Saturday, November 11, 2017

खै ! यो कस्तो जिन्दगी ??

खै ! यो कस्तो जिन्दगी ??

सुत्लो निमोठिएको मकैको बोट जस्तो,
नम्वर च्यात्तिएको कागजको नोट जस्तो,
नफूल्दै किरा लागेको तोरी जस्तो,
अझ भनौ भने -
गाउँ समाजमा हेपीएको कोरी जस्तो - जिन्दगी
खै ! यो कस्तो जिन्दगी ??

सुर्योदय नभएरै ढल्केको घाम जस्तो,
सरकारको काम जस्तो, राजधानीको जाम जस्तो,
स्टेरिङ भाचिएको तर टल्कने कार जस्तो
अझ भनौ भने -
मृत आमाको छातिमा गुञ्जिएको शिशुको गुहार जस्तो - जिन्दगी
खै ! यो कस्तो जिन्दगी ??

सँगै भएर पनि टाढा जस्तो,
अधिकार नपाए पनि हक साझा जस्तो,
ठेगाना मेटिएको चिठ्ठीको खाम जस्तो,
अझ भनौ भने -
बिना लालपुर्जा जमिनमा किसानले लेखेको नाम जस्तो - जिन्दगी
खै ! यो कस्तो जिन्दगी ??