यतिबेला हरेक सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा एक कविको नाम अग्रपंतिमा छ - "प्यालेस्टिनी कवि अशरफ फयाद" र उस्तै प्रख्यात भएको छ #FreeAshraf ह्याट्कट्याग पनि । उनले बटुलेको यो चर्चा देशव्यापी मात्र नभै विश्वव्यापी रुपमा छ । निकै छोटो समयमा यती ठुलो ख्याती कमाएका फयादलाई बधाईका शब्दहरु भन्दा बेशी जिवनदानको माग गरिरहेछन् लाखौ लाख साहित्यकारहरु । अरुबखत लुछाचुडी र तँ तँ मँ मँ गर्ने जनताहरु जब संकत पर्छ तब एक हुन्छन् । नेपालका मात्र होइन हरेक देशका । विश्वभरिका । यतिबेला त्यसरि नै एकजुट भएका छन् जनताहरु । केबल नेपालका मात्र होइन देशभरिका जनता । कवितालाई माया गर्ने जनताहरु । कविता लेखेकै कारण साउदी सरकारले मृत्युदण्डको सजाय सुनाएपछि नेपाल लगायत विश्वका विभिन्न मुलुकका कवि, लेखक, कलाकारहरुले उनको बचाउका लागि आवाज उठाइरहेका छन् ।
फयादलाई लागेका आरोपमध्ये धर्मत्याग पनि एक हो । कला र कवितासम्बन्धी विभिन्न संगठनमा बसेर महत्त्वपूर्ण काम गर्दै आएका प्यालेष्टिनी मूलका कवि फयादको जन्म सन् १९८० मा साउदी अरेबियामा भएको हो भने उनी त्यहाँ शरणार्थीको रुपमा बस्दै आएका हुन् । एकदिन एक साथीसित वादविवाद भएको थियो र, त्यसैको निहुँमा उनी सन् २०१३ अगष्ट ६ मा पक्राउ परेका थिए । तर त्यसको भोलिपल्टै उनी जमानतमा छाडिएका थिए । पछि २०१४ जनवरी १ मा पुन: पक्राउ गरेर उनलाई कठघरामा उभ्याइयो र त्यहाँ ४ वर्षको जेल सजाय साथै ८०० कोर्राको सजाय सुनाइयो जुन सजाय हल्का भएको निर्क्योल निकालेर सो मुद्दालाई पुन: ब्युँताइयो । यसै सिलसिलामा पुनरावेदन अदालतले उनलाई तल्लो अदालतमा पठायो जहाँ २०१५ नोभेम्बर १७ का दिन फयादको मुद्दा हेर्न नियुक्ति पाएका नयाँ न्यायाधीशले उनलाई सिधै मृत्युदण्डको सजाय सुनाए ।
त्यसबखत उनको पक्षमा बहस गर्ने कुनै वकिल राख्ने अनुमति दिइएन र सबैभन्दा आश्चर्यको कुरा, न्यायाधीशले उनीसँग बोल्दा पनि नबोली मृत्युदण्डजस्तो सजाय सुनाएका थिए । यस घटनाले वास्तवमै अन्तर्राष्ट्रिय कानुनको उपहास गरेको देखिन्छ तर साउदी सरकार भने यसबारे मौन बसेको छ ।
फयादको सन् २००८ मा ‘Instructions Within’ र्शीषकमा कविताकृति प्रकाशित भएको थियो जुन पुस्तकमा सङ्ग्रहित कविताले धर्म (इस्लाम)माथि प्रश्नचिन्ह खडा गर्दै नास्तिकताको सन्देश प्रवाह गरेको भनिएको छ । र त्यही नै उनको दोषको रुपमा अघि सारिएको छ ।
साथै , उनलाई साइबर क्राइमसम्बन्धी आरोप पनि लागेको छ । उनको फोनमा एक महिलासित खिचेको फोटो फेला परेपछि उनलाई साइबर क्राइमसम्बन्धी मुद्दा लागेको हो, जो उनकै कलाकार साथी थिए । लामो कपाल पालेको, महिलासित अवैध सम्बन्ध राखेको जस्ता आरोपसमेत उनलाई लागेको छ ।
वस्तुत: ईश्वर (अल्लाह) र पैगम्बरलाई तिरस्कार गरेको, कुरानलाइ उपहास गरेको, बोलाएको दिन अदालतमा हाजिर नभएको र आफ्ना कवितामार्फत नास्तिकताको सन्देश फैलाएको आदि आरोप नै मुख्य हुन् । यद्यपि, साउदीका धार्मिक प्रहरीले एक पुरुषलाई कोर्रा हानिरहेको भिडियो अनलाइनमा पोष्ट गरेको कारण बदला लिइएको हो भन्ने धेरैको शङ्का रहेको छ । कलासँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासित आबद्ध भएर काम गरेको कारण उनलाई शङ्काको दृष्टिले हेरिएको हुन सक्ने विश्लेषकहरु बताउँछन् । अझ फयाद प्यालेष्टिनी भएको र सिरिया, लेबनान, जोर्डन र प्यालेष्टाइनबाट आएका आप्रवासीलाई शङ्काको दृष्टिले हेरिने समेत विश्लेषकहरुको भनाइ छ ।
आफ्नो तर्फबाट क्षमायाचना गर्दागर्दै पनि मृत्युदण्डको सजाय सुनाइएका, कुनै गम्भीर या जघन्य अपराध नगरेका अथवा काटमार नगरेका कवि मृत्युदण्डजस्तो भयानक सजायको भागीदार कसरी बन्न सक्छन् ? साउदी अरेबियाबाहिरको दुनियाँमा कदम राखेर सोच्दा यो कुरा अनौठो अवश्य देखिन्छ । अझ मानवताविरोधी देखिन्छ । सिधै मानवअधिकारको उल्लङ्घन गरेको ठहरिन्छ । त्यही कारण नै यस घटनालाई लिएर विश्वकै कवि, लेखक, कलाकारहरु एकजुट भएर आवाज उठाउन विवश भएका हुन् ।
यसै घटनालाई मध्यनजर गर्दै जनवरी १४ का दिन मात्र ‘International Literature Festival, Berlin’ ले ‘Worldwide Reading’को आव्हान गरेको थियो ।
विदेशमा बसेर लेख्दा सम्बन्धित देशको नियम कानुन, धर्म संस्कृतिलाई खण्डन हैन सम्मान गरेर लेख्नुपर्छ भन्ने सन्देश यस घटनाले प्रवाह गरेको छ । अझ साउदी अरेबियामा घटित यस घटनाले त के सन्देश पनि दिन्छ भने त्यहाँ मृत्युदण्डको सजायको भागीदार बन्नको लागि मान्छे मारिराख्न आवश्यक छैन- धर्मको विरोध, त्यहाँको संस्कृतिको विरोधका झिनामसिना स्वर नै यस कुराका लागि काफी हुन्छन् ।