Thursday, August 13, 2015

कथा सङ्ग्रह - ईन्द्रमायाको देशमा


एक  फन्को  मारेपछी  "ईन्द्रमायाको देशमा


चितवन कविडाँडाका एल.बि. छेत्री । पेशाले प्रेरणाका स्रोत भन्न रुचाउछु म उँहालाई । साहित्य वरिपरी र साहित्य बाहिर रहेर पनि सदैव केहि गर्नुपर्छ, गलत गर्नुहुन्न र डराउनु पनि हुन्न भनेर झकझकाइरहने एल.बि. छेत्रीलाई म आफ्नो अभिभावक ठान्दछु । बस् । एउटा सन्तान भएर अभिभावकको व्यक्तिगत जिवनिमाथी यत्ती मात्र बोले मैले । अब लागौं ईन्द्रमायाको देशतिर ।

विमोचन अगावै चर्चामा आइसकेको यस कथा सङ्ग्रह विमोचन पश्चात गुपचुप रहने त कुरै भएन । मण्डला थिएटरको हलमा श्रावण ९ गते शनिबारको दिन ईन्द्रमायाको देश विमोचित भयो । सबै पाठकको लागी उक्त देशमा घुम्न, खेल्न, रमाउन प्रवेश खुला गरियो तर रु २०० को टिकट कटेर मात्र । म छुटको अफरमा परे र रु १०० मै पाए प्रवेश अनुमती । प्रवेश अनुमती पाएको करीब २ हप्तापछी मात्र घुम्न निस्कने अवसर जुर्यो मलाई । त्यसपछी लागे म 'ईन्द्रमायाको देशमा' । ९४ पृष्ठको यस सङ्ग्रहभित्र जम्माजम्मी २२ वटा कथाहरु सङ्ग्रहित छन् । एडगर एलेन ले भने झै पाठकको रोजाई बुझेरै हुनुपर्छ कथाकारले बिल्कुलै छोटा धारका कथाहरुलाई प्रश्रय दिनुभएको छ । 'राष्ट्रानीर्माण' बाट सुरु भएको कथाको लहरले 'उसले फेरी सपना बुन्नु छ' मा पुगेर बिट मारेको छ । छोटा छोटा वाक्यांशहरु छन् जसले गर्दा पढिरहन पट्यार लाग्दैन । क्लिष्ट शब्दहरुलाई प्रवेश निषेध गरिएको छ जसले गर्दा हामी जस्ता भर्खरै बामे सर्न खोज्दै गरेका पाठकहरुलाई वाक्यांशहरुले बोल्न खोजेको भाव बुझ्न खासै कठिन पर्दैन । डा. गोविन्दराज भट्टराई कै शब्दमा भन्नुपर्दा - लेखक नारिप्रती अत्यन्तै संविदनशिल हुनुहुन्छ । एउटा शिक्षित व्यक्तिले नारिप्रती जती संविदनशिल हुनुपर्छ त्यती नै उदारता र स्नेह प्रकट गर्नुभएको छ । साथै, पुरुषको दम्भ, अहङ्कार, प्रेम, सद्भाव, सबै पक्ष छर्लङ्ग पारेर विभिन्न कथाले प्रस्ट्याएका छन् । हरेकजसो कथामा सफल नारी पात्र उपस्थित छन् । यस कथा सङ्ग्रह 'ईन्द्रमायाको देशमा' मा नारी स्वतन्त्रताको खोजी र आत्मनिर्माणको अद्धितिय शक्ती प्रकट गरिएको छ ।

