Thursday, January 12, 2017

घरभित्रका कुरा

मंसिर महिना भर्खरै निख्रीयो । दुर्भाग्य, कतिको मनमा लागेको काउकुती यसपाली पनि यसै टर्यो , कतिको प्रेमको जालोले यसपाली पनि लगनगाठो कस्न पाएन तर कती आमा, बाहरुको पिरको भारी घटेको छ यसपाली भने कती आमा, बाहरुको पिर झन् बढेको छ । हिजो भन्दा आज बढी । आज भन्दा भोली बढी । चित्त बुझाउनको लागी अर्को मंसिर पर्खिरहनु पर्दैन । दाँई हाल्नको लागी आगनभरी फिजारिएको परालमाथी बसेर पुषको पारिलो घाम ताप्दै आमा बालाई ढाडस दिनुहुन्छ - मंसिर नाघेर के भो त माघ छदै छ नि ।

केहि दिन यता मन चैनमा छैन । काममा मनै छैन । यसर्थ आज कार्यालय गैन । घरमै छु । घर के भन्नु डेरामा छु । ६ तले घर छ । तेस्रो तलाको एक कोठामा म आफ्नो दैनिकी गुजार्छु । बाकिँ कोठामा अरु बिभिन्न मान्छे बस्छन् । को को बस्छन् ? के के गर्छन् ? म जान्दिन । जान्न जरुरी पनि लाग्दैन । आज त्यसै त्यसै बिरक्त लागिरहेछ । पारिलो घाम ताप्ने मनसायका बाबजुत छैठौ तलामा आइपुगेकी छु यतिबेला । दुई बित्ताको फराकमा घुम्न पुग्ने बराबरको खाली ठाउँ छ । यो घरको आगन भने पनि टुडिखेल भने पनि यही हो । यत्ती हो । कुर्सीमा बस्न पनि मन छैन यसर्थ गुन्द्री ओछ्याएर बसेकी छु । चाकल माडेर । खेलाउदिन भन्दा भन्दै पनि मनमा अनेकन कुराहरु खेल्न थाल्छन् । जुन कुरा बेवास्ता गर्न खोज्छु त्यही कुरा झन् छिटो दिमागमा आइपुग्छ ।

खै ! कुन्नी किन भैरहेछ यस्तो ? कार्यालय सम्झ्यो कि नदुखेको टाउको दुखेर आउछ भन्या । यो कार्यालय गुजारा चलाउने माध्यम हो कि टाउको दुखाउने साधन ? मैलाई मात्र यस्तो भएको हो कि अरुलाई पनि यस्तै हुन्छ कुन्नी ? ठम्याउन सकिरहेकी छैन ।

स्वभाविक पनि हो - जहाँ महिला स्वयं महिलाको विरोधी हुन्छे, डाडे हुन्छे, आँखी हुन्छे त्यहाँ समान स्थिती रहदैन । न रहन्छ समन्वयको अवस्था पनि । ह्या छोडिदिउ बिनासित्तिमा के गर्नु टाउको दुखाउने कुरा ।

अँ, घर छेउको पल्लो घरको छतमा अन्दाजी छ दशक पार गरेकी आमा बसिरहनु भएको छ । उहाको ढाड मतिर फर्किएको छ मेरो मुहार उहातिर फर्किएको छ । उहा आफ्नै सुरमा हुनुहुन्छ मेरो सुर के छ मैलाई थाहा छैन । पारिलो घाम नसा झै लागिरहेछ । निदाउ निदाउ झै भैरहेछ । पगाहा बसेको वस्तु झै । पाउर गाडेर आनन्दले बसेको वस्तु झै बस्न मन छ तर मन अमन छ । एकछिन यताउता टहल्लिदै थिए । मोबाइलमा बज्यो “ ॐ जय जगदिश हरे, स्वामी जय जगदीश हरे” । झट्ट मोबाइल हेरे । मोबाइलको स्क्रीन त कालै छ । फ्यात्त फालिदिए , कत्ती मन नपरेकी सौतेनी छोरिलाई झै । गुटुङ्टुङ दगुर्दै एउटी सानी सानी नानी आइन आमा छेउ । कती राम्री नानी पुतली जस्ती । फेरी कती राम्रो जामा ? त्यो उमेरमा त्यस्तो फरर परेको जामा कहिल्यै लाउन पाइन मैले । त्यो दिन सम्झदा मात्रै पनि तुरुक्क आशु चुहिन्छ । सायद आमालाई उनको उपस्थिती झिजो लाग्यो क्यारे । कराउनु भो । रुखो बोले झै गरी मायालु पाराले । नानी रुन्चे मुख पारेर तल झरिन् । फेरी भजन बज्यो - “ ॐ जय जगदिश हरे, स्वामी जय जगदीश हरे” । थाहा भो भजन पल्लो घरको छातामा बस्ने आमाको मोबाईलमा बजेको रैछ । फोन काटियो या काटिइयो - थाहा भएन तर भजन बन्द भो ।

