हो भन्ने धेरैको शङ्का रहेको छ । कलासँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासित आबद्ध भएर काम गरेको कारण उनलाई शङ्काको दृष्टिले हेरिएको हुन सक्ने विश्लेषकहरु बताउँछन् । अझ फयाद प्यालेष्टिनी भएको र सिरिया, लेबनान, जोर्डन र प्यालेष्टाइनबाट आएका आप्रवासीलाई शङ्काको दृष्टिले हेरिने समेत विश्लेषकहरुको भनाइ छ ।

आफ्नो तर्फबाट क्षमायाचना गर्दागर्दै पनि मृत्युदण्डको सजाय सुनाइएका, कुनै गम्भीर या जघन्य अपराध नगरेका अथवा काटमार नगरेका कवि मृत्युदण्डजस्तो भयानक सजायको भागीदार कसरी बन्न सक्छन् ? साउदी अरेबियाबाहिरको दुनियाँमा कदम राखेर सोच्दा यो कुरा अनौठो अवश्य देखिन्छ । अझ मानवताविरोधी देखिन्छ । सिधै मानवअधिकारको उल्लङ्घन गरेको ठहरिन्छ । त्यही कारण नै यस घटनालाई लिएर विश्वकै कवि, लेखक, कलाकारहरु एकजुट भएर आवाज उठाउन विवश भएका हुन् । 

यसै घटनालाई मध्यनजर गर्दै जनवरी १४ का दिन मात्र ‘International Literature Festival, Berlin’ ले ‘Worldwide Reading’को आव्हान गरेको थियो ।

विदेशमा बसेर लेख्दा सम्बन्धित देशको नियम कानुन, धर्म संस्कृतिलाई खण्डन हैन सम्मान गरेर लेख्नुपर्छ भन्ने सन्देश यस घटनाले प्रवाह गरेको छ । अझ साउदी अरेबियामा घटित यस घटनाले त के सन्देश पनि दिन्छ भने त्यहाँ मृत्युदण्डको सजायको भागीदार बन्नको लागि मान्छे मारिराख्न आवश्यक छैन- धर्मको विरोध, त्यहाँको संस्कृतिको विरोधका झिनामसिना स्वर नै यस कुराका लागि काफी हुन्छन् ।

Wednesday, January 13, 2016

मुक्तक ४४















कस्तो होला घुम्टोले मुहार छोपी लजाउदको दिन
पाउमा पाउजु , सिउदोभरी सिन्दुर लगाउदा दिन
भुलेर दुनियाँ सारा , अर्पिदिनेछु सबथोक उसैपल
नजरमा होइन दिलभित्र तिमीलाई बसाउदाको दिन

Tuesday, January 12, 2016

मुक्तक ४३

आउ प्रिय निसङ्कोच त्रीशुल उचाल,तिर चलाउ
सक्छौ भने मेरो शिर गिड र मन्दिरमा चढाउ
दुनियाले जे भनुन्,जे गरुन् म भन्ने छैन केहि
थिच्देउ घाटि,मार र मेरो मृत्युको उत्सव मनाउ 

Monday, January 4, 2016

फोटो ब्लग

प्रकृती र मानवबिचको सम्बन्ध एक अर्काका परिपुरक सम्बन्ध हुन् । मानवबिना प्रकृती र प्रकृती बिना मानवको रहन सहन असम्भव प्राय जस्तै छ । एक बिना अर्कोको अस्तित्व संकटमा पर्ने निश्चित छ । यसै सम्बन्धलाई ध्यानमा राखी गुगल डट कममा "साइकोलोजिकल रिलेसन अफ मेन विथ नेचर" सर्च गर्दा भेटिएका केहि आकर्षक तस्बिरहरुलाई यहाँनिर प्रश्रय दिन मन लाग्यो । बुझ्न साह्रै कठिन तर झट्ट हेर्दा अनौठा यि तस्बिरहरु "फोटो ब्लग" को रुपमा :












Saturday, December 26, 2015

कथा एउटा कुरूपताको

यो दुनियाँ साच्चै अजिव छ, उसैझै अजिव छन् मान्छेहरू पनि। कहिलेकाही आफ्नै मन पनि आफैंलाई अजिव लागिदिन्छ। सोचिदिन्छ - कास, मुहारको सुन्दरतामा मेडिकल ट्रीटमेन्टले निखार ल्याएझै मनको कुरूपतामा निखार ल्याउने कुनै वस्तु भैदिएको भए...!

