Wednesday, June 29, 2016

कविता : विमानस्थल


कतै आउनेहरुको लस्कर
कतै जानेहरुको लस्कर
कतै छुटेका छन् हासो र मुस्कानका फोहोरा
त, कतै खसेका छन् गहको बाटो हुँदै मोतिका दाना
कुनै कक्षमा - भेटिएपछिको अगाध प्रेम साटासाट
कुनै कक्षमा - वर्षौसम्म छुट्टिनुपर्नेको पिडा साटासाट
सोच्दैछु - दुबै कक्षका मानिसहरुले
कसरी सम्हालिरहेछन्
र, कसरी थामिरहेछन् -
मनभित्र उर्लिएको स्नेहको बाढी ??
नुन र तेलको मिश्रण जस्तो
कसरी गर्नु फरक यि दुइ धारको तुलना ?
त्यती मात्रै कहाँ हो र ?
मनभरी सपनाको भारी बोकेर
आखाभरी श्रीमती र छोराछोरीको तस्बिर टागेर
अनी छातिभरी आमा र बाबाको ममता सिञ्चिएर
मुग्लान छिरेको छोरो
सपनाहरुसँगै आफुलाई पनि
बन्द बाकसमा कैद गरेर फर्कन्छ
यही बाटो हुँदै
यही गोरेटो हुँदै
हो, यही हो समयले पारिल्याएको
बाध्यताले धकेली ल्याएको
अनी भाग्यको मसिले लेखिल्याएको
मिलन र विछोडको एउटा संगमस्थल
जसलाई विमानस्थल भनिन्छ !!