Sunday, November 1, 2015

शरद, "म तिमीलाई प्रेम गर्छु" !!


जिन्दगीले बसन्तहरु थुप्रै पार गर्‍यो तर हरेक बर्ष आउने जाने बसन्तहरु कुन बाटो आए र कुन बाटो हुँदै
फर्किए भनेर कहिल्यै भेउ पाइन मैले । जब बसन्तको स्वागतमा बोट बिरुवाहरुले पालुवा हाल्न थाल्छन् तब लाग्थ्यो अब बसन्तको आगमन हुने बेला भयो । लाग्थ्यो म पनि स्वागत गरु यसपाली तर मेरो मनको ढोकासम्म कहिल्यै आएन उ । अझ उसलाई खोज्दै म जहाँ पुग्थे त्यहाँदेखी भागेर पर जान्थ्यो । जहाँ मैले छुनै सक्दिन । जहाँ म पुग्नै सक्दिन त्यही पुगेर गिज्याउथ्यो मलाई । बिचरी म के गर्न सक्थे र ? टुलुटुलु हेर्थे, गहभरी आशु पार्थे र फरक्क फर्कन्थे ।                                                            

मैले प्रेम नगरेकी होईन, स्वार्थ राखेकी थिइन र थिइन लह लहैमा चाहना राखेको पनि । स्वच्छ हृदयले प्रेम गरे, निस्वार्थी मनले प्राप्तिको अपेक्षा राखे अनि राखे सोचेर बुझेर नजिक हुने चाहना पनि । थाहा छैन - खै के कमी भयो मबाट र टाडियो उ ? थाहा छैन - मैले के भुल गरे र समिप पर्नै चाहदैन उ ? अनि थाहा छैन - मैले कुन नकाम गरे र मेरो हुन मान्दैन उ ?
समय अगाडी बढ्दै गयो म पनि हुर्कदै गए । बढ्दै गए । तर पनि मेरो जिन्दगीमा बालापन देखी पक्षाइरहेको शरद यामले पक्षाउन छोडेको छैन । यही शरद सँगै रमाउन खोज्छु तर उ आफैमा उराठ लाग्दो उजाड छ मेरो उदास जिन्दगीमा हराभरा कसरी ल्याउन सक्दो हो र ? तर बिचरा, निर्दोष थियो उ ।
हामी दुईको बेदना मिल्थ्यो, अभाव मिल्थ्यो, कोपरियका घाउहरुको दर्द मिल्थ्यो र मिल्थ्यो बेमौसमी आशुका ढिकाहरुले गाउने सरगम पनि । आखिर मन मिलेपछी न हो प्रेम हुने । चाहे कुरुप होस्, चाहे कालो होस्, चाहे गोरो होस्, चाहे जस्तो होस् मन मिलेपछी संसारको सबैभन्दा राम्रो र सबैभन्दा सुन्दर उहि लाग्छ भन्छन प्रेमधारिहरु । सायद हो पनि । यदी कसैलाई कसैको सच्चा माया र अटुट साथको खाचो छ भने उसले रुप हेर्दैन, धन दौलत भन्दैन । उसले भन्छ त केबल प्रेमको पुजारी बनु म भन्छ । प्रेमको पुजा गरेरै जिन्दगी काटिदिउ भन्छ । हो यस्तै भन्छ उसले, जसले मनसँग प्रेम गर्छ । जसको जो सँग मन मिल्छ उसैका खातिर ।


नढाटी भन्नु पर्दा म पनि प्रेममा परे । अनायासै परे । कहिलेदेखी परे त्यो पनि यकिन छैन । तर साचो हो म कसैलाई प्रेम गर्छु । जसले बालापन देखी साथ दिदै आइरह्यो मलाई, जो कहिल्यै हासेन म रुदा, जसले कहिल्यै खिसी गरेन मेरो अभावालाई, जसले छी गरेन मेरो घाउँहरुलाई, मेरो भोकलाई लात मारेन, मेरो आशुलाई व्यवास्ता गरेन । मलाई चोट पुग्ने काम केहि गरेन उसले । कहिल्यै पनि । मन मिल्नको लागी सम्भवत: स्तर समान हुनुपर्छ जसै दु:ख बुझ्न दु:ख खेपेको हुनुपर्छ, आशुको मुल्य बुझ्न आशु झारेको हुनुपर्छ । लाग्छ उसको र मेरो पृष्ठभुमी उस्तै छ । जुन पृष्ठभुमिको तालमेलले मन मिलायो हाम्रो ।
तपाईं के भन्नुहुन्छ ? म त भन्छु यो दुनियामा लाटो कोही छैन । नबोल्नेहरु "लाटा" होईनन् उनिहरुको केबल आवाज ननिस्किएको मात्र हो । हो, उ पनि बोल्दैन तर उसको इशारा काफी छ । जसरि अरु आवाज ननिस्कनेहरुले इशाराले बोल्छन् उसै गरी बोल्छ उ पनि । तर कहिल्यै ग्लानिबोध हुँदैन मलाई कि उसलाई प्रेम गरे भनेर । उ मलाई कती प्रेम गर्छ ? मलाई थाहा छैन तर म भने अगाध गर्छु । म बिना उ बाच्ला नबाच्ला तर उ बिना म नाङ्गो हुनेछु । बुङ्गो हुनेछु ।

श्रीङ्गार उजाडिएकी श्रीमतिको जस्तो फुङ्ग उडेको अनुहार, हेर्दैमा उदेक लाग्ने ढाँचा, कक्रक्क सुकेका हात गोडा सबै सबै मन पर्छन् मलाई । बसन्तले छोडेर तिमीलाई रोजेकी हैन, बसन्तले लत्यायर तिमीप्रती आकर्षित भएकी पनि होइन र होइन बसन्तको हेपाहा प्रवृत्तिले गर्दा तिमीसँग नजिक भएको पनि । तिमीसँगका हरेक पलहरु खास लाग्छन्, यामहरु प्रिय लाग्छन्, अनि सामिप्यताले आधा पिर घटेको, आधा दुखाइ कम भएको महसुस हुन्छ मलाई । किनकी म तिमीलाई आँखाले होईन मनले मन पराउछु । हो शरद, "म तिमीलाई प्रेम गर्छु" ।