Tuesday, October 25, 2016

गजल ४९

जसको नाम पुष्प छ उ पत्झर बनेर सिद्धियो
लगत्तै एउटा कमल पत्थर बनेको देखियो

हुन त मुसो बराबर तर सम्झन्छ उ शेर हुँ म
त्यही शेर बस्ती पसेर बिध्वंश गरेको भेटियो


थाहा छैन उ हावा हो या हावा उ जस्तै भएको हो
हावा मान्छे द्वारमा बोलिको खड्ग लिएर उभियो


उ लोकको पुजारी हो या हो रावणको अवतार ?
जती पहुचँ बढ्यो उति उति अत्याचार थपियो


जब रङेहात भेट्टायो विरालोले न्याउरिलाई
तत्पश्चात जवानको एउटा इतिहास सकियो

मुक्तक ४६

रोएर,,,चाहे कराएर,,,या त फकाएरै भन्नु थियो
किनकी ,,,मलाई जसरि पनि तिम्री बन्नु थियो
नसके पनि टिपेर दिन जून,,,झारेर दिन तारा
पहिले नजिक हुनुथियो अनि दिलमा थुन्नु थियो

Tuesday, October 4, 2016

आलेख : श्रम शोषण कि पहुचवाद ?



समय आजभन्दा लगभग बत्तीस हजार वर्ष पहिलेको हो । काठमाण्डौ एक हराबरा र अत्यन्तै सुन्दर नगर थियो । तात्कालीन समयमा यस नगरलाई स्वर्गको नमुना दिने चल्ती थियो । यहाँ पाइला टेक्न पाए जिवन धन्य हुन्छ भन्ने मनोभावना व्याप्त थियो सारा नेपालीमा । मेरो मनमा पनि यहि कुरा खेलिरहन्थ्यो - अहो ! म कमठमाण्डौ पुग्न पाए जिवन झलमल हुने थियो । बत्ति बाल्नै नपर्ने गरि झलमल ।

एकदिन म नारायणीको पूलमा उभिएर यस्तै कुरा सोच्दै थिए अकस्मात आफैले आफैलाई सम्हाल्न र जोगाउन नसक्ने गरि हावाहुरी चल्न थाल्यो । बोटबिरुवाहरु ढले, घर घर जस्तो रहेन छिनभरमै छानो आकाशको भयो, बग्दै गरेको पानिको गति फेरियो, लय फेरियो र त नदिहरु उल्टो बहन सुरु गरे । काली र सेती यसैका परिणाम हुन् । अरुको त के कुरा मान्छेका आङका कपडाहरु समेत उडे । स्थितीको वर्णन गरि साध्य रहेन । अवस्था विध्वंशकारी थियो । जस्तो सतीदेवीले दक्षप्रजापतिको यज्ञकुण्डमा हाम्फाल्दा भएथ्यो, जस्तो चन्द्रावती ब्राह्मणीलाई डोलेहरुले अमरावती लग्दै गर्दा भएथ्यो । ठिक त्यस्तै भयो यहाँ पनि । म नारायणीको पूलमा आँखा चिम्म गरेर, घुडो र मुन्टो एकै ठाउँमा जोडेर धर्ती माताको शरण परेर बसेकी थिएँ अचानक म स्वयम् हावाहुरीसँगै उडिरहे जस्तो लाग्यो । माथि माथि , धरातल भन्दा धेरै माथि । चराको देशमा । आँखा खोलेर सत्य असत्य छुट्याउन खोजे तर अह ! धुलोले ढाकिएका आँखाका ढकनिहरु खुल्नै मानेनन् ।

