Tuesday, October 27, 2015

२३. कविता : अंकमाल

आउ,
तिम्रो विरोधमा उत्रीएका
मेरा ओठहरु टालिदेउ
आँखाहरु बन्द गरिदेउ
फुटालिदेउ कानका जालिहरु
छिनालिदेउ हातहरु
छप्पछप्प हान
र टुक्य्राईदेउ मेरा गोडाहरु
अझै पनि चित्त बुझेन भने
लैजाउ सडकको बिचमा
छर्किदेउ आधा लिटर मट्टितेल
स्यार्र कोर सलाई
अनी फ्यार्र फालिदेउ मेरो शरिरमाथी

तर पनि म छाड्ने छैन
हामिबिचको भाइचाराको डल्लाहरुलाई
पञ्चासेको भिरबाट गुडुल्क्याउदै
राम-जानकी चोक पुर्याउन
म छाड्ने छैन
त्यही डल्लाहरुले बनाएको बाटोबाटै
मधेस र पहाड गर्न
म छाड्ने छैन
हिमालको हिउँ पगालेर
पहाडको बाटो हुँदै
तराईका फाँटहरुमा सिँचाइ गर्न
अनी छाड्ने छैन
तिम्री मतिया माईले पस्किएर दिएको
कासको थालमा भात खान

तिम्रो भुगोलबाट माटोको भागबण्डा गरिदा
हिमालको झ्यालबाट चियाउँदै
पहाडको फेदिमा उभिएर
समर्थनको थपडी बजाउन कसरी सक्छु म ?

ओ महासय,
सोच त - पहाडबाट झरना खसेन भने
हिमालबाट हिउँ बगेन भने
कसरी हुन्छ हराबरा तराई ?
कसरी फलाउछौ अन्नपात ?
कसरी धान्छौ एकमुठी प्राण ?
अनि भन त - कसरी फेर्छौ
एकमुठी स्वच्छ स्वास तिमीले ?

यो पनि नबिर्सनु कहिल्यै
तिमी, केबल तिम्रो मात्रै होइनौ
सिङ्गो देशको मेरुदण्ड हौ
सिङ्गो देशबासिको आधार हौ

होला, जन्मिएको पाखो फरक होला
हुर्किएको बाटो फरक होला
तर, हामी फुलेको बगैचा एउटै हो
छुट्टिएर हैन
मिलेर छर्नुछ - बगानमा सुवास हामिले
सुगन्ध हामिले
तसर्थ जरैदेखी उखेलेर फालौ
तेरो र मेरो को भावना
रिस र रागको भावना
र गरौ - भाइचाराको सम्बन्धलाई बिजारोपण
अनि गरौ - यही खुशीयालिमा एकपटक अंकमाल हामीले