चुडामणी
ओलिको शोककाव्य "अश्रुधारा"
मान्छे कोही पनि अजम्बरि हुँदैन । जन्मेपछी सबैले मर्नैपर्छ । आखिर यो प्राकृतिक रित नै हो । हामी सबैले यसलाई आत्मसाथ गर्नैपर्छ । नगरि सुखै छैन । यस नियमलाई उलङ्घन गरेर न कोही हिजो हिड्न सक्यो न आज हिड्न सकेको छ न त भोली नै हिड्न सक्नेछ । बस यो यसरि नै चलिरहन्छ । निरन्तर चलिरहन्छ र हामि पनि उसरी नै त्यही नियममा बाधिएर चाहे पनि नचाहे पनि चलिरहनुपर्छ । जब जो कोही मान्छेमा पनि खुशीको बहार आउछ तब यो सारा संसार स्वर्ग सरह लाग्छ अनि दुनिया नै उज्यालो देखिन्छ तर जब दु:खमा पिल्सिन्छ मान्छे, आशुमा डुबुल्की मार्छ मान्छे अनि पिडा र चोटले छट्पटिन्छ मान्छे तब जस्तै झिलिमिली बस्ती भएको शहर पनि अध्यारो लाग्छ । जून हराएको रात जस्तै । ज्योती बिनाको बत्ती जस्तै ।
शोक यसै पनि पिडादायी हुन्छ । त्यसलाई सहनु त्यती सजिलो हुँदैन । सामान्य मान्छेले रोएर, कराएर पिडा पोख्छ र मनलाई भुलाउने प्रयास गर्छ तर सृजनसिल कविको भावुक मन भने त्यतिले मात्र सन्तुष्ट नहुदो रहेछ । उ आफ्नो शोकलाई सृजनामा उतारेर सामान्यिकरण गर्ने र मनलाई शान्ती दिलाउने प्रयास गर्दछ । यसो गर्दा जसको शोकमा लेखिएको हो उसैको स्मृती चिर स्थाइ बन्छ ।
यस शोक काव्यका रचयिता "चुडामणी ओलि" ले पनि यस्तै प्रयास गर्नु भएको छ । उहाँले आफ्नो व्यक्तिगत शोकलाई व्यक्तिगत मात्र नभएर काव्यात्मक शोकका रुपमा काव्यको माध्यम व्दारा सार्वजनिक शोक बनाउनु भएको छ । सत्सठ्ठी वर्षको प्रौढावस्थामा पत्नी वियोग हुनु कम पिडादायी कुरा होइन । आफ्नि जिवन संगिनिको असामयिक निधनले मर्माहत बनाएको यस घडिमा उहाँले आत्माको चिरशान्तिको कामना सहित आफ्नो पिडालाई यस काव्यमा सम्मिलित गर्नु भएको छ । आफ्नि अनपढ जिवन संगिनिको सम्झना रचनाकारले यसरि शब्द उतार्नु भएको छ :-
त्यस्तो आपसको परीस्थिती हुँदा पढ्ने कुरै जानिनौ
बच्चा जन्म दिने बनी मिसिन नै चल्थ्यौ दुखै मानिनौ
जानेकी त थियौ यिनै सब कुरा आफु तिमीले पनि
देउ माफ सखे सबै कसुरमा आफ्नै सखा हो भनि
यस शोक काव्य पढ्दा पाठक स्वयम शोकार्द्र बन्छ र कवी प्रती सहानुभुतिको भावना पनि जागृत हुन्छ । यही नै यस काव्यको सफलता सम्झन्छु म । मुटुको रोगले शिथिल बनेकी आफ्नि प्रीय जिवन संगिनिले यो संसार छाडेर जाने बेलाको दु:खद समयलाई यस काव्यमा यसरि उतारिएको छ :-
केहि बेर वित्यो अतालिन पुगिन भो छट्पटी बेस्सरि
हेर्दै मैतिर नै गुहार उनको होला भने झै गरि
आखाँ नाक समेत दीपक बली झ्याप्पै निभे झै गरि
खुम्च्याएर झिपिक्क आकृती भयो प्राणान्त त्यै घरि
उसै गरी आफ्नि संगिनिलाई अन्तिम श्रद्दान्जली दिने क्रममा कवी शब्दव्दारा यसरि पोखिनु भएको छ :-
मैले नुतन वस्त्र जो अघी दिए त्यो सोह्र शृङ्गार हो