एकछिनपछी फेरी एउटी दिदी आउनु भो । आमा छेउ मै बस्नु भो । मधुरो मधुरो गरी सुनिरहेकी छु । घरायसि सामान्य कुरा चल्दै थियो । एकाएक आमाको आशुले भरिएको आवाज निस्कियो । सोचे - बिचरा बिरामी हुनुहुदो र'छ केरे । दुखेर हो कि । मेरा कान ठाडा भए । चासो बढ्यो । सुन्दै थिए - एउटा छोरो । त्यही पनि सानै देखी बाहिर बाहिर हिड्यो । घरको दु:ख टार्यो । तिमी छोरिहरु उम्कियौ । बुहारी आई । अब त सुखका दिन आए भन्ने लागेथ्यो तर होईन रहेछ । खास दु:खका दिन त बल्ल सुरु हुँदै रहेछन् । बुहारी राइकाटा छे । कसैलाई टेर्दिन । झन् त्यो सोझो छोरालाई के गन्दी हो र ? बरा ! तेल्ले नि सुख पाउने भएन । हामी त डाडाका घाम भयौ । अब देउघाट गएर पनि जिन्दगी गुजार्न सकिन्छ । बरा ! त्यो बालखाले के गर्छ ?

अब के गर्नु साट्न पनि नमिल्ने । माइती भनेर आउने पनि तपाईंहरु छउन्जेल त होला नि त्यसपछी त त्यस्तै हो - दिदिले बिचमा बोलिन् ।

नन्दले आमालाई उचालिरहेकी छिन् । सासु बुहारिमाथी आगो भैरहेकी छिन् ।

सासु बुहारिको कुरो रैछ भन्ने बुझेपछी त्यती वास्ता गर्न मन लागेन । यतै भुल्न लागे । काठमाण्डौको घरै घरको भिडभित्र ।

अहो ! कती बिघ्न घर ? एउटा घर पल्ट्यो भने लहरै सबै घर भत्केला जस्तो । एउटा घरको टेको अर्को घर । अर्को घरको टेको अर्को घर । यतिका घरमा कती होलान् मान्छेका बथान ? अनि कसरी पुगोस् पानि ? किन हुन्थ्यो यहाँ सफा सुग्घर । गन्जागोल छ यो शहर । कहिल्यै पुरा हुन नसक्ने मनभित्रका उकुसमुकुस सपनाहरु जस्तै ।

यस्तै सोच्दै थिए साविकभन्दा चर्को आवाज सुनियो । पल्लै घरदेखी आ’को आवाज ।

जमानामा रुखदेखी खसेर लडेका रे ससुरा । हात, खुट्टा सबै भाचिएर कोमामा बसेका रे कती मैना हो । सासु नि उस्तै रोगी । दम । जतिखेर नी स्या स्या । घिन लाग्दी बुढी । ज्वाइले आमा बालाई हाम्ले नै हेर्नुपर्छ भन्नुहुन्छ । रोगाहा बुढाबुढी स्याहार्न पर्‍यो भने त क्यार्नी हो ?