एउटा प्रश्न - कुरुपता भन्नाले केलाई बुझ्नुहुन्छ तपाईं? तपाईँ मन मनमा गुन्दै गर्नुस् यसको उत्तर। अन्तिममा सोध्नेछु। अहिले भने म आफ्नै उत्तर कहन्छु। झर्को लाग्यो भने मलाई बिचमै रोक्नुहोला।

पश्चिम चितवनको राप्ती छेउछाउको बस्ती। चितवन राष्ट्रिय निकुञ्जले घेरिएको गाउँ। जहाँ दिनभरी ज्याला मजदुरी गरेर भरे पेट भने सर्वहारा वर्गको वर्चस्व छ। उनीहरूका कुनै ठूला सपना हुँदैनन् न हुन्छन् ठूला ठूला रहरहरू नै। सानो परिवार। सुखी जहान र शान्त रहोस् घर। हासिखुसी भर्न पाइयोस् दुई छाक पेट अनि आर्थिक हैसियतले भ्यायसम्म पढुन् लालाबाला र हटाउन पाइयोस् उनीहरूको आँखाबाट अशिक्षाको जालो - बस् यती नै हुन्छन् उनीहरूका आकांक्षाहरू। घिर्निको चालमा घुमिरहन्छन् दैनिकिहरू।

उही हुन्छन्। उस्तै हुन्छन् सधैजसो - घर-जंगल, मेलापर्म, गोठ-गोठालो यस्तै यस्तै। त्यही बिचमा एकाध छन् शिक्षित परिवार। जसलाई सामन्ती भन्न रूचाउँछु म। पेसाले शिक्षक हुन् उनी। शिक्षणको मुख्य विषय अङ्ग्रेजी। निलो सर्ट, कालो स्वेटर, कालो पेन्ट, कालै रङ्गको जुत्ता,आँखामा ठूलो लेन्सवाला चस्मा र मुखमा पान- उनको विशेषता हो।

श्रीमती स्थानीय राजनीतिमा सक्रीय कार्यकर्ता हुन् । दुनियाँको नजरमा श्रीमान् र श्रीमती दुबै दक्ष ठहरिन्छ। सबैले ज्यू ज्यू र हजुर हजुर गर्छन्। भेटेपिच्छे दश औंला जोडेर शिर झुकाउँछन्। गाउँलेहरुको नजरमा उनीहरू सर्वश्रेष्ठ व्यक्ति हुन्। समग्र गाउँको इज्जत हुन्।

कुरा कक्षा ८ मा पढ्दाताकाको हो। उमेर र पढाई दुबैले बैनी हुन् उनी मेरी। निलो फ्रक, सेतो सर्ट, दुईपट्टी रातो रिबन फुर्को पारेर कपाल बानेकी, गोरो वर्ण, खिरिलो जिउडाल। साच्चै, आकर्षक लाग्थिन् मलाई। सायद अरू अरूको नजरम पनि लाग्थिन्।

मलाई याद छ-कक्षाकोठामा सरहरुको नजिक हुनको लागि कि त फर्स्ट स्टुडेन्ट हुनुपर्थ्यो कि त राम्रो। म दुबैमध्ये पर्दिनथेँ। उनी पढाइमा ठिक्ठिकै थिइन् तर राम्री हुनाको कारणले सरहरुले बिशेष ख्याल गर्ने गर्नुहुन्थ्यो। अझ अङ्ग्रेजी पढाउने सरले झनै ख्याल गर्नुहुन्थ्यो। टिफिन टाइममा कहिले बिस्कुट, कहिले चक्लेट, कहिले चाउचाउ त कहिले डल्ला पकौडा जस्ता थरी थरी खानेकुराहरू दिइरहनुहुन्थ्यो। मलाई पनि लोभ लाग्थ्यो। पढाइ तेज नहुनुमा दु:ख लाग्थ्यो राम्री नहुनुमा पनि।

एकदिनको कुरा हो, समय शरद यामको थियो। ४ बजे स्कुल छुट्टी भएर उनी घर गइन्। ड्रेस चेञ्ज गरिन् र खाजा नखाई हतार हतार तीनकुलेतिर लागिन्। जहाँ घरहरू छैनन्। सिँचाईँका लागि ल्याइएका गहिरा गहिरा बान्कि परेका कुलाहरू (नहर) र फराकिला गह्राहरू छन्। गह्राका बडा बडा कान्लाहरू छन्।