जिन्दगी एउटा भुल भुलैया हो । कहिले दु:खको भुल भुलैया त कहिले सुखको भुल भुलैया । दु:खै दु:खको भुमरिमा रुमल्लिदा रुमल्लिदै कुनबेला झुलुक्क झुल्किन आइपुग्छन् खुशीहरु र उसैगरी कुनबेला बिलय भैदिन्छन् भन्ने केहि पत्तो हुँदैन । आखिर, त्यस्तै न हो दु:ख पनि । एकाध खुशीको बिचमा दु:खै दु:खको पहाड आएर तेर्सिदिन्छ अनि रोकिदिन्छ हिड्दा हिड्दैको बाटो । जहाँको त्यही ।
जाजरकोटमा एकाएक "स्वाइन फ्लु" को महामारी फैलियो । कैयौ मान्छेका घरहरु रित्तिए, कैयौका काख रित्तिए, कैयौका पुछिए सिउदो त कैयौ भए टुहुरा पनि । उता एउटा विपत्ती साम्य पार्न सरकारी टोलिले सकृयता देखाउदै थियो यता अचानक सिंगो देशलाई मर्माहत पार्न भुकम्प आइदियो । भनिन्छ - विपत्ती बाजा बजाएर आउँदैन । आखिर भयो नै त्यस्तै । न कसैले आकंलन गरेको न भविष्यवाणी नै । सोच्दै नसोचेको भुकम्म अचानक आइदियो र पारिदियो सारा देशवासिलाई घरवार विहिन । यो भूकम्पले निम्त्याएको विपत्तिको वर्णन गर्न म असमर्थ छु यतिबेला । किनकी यहाँ भत्किएका लाखौ घरहरु मेरै घर हुन्, टुहुरा बनेका नानिबाबुहरु मेरा भाइबहिनी हुन्, श्रींगार उजाडिएकी अबला नारी मेरी दिदी हुन्, काख रित्तो पारेर बसेकी बुढी आमा मेरी आमा हुन्, पुरै घर रित्तिएको परिवार मेरो परिवार हो र यहाँ जती जती मान्छेहरु न गास न बास ले बिचल्लित परेका छन् ति सबै सबै मेरो घरभित्रका सदस्य हुन । हो, यो सिङ्गो नेपाल मेरो घर हो अनि यो घरभित्रका सबै मन्छेहरु मेरो परिवार हुन् । अब तपाईं आफै भन्नुस् - मेरो घरभित्र परेको यो अस्वभाविक घटनाको बयान म कसरी गर्न सक्छु ? अह ! सक्दिन । कदापी सक्दिन तर स्मरण गर्न खोजिरहेकी छु त्यो कालो दिनमा मैले गरेको जिन्दगीको पहिलो र अनौठो अनुभव । चाहान्छु - यही अनुभव मेरो जिन्दगीको पहिलो र अन्तिम दुबै होस् ।