मिती : २०७२/०३/०७
सोमबार
स्थान : सुनसान कोठा
समय : जून हराएको रात
स्थान : सुनसान कोठा
समय : जून हराएको रात
ममतामयी आमा,
असिम प्यार र अगाध सम्झना ।
थाहा छ - समयले कोल्टो फेरिसक्यो । हात हातमा हुने मोबाइल फोनको बिगबिगिले चिठ्ठीपत्रको जमाना एकादेशको कथा बनिसकेको छ तर पनि आधुनिक जमानाको सुविधालाई अल्ली परै छाडेर सेतो पानामा काला अक्षरहरु उतार्न मन लाग्यो मलाई । त्यो पनि तिम्रो सम्झानाको खातिर । फेरी यसरि कोरा कागजमा आफ्ना बहहरु पोख्नुको आनन्दानुभुत त्यो मोबाइलबाट कहाँ पाउन सकिन्छ र ? हो, आमा आज अनायासै तिम्रो यादले भाव विह्वल भए म । खै ! किन भए त्यो म आफैलाई थाहा छैन ।
पत्र लेख्दै गर्दा यि दुई नयनबाट साउने बलेसी सरी अश्रुधारा बहिरहेका छन् । यि काला अक्षरहरुमा नपरुन भन्नको खातिर घरी घरी लेख्दा लेख्दैको कलम बिसाउछु र आँखा पुस्छु अनि पुन : लेख्न थाल्छु । यो क्रम निरन्तर चलिरहेको छ । यस पानामा फुलेका अक्षरहरु पढ्दै गर्दा रुदा रुदा फुलेका मेरा आँखहारु तिम्रो वरिपरी नघुमुन । बस् ।
आमा,
थाहा छैन किन यस्तो बेचैनी बढिरहेछ मलाई । जती जती सम्झाउन खोज्छु यो मन उति नै छट्पटी बढिदिन्छ झन । क्यै गरी सकिरहेकी छैन । मनभरी खात लागेका सपनाहरुले दिनहुँ झक्झक्याइरहन्छन र पनि ब्युझिन सकिरहेकी छैन । फेरी निदाएकी पनि छैन तर लमतन्न परेर सुतेको शरिर उठ्न मन गरिरहेको छैन । घरिघरी त यस्तो लाग्छ कि - पुगौँ कुनै अग्लो डाडामा र बन्द गरौ दुबै आँखा अनि बिर्सेर दुनियाँ सारा, भुलेर आफन्त सारा अनि त्यागेर सारा लोभ, मोह, र इर्ष्या हाम्फालु त्यही डाडाको टुप्पादेखी र एक निमेषमै मारिदिउ आफ्ना अनगिन्ती सपनाहरु तर सपना सँगसँगै म मर्न चाहान्न । त्यसैले त सकिन त्यसो गर्न पनि । फेरी सोच्छु - सपनाहरुको लानी 'सपनानाषक बिषादि' छरिदिउ सपना फूल्ने मनको बारिभरी । बिडम्बना, सोचनिय मेरा सबै प्रयासहरु फगत भैरहे । विफल भैरहे म यस मानेमा हर हमेशा ।
सधैजसो यही सुनसान कोठामा हुन्छु । झ्यालमा उभिन्छु र आकाशका ताराहरुसँग भलाकुसारी गर्छु घण्टौसम्म तर कालो बादल मडारिएको छ आज आकाशमा र झुल्किएका छैनन् मेरा ताराहरु यसर्थ एक्लो पनले छट्पटाइरहेको छ मलाई । यसैबेला चारैतिर हेर्छु, सोच्छु नितान्त एक्ली लाग्छु म आफु । छैनन् कोही वरिपरी । यदी कोही हुदो हो त खुशीमा सँगै हास्ने साथ भेट्टाउदी हुँ, यदी कोही हुदो हो त म रुदा आशु पुछिदिने हात भेट्टाउदी हुँ, भेट्टाउदी हुँ मन निराश भैरहेको बेला हौसलका केहि शब्दहरु अनि भेट्टाउदी हुँ मनको बह बिसाउने चौतारी पनि ।
आमा,
भनौं त तिम्रो चित्त दुख्ला भन्ने पिर लाग्छ फेरी नभनौं त मैले नै नभने कसरी थाहा पाउछेउ तिमीले म दुखेको जस्तो लाग्छ । यही दोमनको संघारमा उभिएर कोर्दै छु म यो पत्र । आशा छ - मन दरिलो पारेर पढ्नेछौ तिमीले र बुझ्नेछौ मलाई ।
बाबाको हात समातेर यताउता हिड्न, आमाको काखमा लुटुपुटु गर्न अनि दाजुदिदिहरुको स्नेहमा बुर्कुसी मार्न कसलाई पो रहर हुँदैन होला र ? हुन्छ सबै सन्तानलाई हुन्छ आफ्नो बाबाले हौसला थपिदिउन, आमाले आत्मबल बढाइदिउन अनि दाजुदिदिहरुले गोरेटो देखाइदिदै जाउन । म त कती धेरै अभागी रहेछु हगी आमा ? न बाबाको हात समातेर हिड्न पाए आजसम्म, न तिम्रो फरियाको छेउ समातेर हिड्न पाए आजसम्म, न त पछ्याउन पाए आजसम्म दाजुदिदिहरुले देखाइदिएका गोरेटोहरु ।
जब जब यि स्नेहरुको अभावले मनमा हुण्डरी मच्चाउन थाल्छन् तब अनायासै रोइदिन्छु म । घरी सुक्क सुक्क रुन्छु, घरी घरी डाको छोडेर रुन्छु, घरी सिरानिले मुख छोपेर रुन्छु त घरी भित्तामा टाउको ठोकेर रुन्छु । जबसम्म मन हलुका भएको आभास हुँदैन तबसम्म रोइरहन्छु एकनासले । जब रुदा रुदा आशु रित्तिए झै महसुस हुन्छ तब रोकिन्छु, आफुलाई सम्हाल्ने कोसिस गर्छु तर उस्तै घबराइरहेको हुन्छ मन, मुटु । अकस्मात नेपालमा विनासकारी भुकम्प गयो । हजारौ मान्छे मरे, लाखौ मान्छे घाइते भए र बेपत्ता भए कती कती । सोच्दैछु - कि त म पनि मर्नुपर्ने थियो कि त पुरिनुपर्ने थियो तीनै भग्नावशेष भित्र । अफसोस, मलाई केहि भएन ।
आमा,
लेख्दा लेख्दै पत्र लामो भएछ । अब यतै कतै बिट मार्ने जमर्को गरिरहेछु म यतिबेला ।
अन्त्यमा, आशा छ यि शब्दहरु नियालिरहदा तिम्रा आँखाहरु ओभानो नभए पनि गह नभिजोस किनकी नगरुन खिसी कसैले तिम्रो मलिन मुहारको ।
बाँकी बहहरु पछिल्लो पत्रमा पोखौला । अहिलेलाई यती नै ।
उही तिम्री अभागी छोरि
‘म’