Wednesday, November 13, 2013

१४. एक हुल डाँग्रेहरु



केहि बेर अघि मात्रै पल्लो गाउँबाट
बम पड्किएको आवाज आयो
पर सम्मको जमिन हल्लायो त्यहि आवाजले
जमिनसँगै कैयौ मनहरु कापिरहेका थिए…. !!

शहरबाटै धुवाँको मुस्लो देखियो
सायद, ह्वारह्वार सल्किरहेका थिए
कैयौ घरहरु
र, घरसँगै सल्किरहेका थिए
कैयौ जिवित सपनाहरु पनि… !!

तिनै सपनाहरु जलेको गन्ध हुनुपर्छ सायद,
निकै नमिठो गरि आईरहेको थियो
र, अत्तालिदै उडिरहेका थिए
एक हुल चराहरु
सिमापारिको जङ्गलतिर…. !!

केही पल्तिर
कलिला नानि बाबुहरु
खेलौना झै गरि
बम खेलाईरहेछन्
र, बढाईरहेछन् आफ्नै जिवनसँग चुनौति
या, घटाइरहेछन् आफ्नै आयु ….??

वर्षौ वर्ष देखि शोकमग्न छन् -
बेपत्ता छोरीका आमाहरु…. !!
श्रीङ्गार उजाडिएका श्रीमतिहरु….!!
र, युद्धले टुहुरा बनाएका सन्तानहरु …. !!

चह¥याइरहेको त्यहि घाउमा
फेरि नुन छर्न आइपुगेका छन्
एक हुल डाँग्रेहरु…. !!

सपना माथि सपना थुपारेर
कलम समाउने हातले
बन्दुक समाएका
कैयौ छोराछोरीहरुको
रातो रगतले मुछिएको माटो
न पुछियो आजसम्म  ??
न त त्यहाँ अन्न फल्यो ??

रंग फेरेर कोइली बन्न खोजेका
एक हुल डाँग्रेहरु
पिडाले आहत हुदै
आशुले नुहाएको गाउँमा
फेरि फर्किएका छन्
तर, कहिल्यै फर्किएनन् ति चराहरु …. !!