Saturday, December 26, 2015

कथा एउटा कुरूपताको

यो दुनियाँ साच्चै अजिव छ, उसैझै अजिव छन् मान्छेहरू पनि। कहिलेकाही आफ्नै मन पनि आफैंलाई अजिव लागिदिन्छ। सोचिदिन्छ - कास, मुहारको सुन्दरतामा मेडिकल ट्रीटमेन्टले निखार ल्याएझै मनको कुरूपतामा निखार ल्याउने कुनै वस्तु भैदिएको भए...!

एउटा प्रश्न - कुरुपता भन्नाले केलाई बुझ्नुहुन्छ तपाईं? तपाईँ मन मनमा गुन्दै गर्नुस् यसको उत्तर। अन्तिममा सोध्नेछु। अहिले भने म आफ्नै उत्तर कहन्छु। झर्को लाग्यो भने मलाई बिचमै रोक्नुहोला।

पश्चिम चितवनको राप्ती छेउछाउको बस्ती। चितवन राष्ट्रिय निकुञ्जले घेरिएको गाउँ। जहाँ दिनभरी ज्याला मजदुरी गरेर भरे पेट भने सर्वहारा वर्गको वर्चस्व छ। उनीहरूका कुनै ठूला सपना हुँदैनन् न हुन्छन् ठूला ठूला रहरहरू नै। सानो परिवार। सुखी जहान र शान्त रहोस् घर। हासिखुसी भर्न पाइयोस् दुई छाक पेट अनि आर्थिक हैसियतले भ्यायसम्म पढुन् लालाबाला र हटाउन पाइयोस् उनीहरूको आँखाबाट अशिक्षाको जालो - बस् यती नै हुन्छन् उनीहरूका आकांक्षाहरू। घिर्निको चालमा घुमिरहन्छन् दैनिकिहरू।

उही हुन्छन्। उस्तै हुन्छन् सधैजसो - घर-जंगल, मेलापर्म, गोठ-गोठालो यस्तै यस्तै। त्यही बिचमा एकाध छन् शिक्षित परिवार। जसलाई सामन्ती भन्न रूचाउँछु म। पेसाले शिक्षक हुन् उनी। शिक्षणको मुख्य विषय अङ्ग्रेजी। निलो सर्ट, कालो स्वेटर, कालो पेन्ट, कालै रङ्गको जुत्ता,आँखामा ठूलो लेन्सवाला चस्मा र मुखमा पान- उनको विशेषता हो।

श्रीमती स्थानीय राजनीतिमा सक्रीय कार्यकर्ता हुन् । दुनियाँको नजरमा श्रीमान् र श्रीमती दुबै दक्ष ठहरिन्छ। सबैले ज्यू ज्यू र हजुर हजुर गर्छन्। भेटेपिच्छे दश औंला जोडेर शिर झुकाउँछन्। गाउँलेहरुको नजरमा उनीहरू सर्वश्रेष्ठ व्यक्ति हुन्। समग्र गाउँको इज्जत हुन्।

कुरा कक्षा ८ मा पढ्दाताकाको हो। उमेर र पढाई दुबैले बैनी हुन् उनी मेरी। निलो फ्रक, सेतो सर्ट, दुईपट्टी रातो रिबन फुर्को पारेर कपाल बानेकी, गोरो वर्ण, खिरिलो जिउडाल। साच्चै, आकर्षक लाग्थिन् मलाई। सायद अरू अरूको नजरम पनि लाग्थिन्।

मलाई याद छ-कक्षाकोठामा सरहरुको नजिक हुनको लागि कि त फर्स्ट स्टुडेन्ट हुनुपर्थ्यो कि त राम्रो। म दुबैमध्ये पर्दिनथेँ। उनी पढाइमा ठिक्ठिकै थिइन् तर राम्री हुनाको कारणले सरहरुले बिशेष ख्याल गर्ने गर्नुहुन्थ्यो। अझ अङ्ग्रेजी पढाउने सरले झनै ख्याल गर्नुहुन्थ्यो। टिफिन टाइममा कहिले बिस्कुट, कहिले चक्लेट, कहिले चाउचाउ त कहिले डल्ला पकौडा जस्ता थरी थरी खानेकुराहरू दिइरहनुहुन्थ्यो। मलाई पनि लोभ लाग्थ्यो। पढाइ तेज नहुनुमा दु:ख लाग्थ्यो राम्री नहुनुमा पनि।

एकदिनको कुरा हो, समय शरद यामको थियो। ४ बजे स्कुल छुट्टी भएर उनी घर गइन्। ड्रेस चेञ्ज गरिन् र खाजा नखाई हतार हतार तीनकुलेतिर लागिन्। जहाँ घरहरू छैनन्। सिँचाईँका लागि ल्याइएका गहिरा गहिरा बान्कि परेका कुलाहरू (नहर) र फराकिला गह्राहरू छन्। गह्राका बडा बडा कान्लाहरू छन्।

