जिन्दगी एउटा भुल भुलैया हो । कहिले दु:खको भुल भुलैया त कहिले सुखको भुल भुलैया । दु:खै दु:खको भुमरिमा रुमल्लिदा रुमल्लिदै कुनबेला झुलुक्क झुल्किन आइपुग्छन् खुशीहरु र उसैगरी कुनबेला बिलय भैदिन्छन् भन्ने केहि पत्तो हुँदैन । आखिर, त्यस्तै न हो दु:ख पनि । एकाध खुशीको बिचमा दु:खै दु:खको पहाड आएर तेर्सिदिन्छ अनि रोकिदिन्छ हिड्दा हिड्दैको बाटो । जहाँको त्यही ।
जाजरकोटमा एकाएक "स्वाइन फ्लु" को महामारी फैलियो । कैयौ मान्छेका घरहरु रित्तिए, कैयौका काख रित्तिए, कैयौका पुछिए सिउदो त कैयौ भए टुहुरा पनि । उता एउटा विपत्ती साम्य पार्न सरकारी टोलिले सकृयता देखाउदै थियो यता अचानक सिंगो देशलाई मर्माहत पार्न भुकम्प आइदियो । भनिन्छ - विपत्ती बाजा बजाएर आउँदैन । आखिर भयो नै त्यस्तै । न कसैले आकंलन गरेको न भविष्यवाणी नै । सोच्दै नसोचेको भुकम्म अचानक आइदियो र पारिदियो सारा देशवासिलाई घरवार विहिन । यो भूकम्पले निम्त्याएको विपत्तिको वर्णन गर्न म असमर्थ छु यतिबेला । किनकी यहाँ भत्किएका लाखौ घरहरु मेरै घर हुन्, टुहुरा बनेका नानिबाबुहरु मेरा भाइबहिनी हुन्, श्रींगार उजाडिएकी अबला नारी मेरी दिदी हुन्, काख रित्तो पारेर बसेकी बुढी आमा मेरी आमा हुन्, पुरै घर रित्तिएको परिवार मेरो परिवार हो र यहाँ जती जती मान्छेहरु न गास न बास ले बिचल्लित परेका छन् ति सबै सबै मेरो घरभित्रका सदस्य हुन । हो, यो सिङ्गो नेपाल मेरो घर हो अनि यो घरभित्रका सबै मन्छेहरु मेरो परिवार हुन् । अब तपाईं आफै भन्नुस् - मेरो घरभित्र परेको यो अस्वभाविक घटनाको बयान म कसरी गर्न सक्छु ? अह ! सक्दिन । कदापी सक्दिन तर स्मरण गर्न खोजिरहेकी छु त्यो कालो दिनमा मैले गरेको जिन्दगीको पहिलो र अनौठो अनुभव । चाहान्छु - यही अनुभव मेरो जिन्दगीको पहिलो र अन्तिम दुबै होस् ।
वैशाख महिनाको दोस्रो शनिवार थियो त्यो दिन (२०७२/०२/१२ ) । कलेज देखी अफिससम्म सबै बिदा थियो । बिहान सबेरै उठे । नुहाइ - धुवाइ सकेर नियमित पुजापाठ गरे । शनिवारको बिहान मैले चियाको लागी समय छुट्याउछु किनकी अरु दिन म चिया नपिउने मान्छे । बिना हतार खाना बनाए , खाए र मोबाइल चलाउदै एकछिन सुत्छु भ'नी ओछ्यानमा पल्टिए । समय टन्टलापुरे घाम लाग्नु पर्ने बेलाको थियो तर बाहिर चिसो थियो मौसम । निलो र सफा आकाश कालो बादलले छपक्क ढाकेको थियो र रुला रुला झै गरिरहेको थियो एकाबिहानैदेखी । मौसम चिसो भएकोले ब्ल्याङ्केट ओढेर पल्टिए म । एस्सो पल्टिएकी मात्र के थिए घर हल्लिन थाल्यो । म तेस्रो तलामा बस्थे । तल बाटोमा अल्ली ठुलो ट्रक, बसहरु हिड्दा पनि हल्का हल्लिए जस्तो हुन्थ्यो । सुरुमा त गाडी हिडेर हल्लीए जस्तो भा'को होला भन्ने सोचे तर होइन रहेछ । घर एकाएक पिङ मच्च्किए झै मच्चिन थाल्यो तब स्पष्ट भयो कि भुकम्प आएको रहेछ भनेर । अफसोस , भुकम्प आयो । अब के गर्ने ? एक्लै थिए रूममा । के गरुम के नगरुम भए । भुकम्प आएको बेलामा अत्तालिएर बाहिर भाग्नु हुँदैन भन्ने थाहा थियो तसर्थ ओढिरहेको ब्ल्याङ्केटले गर्लम्म जिउ पुरै ढाके र सुते । यसै मरिने भयो