करिब - करिब ५ मिनेट पश्चात स्थिती उस्तै शून्य भयो जस्तो ५ मिनेट पहिले थियो । युवतीको तिघ्रामा टिमिक्क टासिएको जिन्स जस्तै टासिएका मेरा ढकनिहरु बिस्तारै खुले । आँखा खोलीसक्दा म अलमल परे । अक्क न बक्क परे । तीन छक्क परे । छक्क नपर्नु पनि कसरी केहि मिनेट पहिले नारायणीको पूलमा उभिएकि छोरी केहि मिनेट मै पशुपतिनाथको व्दार अगाडि पाउँछे आफुलाई भने । एकछिन त मेरो दिमाग शून्य भयो । घरि खुशीले चिच्याउ जस्तो लाग्थ्यो, घरि अकल्पनिय स्थितीले असमन्जसमा परे जस्तो लाग्थ्यो । आँखा अगाडीको वास्तविकतालाई स्विकार्नु मेरो कर्तव्य थियो । स्विकार गरे र गन्तव्यको बाटो खोज्ने तरखरमा लागे । सबै गोरेटाहरु नौला छन् । कुन गारेटोले कँहा पुर्याउछ भन्ने थाहा छैन । मैले समातेर हिडेको गोरेटोले बागबजार ल्याई पुर्यायो मलाई । आहा ! कति सुन्दर बगान ढकमक्क फुलेका फूलहरु अनि तिनै फूलहरुबाट हररर आइरहेको बास्नाले मोहित गरायो मलाई । अझ मोहित त भमराहरुको दृश्यले बनायो । लाग्यो यो भन्दा सुन्दर ठाउँ सायदै होला यो दुनियाँमा । यसर्थ यहि किन नबसु म र ? मैले यहि बस्ने प्रबन्ध गरे । बाससँगै खानपिनको लागि एउटा जागिर भए सहज हुनेथियो भन्ने मनसायका बाबजुत मेरा पाइलाहरु अर्को अपरिचित गोरेटो तर्फ अगाडि बढे । वरिपरिको रमणिय दृश्य हेर्दै मन आनन्दित पार्दै हिड्दै थिए नक्साल भन्ने ठाउँमा पुगेछु । अहो ? कति ठुलो कारखाना र ? अनुमति बिना प्रवेश निषेध गर्यो व्दारपालेले । एउटा पहेलो गुलाफ थमाइदिए हातमा । उ मुसुक्क मुस्कुरायो र मलाइ भित्र छिर्न दियो । म खिस्स हास्दै भित्र छिरे । जब म भित्र छिरे तब कुन दुनियाँमा आइरहेछु भनेर हेक्का नै गर्न सकिन । हजार भन्दा बढी बत्तिहरु बलिरहेका कति झिलिमिली ? कति ठुला ठुला मेसीनहरु ? हाम्रो गाउँको घर भन्दा पनि ठुला मेसीन । धेरैबेर नियालेपछि थाहा भयो कि यो कारखाना सिलाइ बुनाइको कारखाना हो रहेछ र ती मेसिनहरु कपडा सिलाउने मेसिन । हाम्रो गाउँमा जस्तो हात र खुट्टाले कल चलाउदै खिट् खिट् पार्दै सिउनु नपर्ने, न काट्न पर्ने न नाप्न पर्ने , कपडा मेसिनमा राखिदिएपछि जस्तो भन्यो त्यस्तै कपडा तयार भएर निस्कने । क्या गज्जपको मेसीन ।

भाग्यबस मलाई यसै कारखानामा काम मिल्यो । खुशीले पागल जस्तै भए म ।

मैले यस कम्पनिमा काम गर्न थालेको पुगनपुग दुई बर्ष भयो । यहाँ पुरुषभन्दा महिला कर्मचारीको संख्या बढी थियो । जुन कुरा वादको अस्तित्व बोकेर हिडेको समाजमा एक नमुना थियो । यसर्थ मलाई गर्व थियो यस कम्पनिप्रति । अझ गर्व यस कुरामा थपियो जब कम्पनिमा महिला कार्यालय व्यवस्थापिकाको नियुक्ति गरियो । अझ बढी गद्गद् भयो मेरो मन ।

कामको सिलसिलामा कार्यालय प्रमुख काठमाण्डौ बाहिर जानुभएको थियो केहि समयको लागी । जब उहाँ बाहिर निस्कनुभयो तब कार्यालय कार्यालय जस्तो रहेन । दाम्लोबाट फुत्किएको भैसी र कार्यालयका कर्मचारीको गतिविधि उस्तै उस्तै भयो । नव नियुक्त व्यवस्थापिका शिखाले एकएक हुकुम उर्दी गर्न लागिन् । जस्तै - महिनावारी भएका महिला कार्यालयको शौचालय जानु नपाउने, आँखा पाकेकाहरु शिर ठाडो गरेर हिड्न, बोल्न नपाउने, दात उछिट्टिएकाहरु समुहमा हास्न नपाउने आदी इत्यादि । त्यसैबखत मलाई पनि सोध्न मन लागेको थियो - पुठ्ठो उछिट्टिएकाहरु सबैको अगाडिबाट हिड्न पाउने कि नपाउने ? गिजा निला हुनेहरु बोल्न हुने कि नहुने ? तर सोधिन । र मेसिनका मुख्य परिचालक थिए बि.बि. राणा । सम्भवत राणा वंशको उत्पतिको मुख्य श्रेय उनैलाई जान सक्छ तर उनको उत्पति बारे पूरै अनविज्ञ थिए म । यि दुवैको बानि र उर्दीले सबैलाई हैरानी थपिरहेथ्यो । कर्मचारीहरु बिस्तारै अनुपस्थित हुने क्रम बढ्न थाल्यो । जागिरै छाड्ने संख्या पनि बृद्दि हुदै गयो ।