Thursday, December 17, 2015

मुक्तक ४२

आफ्नो जिवन आफैलाई धिक्कार लाग्छ कहिलेकाहि
बाकिँ चोला तर्न नसकिने जंघार लाग्छ कहिलेकाहि
आखिर,,,,, जन्मनेहरु सबैले मर्नु त छदै छ एक दिन
मान्छेको स्वभाव देख्दा दिग्दार लाग्छ कहिलेकाही

Sunday, December 13, 2015

केटी खुब कडा रैछ !

महिना मंसिरको छ। सामाजिक सञ्जालभरि छ्यापछ्याप्ती भेटिन्छन् नवविवाहित दम्पतिका फोटा। उसैगरी भेटिन्छन् म्यारिज एनिभर्सरी मनाउने पनि। हिजोआज मलाई फेसबुक खोल्नै मन लाग्दैन। मुहारपुस्तिकाको भित्ताभरि टाँसिएका नव दम्पतिका तस्बिरले आफैंलाई गिज्याएझैं लाग्छ।

एकदिन बेलुकापख आमाले फोन गर्नुभयो। मंसिरे गुनासो पोख्नुभयो। त्यस्ता गुनासा यस अगावै पनि कैयौं पटक स्पर्श गरिसकेका छन् मेरा कानले र गरेका छन् सुने नसुने झैं पनि।

'अस्ट्रेलियाबाट बिहेकै लागि आएको रे। कुलघरानको केटो। घर बुटवल। एक्लो छोरो। दिदी बहिनी २ वटी। घरजम भैसकेका। कुरो आको छ के गर्छेस्?' आमाले एकै श्वासमा भन्नुभयो। मैले उत्तर दिन नपाउँदै थप्नुभो -तैं एउटी छस् अब बाँकी। एउटाको जिम्मा लगाइदिन पाए ढुक्कहुन्थ्यो। हुन त तँ आफै बुझ्नेछस् त्यै पनि आमाको मन हो पिर लाग्दो रैछ। जमाना यस्ता छन् कसैले बात लगाइदिन्छ कि भन्ने डर हुँदो रैछ। तँलाई सम्झिदा सम्झिदै उजेलो हुन्छ कहिलेकाँही। कहिलेकाही सोच्दा सोच्दै अघाउँछु, खान मन लाग्दैन। राम्रो कुरो छ। एकपटक विचार गरेस्।

केहीबेर सन्नाटा छायो। सन्नाटालाई छिचोल्दै बोलें- बुझ्दैमा केही भएन क्यारे। मन परे ब्या गर्नी हो नत्र कसैको कर छैन। एकपटक मसँग कुरा गर्न भन्नु न त।
बालकृष्णले कुरो ल्याका हुन्। उनैलाई तेरो नम्बर दिन्छु। बोल्न जानेकी छस्। म नपढेकीले के सिकाउनुरु त्यैपनि अल्ली नरम भएर कुरा गरेस्-आमाले फोन राख्ने बेलामा भन्नुभयो।
शनिबार छुट्टिको दिन। अबेर उठें। लगभग बिहान ९ बजेको थियो। मोबाइलमा घण्टी बज्यो। यसो नम्बर हेरे ९८४७०९४....।

Sunday, December 6, 2015

२४. कविता : हाकिमहरू श्रम किन्छन् या यौन ?

भित्तामा झुण्डिएको छ
ह्वाइट कलरको ठूलो घडी
जुन घडीले
दश बजाउन चार मिनेट बाकिँ छँदा
बजाउँछन् गार्ड दाइले
कार्यालय सुचारुको घण्टि
टिनिनि.... टिनिनि...

सधैं हस्याङफस्याङ गर्दै
आइपुग्छिन् एउटी अधबैंसे महिला कर्मचारी
सोच्छु–
बिहान उठ्दी हुन्, दैलोकुचो गर्दी हुन्
चिया नास्ता, भात भान्सा सबै सक्दी हुन्
आफू खान्छिन् खादिनन् थाहा छैन
तर भर्खरै चार हातखुट्टाले हिँड्दै गरेको
छोरोलाई खुवाउँदी हुन्
र, आउँदी हुन् हतार हतार कार्यालयतिर

चुपचाप, चुपचाप
एकटकले नियालिरहन्छु
दिनभर जसो निकै व्यस्त रहन्छिन उनी
के मा व्यस्त रहन्छिन्? म बझ्दिन
 पालैपालो घरी मोबाइल घरी कम्प्युटर