हुन्न हुन्न । त्यस्ता रोगिलाई स्या’रेर बसेर हुन्न कान्छी । बरु अहिले नै ज्वाइलाई सम्झा र विदेश तिर जाओ दुइटै । बुढाबुढिलाई जेठा, माइलाले हेरिहाल्छन् नि ।

यती सुनेपछी मलाई एक किसिमको दु:ख बोध भयो । एउटी आमाले छोरिप्रती देखायको ममता र बुहारिप्रती देखायको व्यवहारले खिन्नता महसुस भयो । लाग्यो फेरिएको शताब्दी हो जमाना त उहि ठाउँमा रहेछ ।

सासुको नजरमा बुहारी र बुहारिको नजरमा सासु किन कहिल्यै जाती हुँदैनन् , आखिर यस्तै मसिना कुराले गर्दा न हो । र हो हेर्दा झिनामसिना लाग्ने यस्तै बानिहरुले गर्दा नै घर बिग्रने ।

उसो त म पनि एक छोरी हुँ , बुहारी हुँ । मेरो घरको रिती अनुसार भाउजुले बिहान पुजाआजा सकिएपछी आमा, बुवालाई ढोग्नुहुन्छ भने मैले पनि मेरा सासु ससुरालाई ढोग्नैपर्छ । यो मेरो घरभित्रको रिती हो । नपढेको बुहारिलाई रिती रिवाज लाग्ने पढेकोलाई नलाग्ने भन्ने हुँदैन । यो समान हुन्छ सबैको लागी र हुनु पनि पर्छ ।

ति दिदी पनि हिजोसम्म छोरी थिइन् आज बुहारी भएकी हुन् । तर किन बुझ्दिनन् उनि कि उनले माइतिमा जे कुरा गरिरहेकी छिन ठिक त्यही कुरा भोली उनको घरमा पनि हुन सक्छ भनेर । संस्कार सबैले मान्नुपर्छ । चलाउनुपर्छ । चलिआएका र परिमार्जन गरिदै आएका धेरै संस्कारहरु छन् । जुन छोरिको हकमा छोरिले, बुहारिको हकमा बुहारिले र सासुको हकमा सासुले नै पालना गर्नुपर्छ । तपाईंले आफ्नि छोरिलाई अन्माउदा कसैको घरकी लक्ष्मी बन्न पठाउनुभएको हुनेछ भने तपाईंले भित्र्याएकी बुहारी तपाईंको घरमा लक्ष्मी बनेर नै भित्रीने छिन् । बुहारिले छोरिको स्थान त परिपुर्ती गर्न नसक्लिन् तर छोराले सरह सेवा,श्रुसा र रेखादेख जरुर गर्नेछिन् तब, जब तपाईंको मनस्थितीबाट छोरी र बुहारिलाई गर्ने व्यवहारमा समानाता आउछ । बुहारी नोकर र छोरी राजकुमारी हैन । जमाना अझै नि उस्तै रहेछ । छोरिलाई लोग्नेका बा आमाका घिन लाग्दा खुट्टा नढोग्नु भन्ने अनि बुहारिले खुट्टा ढोगिन भनेर फलाक्ने ? बुहारिले हाम्लाई पाल्ने भैन भनेर गुनासो गर्ने अनि छोरिलाई सासु ससुरा नपालेस् भन्ने ? भाउजुले आमा'बा पालिनन् / पाल्दिनन् भनेर कन्धा पछाडिबाट धारे हात लाउने अनि आफुले चाही सासु ससुरा पाल्दिन भन्ने ?

हरेक कुराको आ-आफ्नो ठाउँमा मर्यादा हुन्छ । मर्यादा विपरित कार्य गर्न कसैले पनि हुँदैन । जसरि अत्याधिक तापक्रमका बाबजुत ज्वालामुखी विष्पोट हुन्छ त्यसरि नै मर्यादा विपरित कार्यहरुको बाबजुत शान्ती भंग हुन्छ । जुन कुराप्रती समयमै सचेत हुनु जरुरी हुन्छ ।