एकदिनको कुरा हो मेरो मेसिनले काम गरेन । परिचालक राणालाई हेरिदिन आग्रह गरे । सुने नसुने झै गरे उनले । मेरो मेसिनसँगै अन्य पाँच मेसिनको पनि जडान थियो । यसर्थ मेरो मेसिन बन्द हुदा अन्य पाँच मेसिनको पनि काम ठप्प हुन्थ्यो । त्यसपछि व्यवस्थापिका शिखालाई बिन्ति गरियो । उनले पनि डेढ पुच्छर लाइनन् । उनिहरुको यो बानि न मलाई मन पर्यो न अरु अरुलाई नै । बारम्बारको अनुरोध पश्चात मेसिन बन्नु पर्ने सट्टामा ठ्याप्पै बन्द भयो । त्यसपछि म सिधै राणाको कक्षमा पुगेर सोधे - बन्नुपर्ने सट्टमा मेरो मेसिन किन बन्द भयो झन् ? उनले ठाडो जवाफ दिए – “शिखा जीलाई तिम्ले मेसिन बनाईदेउ भनेर अर्डर किन दे’को ? मेसनि बनेन भनेर किन धम्क्याको ? आफुभन्दा ठुला मान्छेसँग कसरी बोल्नुपर्छ भन्ने थाहा छैन ? फेरि यस्तो कामै नगर्ने मेसिन भनिछौ कामै नगर्ने मेसिन किन चाहियो भनेर बन्द गरिदिएको । आजबाट तिमीलाई छुट्टि । तिमी जान सक्छ्यौ ।” मेरो आँखाबाट तुरुक्क आशु चुहियो । असाध्यै नरमाइलो लाग्यो र नराम्रो पनि अनि लाग्यो काठमाण्डौ जति सुन्दर छ यहाँका मान्छेहरु त्यो भन्दा कैयौ गुणा नराम्रा छन् । कुरुप छन् । ति कुरुप मान्छेहरुले काठमाण्डौलाई नै कुरुप बनाउदै छन् । ति कुरुप मान्छेहरु वनमारा झार हुन् । त्यो झारलाई बेलैमा मास्नु जरुरी छ हैन भने सिंगो वन नै सखाप हुनेछ ।

मन एक तमासले दुखिरहेथ्यो । दुखिरहेको मन बहलाउन नागपोखरी छिरे । त्यँहा पनि त्यहि दृश्य थियो । जहाँ, पोखरीका साना माछाको हुल अघिअघि र ठुला माछाहरु पछिपछी बेतोडले कुदिरहेका थिए । सायद, साना माछालाई ठुला माछाले आफ्नो बस्तिमा नबस्नु भनि उर्दी दिएका थिए । विचरा साना माछा कहाँ जान्थे र ? नमानेपछि ठुलाले खेदिरहेका थिए र साना खेदिनु सिवाय कुनै विकल्प थिएन । त्यहाँ पनि मन बहलाउन नसकेर कमलपोखरीतिर लागे । जहाँ कमलको एउटै फूल थिएन । मन झन् विरत्तियो र पुतलीसडक हुदै बागबजारतिर लागे । पुतलीसडकमा उडिरहने रंगीविरंगी पुतलीहरु पनि एउटै देखिन मैले न बागबजारमा फूलको बगान देखियो । त्यसपछि मलाई यो काठमाण्डौ छाडेर मेरै गाउँ फर्कने रहर भयो । भुर्र उडेर जान मन लाग्यो तर सकिन । मन सम्हाल्न नसकेर बागबजारको एक कुनामा बसेर रुदै थिए कसैले बोलाए जस्तो लाग्यो – फुच्ची, ए फुच्ची , उठ भन्या अफिस जान ढिलो भैसक्यो । म झल्यास्स ब्युझिए ।