उसै मरिने भयो किन बाहिर भाग्नु भन्ने आयो मनमा तर अहोभाग्य म बसेको घर केहि भएन । भुकम्प रोकियो म सकुसल बाहिर निस्किए । म बाहिर निस्कदा खुबै हल्ली र चल्ली मच्चिएको थियो । जत्रो भुकम्प आएको थियो त्यो भन्दा ठुलो खल्लिबल्ली भैरहेको छ जस्तो भान भयो सुरुमा मलाई । सडकमा उत्रीएका अधिकांश मान्छेहरुको बिचमा चिनेका अनुहार नियाले तर कोही देखिन वरिपरी । त्यसपछी झल्यास्स याद आयो घरबेटि अंकलको । उहाँ बाहिर निस्कने बेलामा सधैजसो “म एकछिनमा आउछु घर हेर्दै गर है" भनेर निस्कनु हुन्थ्यो । घर सुनसान थियो र उहा कतै देखिनुभएन । त्यसपछी सोचे हतारमा पक्कै कतै निस्कनु भएको हुनसक्छ । म सरासर माथी गए । अंकल हुनुहुन्न रैछ र अरु कोही पनि थिएन सिवाय नौ महिने सानो बाबु । उ “च्याSSSSS च्याSSSSSS” गर्दै रोइरहेको थियो बैठक कोठामा । जब उसको कारुणिक रुवाइ सुने तब आफ्नै छाती गह्रौ भएको महसुस भयो मलाई । खै ! किन किन अचानक आँखा भरिएर आयो । घरबेटी भाउजु खोइ कता जानु भाको रैछ कुन्नी ? त्यो पनि थाहा भएन मलाई । माथी पुग्दा नपुग्दै भूकम्पको धक्का फेरी आयो । सायद, नभोगेको , नसुनेको र कहिल्यै नदेखेको भएर पनि होला त्यो झट्काले पनि खासै डर लागे जस्तो भएन । फेरी पटक पटक आउन सक्छ भन्ने न अवगत थियो मलाई न त कल्पना नै तसर्थ त्यही बसु ? या बाबुलाई बोकेर तल झरु ? दोधारमा परे । उसलाई फकाउन खोज्दा खोज्दै फेरी अर्को झट्का आयो त्यसपछी जे त पर्ला भनेर त्यो सानो बाबुलाई वरिपरी रहेका कपडाले बेरे, काखिमा च्यापे र तल झर्न खोजे । भर्याङको दुइ/चार खुट्किला ओर्लन नपाउदै फेरी हल्लियो घर । म जहाँको त्यही थचक्क बसे बाबुलाई चरप्प अंगालो कसेर । तेस्रो पटक आएको त्यो झट्काले एकाएक डर उत्पन्न गरायो मनमा । यतिकाबेरसम्म कहाँ लुकेको थियो र निस्कियो बल्ल मनको भित्तो फोरेर त्यो डर ? मुटुको धड्कन अचानक बढ्यो, खुट्टा थरर काप्यो, हात लल्याक लुलुक भए झै भयो । मलाई त्यसबखत आफ्नो भन्दा पनि काखमा च्यापी ल्याएको बाबुको चिन्ता लाग्यो । म त मर्ने भए नै मैले गर्दा यो बाबु पनि मर्ने भयो भन्ने एक किसिमको डर उत्पन्न भयो मनमा । म लिन जानु र घर ढल्नु एकैपटक पर्यो भने उसलाई मारेको पाप मेरो टाउकोमा आइपर्छ जस्तो सोच्न पुगे एकाएक । मन न हो । हावा भन्दा वेगले पुग्यो कहाँ हो कहाँ । अचम्म, त्यस्तो आपतको अवस्थामा पनि के के सोच्न आउदो रैछ के के ।
अँ, म भित्ताको अडेस लगाएर भर्याङ मै थचक्क बसेकी थिए । अलिअली रोक्किए जस्तो लाग्यो त्यसपछी तल झर्न भ'नी उठे । खुट्टा लुगलुग कापिरहेको थियो । पाइला चाल्नै सकिन । अलिअली चलाउने कोसिस गरे । हिम्मत हारिन र सातौ तलाबाट म सकुसल तल झरे अनि काखमा च्यापिराखेको बाबुलाई पनि झारे । भाउजु मुल ढोकामा उभिएर “बाबु,,, बाबु,,,,,” भन्दै रुदै हुनुहुन्थ्यो । मैले काखमा बोकेर तल झारेको आफ्नो छोरालाई देखेर हर्षविभोर हुँदै बाबु समात्नु भयो । जब उहाँको ओठमा खुलेको मुस्कान देखे तब केहि आत्म सन्तुष्टीको भान भयो मलाई । डरै डरमा भएपनि एउटा काम फत्ते गरेकोमा आफैलाई धन्यवाद दिइरहे मन मनले ।