Friday, November 11, 2016

साताको ब्लगरमा ...

ब्लगको सिमा विस्तृत भएको हुँदा विषयवस्तु पनि विस्तृत नै हुन्छ जस्तो लाग्छ :फुच्ची जमुना

फुच्ची जमुना भनेर चिनिने उनको वास्तविक नाम जमुना‍‍‍‍‍‍ न्यौपाने हो। स्थायी घर चितवन मेघौली भएकी जमुनाको साहित्यमा विशेष रुचि छ । जमुनालाई ब्लगहरु पढ्न र लेख्नमा पनि उतिकै रुची छ । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै जमुना न्यौपानेसँग कुराकानी गरेका छौ। प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 


आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ ?
बुवा आमाकी कान्छी छोरी, दाजु र दिदिहरुकी कान्छी बहिनी, साहित्यमा फुच्ची जमुना , झट्ट हेर्दा सानी नै छु यसर्थ पनि सबैकी प्यारी छु जस्तो लाग्छ । प्यारी भएको फाइदा उठाउदै अरुको हृदयमा बस्न मन पराउने मान्छे म ।

ब्लगिङ किन र कसरी शुरु गर्नुभयो  ?
'भावनामा उपन्यासको ठेली तयार छ' भन्नेहरु बर्गेल्ती भए झै मेरो पनि मथिङ्गलमा आख्यानात्मक पाण्डुलिपिहरु थुरै तयार भए जुन पाण्डुलिपिलाई काला अक्षरमा उतारेर बेलाबखत पढिरहन मन लाग्यो । कुरा आयो उतार्ने कहाँ ? झट्ट उपाय निस्कियो 'ब्लग' र फ्याट्ट तयार भयो ।


केका लागि ब्लगिङ गर्नुहुन्छ  ?
उसो त म कुनै प्रख्यात लेखक होइन तर पनि मनका भावना लगायत यदाकदा हिड्दा, कसैसँग कुरा गर्दा, कसैको बारेमा सुन्दा या कुनै पनि घटनाले मनमा चसक्क छोयो भने ब्लग लेख्छु ।

ब्लगिङका लागि विषयवस्तु कसरी छान्नुहुन्छ ?
ब्लगको सिमा विस्तृत भएको हुँदा विषयवस्तु पनि विस्तृत नै हुन्छ जस्तो लाग्छ यसर्थ त्यही फराकिलो घेराभित्र दाँई मार्दा जताको भित्तामा ठोक्किन्छ उतैपट्टी फर्केर लेख्ने गर्छु ।

तपाईले  http://aksharkafoolaharu.blogspot.com/ बाहेक अरु पनि चलाउनु हुन्छ ?
आधिकारिक ब्लग भनेको यत्ती एउटा हो मेरो ।

ब्लगिङ गर्न कतिको सजिलो छ ?
कसैले किन लेखिस् यस्तो ? भनेर वादविवाद गर्दैन, यो किन समेटिनस् पनि भन्दैन, यस्तो लेख् भनेर अर्डर दिने नि कोही हुन्नन् , यो डिलिट गर भनेर धम्की दिने आँट नि कसैले गर्दैनन् । सरसर्ती हेर्दा चाही आफुलाई कम्प्युटरको किबोर्ड चलाउन कत्तिको सजिलो / अप्ठेरो लाग्छ त्यसैमा निर्भर हुने रहेछ ब्लगको सरलता र जटिलता पनि ।


तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छ ?
वास्तविकताले मान्छेलाई छिटो छुन्छ । प्रत्यक्ष देखेका, सुनेका र भोगाइका छालहरुलाई सलल बगाउदै लेख्न मन पराउँछु । यसर्थ पनि मन लगाएर पढ्ने मनहरुको प्रतिकृया सकारात्मक नै आईरहेकाछन् ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन् ?
ब्लगिङको अलावा छोटा, मिठा लेखहरु लेख्न र पत्रपत्रीका तथा अनलाईन मिडियाहरुमा प्रकाशित गर्न विशेष रुची लाग्छ ।


अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कतिको समाबेश गर्नु भएको छ ?
धेरै । आफ्नो रुचिको निस्वार्थ भावले स्वागत र कदर गर्ने भनेकै ब्लगले हो ।

ब्लगमा समेटिएका सामाग्रीसँग जोडिएका कुनै रमाईला प्रसङ्ग भए बताई दिनुहोस न ।
खासै त्यस्तो बताउनै लायकको रमाइलो प्रसङ्ग त छैन भन्दा पनि हुन्छ । किन पनि भने म धेरै भावुक हुन्छु । खुशीमा पनि र विस्मात पनि । भावुक पक्ष हावी भैईदिदा हरेक रमाईला प्रसङ्गहरु ओझेलमा पर्ने गरेका छन् मेरा ।


केहीले ब्लगिङलाई नागरिक पत्रकारिता पनि भन्ने गरेको पाईन्छ के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?
हो पनि हैन पनि । हो किन भने ब्लगले कुनैपनी व्यक्तिका कुनैपनि विषयवस्तुमा आधारित स्वतन्त्र विचारलाई पदार्पण गर्ने काम गर्छ । हैन किन भने केहि ब्लगहरु यस्ता पनि हुन्छन् जसले विचार भन्दा पनि अफवाह बढी फैलाउछन् । त्यस्ता ब्लगरु हेर्दा ब्लगको नै दुरुपायोग भए जस्तो लाग्छ ।


अन्त्यमा,
'मेरो रिपोर्ट' प्रती कृतज्ञ छु । साथै, घर दैलोमै आइपुगेको विजया दशमिको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका समस्त नेपाली मनहरुलाई हार्दिक मंगलमय शुभकामना । 

Link : http://meroreport.net/page/bow-fuchchi-jamuna

मुक्तक ४७

मन बहलाउन कि चौतारी चाहिन्छ कि भिर चाहिन्छ
जिन्दगी बिताउन सुख छैनभने मनभरी पिर चाहिन्छ
भुवै भुवाको'थ्यो ओछ्यान त्यै पनि निद्रा परेन किन ?
लाग्छ कि त काख,की एकै शिरान दुइ शिर चाहिन्छ