मंसिर महिना भर्खरै निख्रीयो । दुर्भाग्य, कतिको मनमा लागेको काउकुती यसपाली पनि यसै टर्यो , कतिको प्रेमको जालोले यसपाली पनि लगनगाठो कस्न पाएन तर कती आमा, बाहरुको पिरको भारी घटेको छ यसपाली भने कती आमा, बाहरुको पिर झन् बढेको छ । हिजो भन्दा आज बढी । आज भन्दा भोली बढी । चित्त बुझाउनको लागी अर्को मंसिर पर्खिरहनु पर्दैन । दाँई हाल्नको लागी आगनभरी फिजारिएको परालमाथी बसेर पुषको पारिलो घाम ताप्दै आमा बालाई ढाडस दिनुहुन्छ - मंसिर नाघेर के भो त माघ छदै छ नि ।
केहि दिन यता मन चैनमा छैन । काममा मनै छैन । यसर्थ आज कार्यालय गैन । घरमै छु । घर के भन्नु डेरामा छु । ६ तले घर छ । तेस्रो तलाको एक कोठामा म आफ्नो दैनिकी गुजार्छु । बाकिँ कोठामा अरु बिभिन्न मान्छे बस्छन् । को को बस्छन् ? के के गर्छन् ? म जान्दिन । जान्न जरुरी पनि लाग्दैन । आज त्यसै त्यसै बिरक्त लागिरहेछ । पारिलो घाम ताप्ने मनसायका बाबजुत छैठौ तलामा आइपुगेकी छु यतिबेला । दुई बित्ताको फराकमा घुम्न पुग्ने बराबरको खाली ठाउँ छ । यो घरको आगन भने पनि टुडिखेल भने पनि यही हो । यत्ती हो । कुर्सीमा बस्न पनि मन छैन यसर्थ गुन्द्री ओछ्याएर बसेकी छु । चाकल माडेर । खेलाउदिन भन्दा भन्दै पनि मनमा अनेकन कुराहरु खेल्न थाल्छन् । जुन कुरा बेवास्ता गर्न खोज्छु त्यही कुरा झन् छिटो दिमागमा आइपुग्छ ।
खै ! कुन्नी किन भैरहेछ यस्तो ? कार्यालय सम्झ्यो कि नदुखेको टाउको दुखेर आउछ भन्या । यो कार्यालय गुजारा चलाउने माध्यम हो कि टाउको दुखाउने साधन ? मैलाई मात्र यस्तो भएको हो कि अरुलाई पनि यस्तै हुन्छ कुन्नी ? ठम्याउन सकिरहेकी छैन ।
स्वभाविक पनि हो - जहाँ महिला स्वयं महिलाको विरोधी हुन्छे, डाडे हुन्छे, आँखी हुन्छे त्यहाँ समान स्थिती रहदैन । न रहन्छ समन्वयको अवस्था पनि । ह्या छोडिदिउ बिनासित्तिमा के गर्नु टाउको दुखाउने कुरा ।
अँ, घर छेउको पल्लो घरको छतमा अन्दाजी छ दशक पार गरेकी आमा बसिरहनु भएको छ । उहाको ढाड मतिर फर्किएको छ मेरो मुहार उहातिर फर्किएको छ । उहा आफ्नै सुरमा हुनुहुन्छ मेरो सुर के छ मैलाई थाहा छैन । पारिलो घाम नसा झै लागिरहेछ । निदाउ निदाउ झै भैरहेछ । पगाहा बसेको वस्तु झै । पाउर गाडेर आनन्दले बसेको वस्तु झै बस्न मन छ तर मन अमन छ । एकछिन यताउता टहल्लिदै थिए । मोबाइलमा बज्यो “ ॐ जय जगदिश हरे, स्वामी जय जगदीश हरे” । झट्ट मोबाइल हेरे । मोबाइलको स्क्रीन त कालै छ । फ्यात्त फालिदिए , कत्ती मन नपरेकी सौतेनी छोरिलाई झै । गुटुङ्टुङ दगुर्दै एउटी सानी सानी नानी आइन आमा छेउ । कती राम्री नानी पुतली जस्ती । फेरी कती राम्रो जामा ? त्यो उमेरमा त्यस्तो फरर परेको जामा कहिल्यै लाउन पाइन मैले । त्यो दिन सम्झदा मात्रै पनि तुरुक्क आशु चुहिन्छ । सायद आमालाई उनको उपस्थिती झिजो लाग्यो क्यारे । कराउनु भो । रुखो बोले झै गरी मायालु पाराले । नानी रुन्चे मुख पारेर तल झरिन् । फेरी भजन बज्यो - “ ॐ जय जगदिश हरे, स्वामी जय जगदीश हरे” । थाहा भो भजन पल्लो घरको छातामा बस्ने आमाको मोबाईलमा बजेको रैछ । फोन काटियो या काटिइयो - थाहा भएन तर भजन बन्द भो ।
एकछिनपछी फेरी एउटी दिदी आउनु भो । आमा छेउ मै बस्नु भो । मधुरो मधुरो गरी सुनिरहेकी छु । घरायसि सामान्य कुरा चल्दै थियो । एकाएक आमाको आशुले भरिएको आवाज निस्कियो । सोचे - बिचरा बिरामी हुनुहुदो र'छ केरे । दुखेर हो कि । मेरा कान ठाडा भए । चासो बढ्यो । सुन्दै थिए - एउटा छोरो । त्यही पनि सानै देखी बाहिर बाहिर हिड्यो । घरको दु:ख टार्यो । तिमी छोरिहरु उम्कियौ । बुहारी आई । अब त सुखका दिन आए भन्ने लागेथ्यो तर होईन रहेछ । खास दु:खका दिन त बल्ल सुरु हुँदै रहेछन् । बुहारी राइकाटा छे । कसैलाई टेर्दिन । झन् त्यो सोझो छोरालाई के गन्दी हो र ? बरा ! तेल्ले नि सुख पाउने भएन । हामी त डाडाका घाम भयौ । अब देउघाट गएर पनि जिन्दगी गुजार्न सकिन्छ । बरा ! त्यो बालखाले के गर्छ ?