सेतो नुतन वस्त्र जो किनिदिए कात्रो बन्यो बस्त्र यो
पुजामा पहिले नयाँ किनिदिए त्यो पन्चपात्रो थियो
त्यै पात्रो प्रीय छेउ अर्पण गरे खोटो टिलो भैदियो
धार्नी सात रुइ कसेर डसना ओछ्याउदा भन्दथ्यौ
यो गाठो छ बिझाउने म कसरी सुत्ने तिमी कन्दथ्यौ
डोला काठ कसेर चाङ यसमै राखेर छोपे पनि
के ऐया पनि भन्दिनौ चुप बस्यौ त्यै खात शोलामुनि
आगो साथ डराउथ्यौ किन सखी सल्काउदा बोल्दिनौ
सल्के बस्त्र पराल मौन किन छौ आखाँ दुबै खोदिनौ
जब चाडपर्वहरु घर - आगनमा आइपुग्छन तब आफ्नि सखाको यादमा यसरि हराउदै हुनुहुन्छ कवि :-
कल्लाई म लगाउने हँ जमरा छैनौ तिमी साथमा
तिम्रो याद लिएर टास्नु कसरी खै अक्षता माथमा
बत्ती झल्मल यो तिहारभर छन दिपावली हारमा
मेरो दीप हिजै निभ्यो मइन के बालु म यो व्दारमा
आफ्नि संगिनीसँगको विछोडमा विछिप्त बन्नु भएका कवी काव्यको अन्तमा यसो भन्नुहुन्छ :-
फर्की आउन एकपल्ट घरमा मागी बिदा स्वर्गमा
पुरा लक्ष्य गरेर दिन्छु म बिदा गाह्रो परे मर्त्यमा
स्कुले जिवन देखी नै शिक्षक र विध्यार्थी को सम्बन्धमा गासिएका हामी मेरो आत्मिए गुरु र प्रेरणाको स्रोत हुनुहुन्छ उहाँ । आफैलाई अध्यापन गराउनु भएको आफ्नै सम्माननिय गुरुको कृती हात पर्दा एकातिर हर्षित पनि भए भने अर्कातिर कृतिभित्रका अक्षरहरुमा नजर डुलाउदै गर्दा कता कता भित्री हृदयमा नै चोट पुगेको आभास भएको छ यतिबेला । कता कता दुखिरहे झै अनि कता कता पोलिरहे झै भान भएको छ तर कता थाहा छैन । छाम्छु भेट्दिन र पनि पोलिरहेछ , दुखिरहेछ ।
गाह्रो छ । निकै गाह्रो छ । बिजुली नचम्की मुस्लो खसेको देखिन्न । मुस्लो नदेखिइ बज्र खसेको ठानिन्न । बज्रै नपरी त्यसको चोट जानिन्न । चोट बिना पिडाबोध हुन्न । बोध नभै यस्ता हृदयस्पर्शी काव्य पनि लेखिन्न । त्यसैले गाह्रो छ । फेरी स्पर्शी काव्य मस्तिष्कबाट लेखिन्न । हृदयमा नपुगी सही अनुभुती हुन्न । अनुभुती नभै हृदय पग्लिन्न । हृदय नपग्ली काव्यले मर्ममा छुदैन । फेरी गाह्रो छ । सबैमा कवी हृदय हुन्न र काव्य लेखिन्न । त्यसैले आज हामी त्यस्ता अमुल्य अनुभुतीका सबै काव्य पढ्नबाट बन्चित छौ जो लेखिदै लेखिन्नन । ति अभिलेख साहित्य भण्डारमा देखिदै देखिन्नन ।
यो करुण रस कल्पनाबाट अपुरो हुनेरहेछ । नक्कल गर्दा अधुरो हुनेरहेछ र रहरले लेख्दा मधुरो हुनेरहेछ । करुण काव्यलाई मुर्त रुप दिन चोट लाग्नै पर्ने रहेछ र तप्पतप्प हृदय पग्लेर शब्दमा खस्नुपर्ने रहेछ । ठिक त्यसरि नै हृदय पग्लेर खसेका श्रदय गुरु श्री चुडामणी ओलि ज्यु को काव्ययात्राले आगामी दिनमा थप प्रेरणादायक कृतिको जन्म दिन सफल रहोस । मेरो अन्तर हृदय देखी नै शुभकामना अर्पण गर्न चाहन्छु साथै शोकलाई धारण गर्ने सामर्थ्य पनि प्राप्त होस श्री पशुपतीनाथ सँग कामना छ मेरो ।