परिवर्तन एक्कासी हुँदैन । समयसँगै विस्तारै हुँदै जान्छ । जस्तो कि २१औं शताब्दिमा तत्कालै परिवर्तन खोजिएको जातभातको कुरा । यो कुरा पछिल्लो पुस्ताले अबलम्बन गरेता पनि हाम्रा बुवाआमा तथा हजुरबुवा हजुराआमा को पुस्तालाई पाच्य हुँदैन । उँहाहरुको मानसिकताले आफुभन्दा तल्लो जातको मान्छेलाई घरभित्र पस्न, उनिहरुले छोएको खाना खान स्विकृती दिदैन । यो सत्य हो ।
घर बाहिर छोइछिटो नरहे पनि संघारभित्र सबै समावेशी एकाएक हुनै सक्दैन । यस विषयमा विचार बदलिएता पनि व्यबहार बदलिन समय त लाग्छ नै । जब मैले 'रुपान्तरण' शिर्षकको कथा पढे तब चरम सन्तुष्टिको आभाष भयो मलाई । त्यसपछी लेखक सफल भएको महसुस भयो । यस कथाकी 'म' पात्र कथाको सुरुवातमा भान्सामा छिर्न पाएकी छैनन् । उनले पकाएको भात वस्तुलाई दिइएको छ । कथा अगाडी बढ्दै जादा विस्तारै समय पनि बद्लिदै गएको छ र कथाको अन्त्यसम्म पुग्दा म पात्रले रसाएका आँखाले भात पकाउने कसौडी खोजिरहेकी छन् भन्साभित्र पुर्ण अनुमती साथ भित्रीएर ।

हो, परिवर्तन यसैगरी हुन्छ । विस्तारै हुन्छ । बस् समयलाई धैर्य गर्न सक्ने क्षमता हुनुपर्छ । यो कथा पढ्दै गर्दा जि.के. पोख्रेल सरले भन्नुभएको एक लाईन सम्झिए मैले - कथा, उपन्यास, निबन्ध जुनकुनै विधा होस् उठान अलिकती आकर्षित हुनुपर्छ, बिचमा अक्रम बक्रम जे मिसाए पनि हुन्छ तर अन्त्यमा लेखनले पञ्च दिनैपर्छ । हो, त्यो हो सफल लेख । यस, कथामा त्यही पञ्च भेटे मैले जुन पञ्चले हामीलाई आकर्षित, अचम्भित र सन्तुष्टी पार्छ ।

२१औं शताब्दिका व्यस्त मान्छेहरुलाई हानिएको झटारो 'हतारमा' कथा निकै सान्दर्भिक छ, विल्कुलै फरक धारमा लेखिएको 'दर्पदमन' कथा निकै रोचक छ भने गरीबको सपनाहरु कसरी सजिन्छन् आँखामा र कसरी बिलाउछन् त्यही आँखाको नानिबाट भन्ने भाव प्रस्तुत गरी लेखिएको कथा 'उसले फेरी एउटा सपना बुन्नु छ' ले जो कोहिको पनि हृदय चसक्क पार्छ ।

सबल र दुर्बल पक्ष हरेक व्यक्तिमा पनि हुन्छन् र लेखनमा पनि हुन्छन् । उसै झै केहि त्रुटिहरु यस कथा सङ्ग्रहमा पनि भेटिएका छन् । जस्तो कि केहि कथाहरुको अन्त्य एउटाै छ । मानौ, अन्तिम बिन्दु त्यो भन्दा अरु केहि पनि हुनै सक्दैन भने जसरि मुख्य पात्रको आँखा रसाएर कथाको अन्त्य भएको छ । सलल बग्दै गएको कथालाई अचानक अन्त्यतिर धकेलिएको छ मानौ, निकै हतार छ लेखकलाई र कथाको बिट मारेर निस्कनु छ कुनै सफरमा, झट्टै । किन यती कन्जुस्याई पात्रहरुको नामाकरणमा ? एउटै नाम भिन्न भिन्न कथाहरुमा ? अनि कथाहरु पढ्दै जादा कथाकार स्वयंम् को अनुभुती पढेको जस्तो आभाष भयो अधिकांश ठाउँहरुमा । अनुभुतिहरुलाई कथाको रुपमा ढालिदिनु कथाकारको बठ्याइ भएता पनि केबल अनुभुतीहरुलाई संस्मरणका रुपमा अभिव्यक्त गर्नु बढी न्यायोचित हुन्छ होला भन्ने मेरो बुझाई रह्यो ।



अन्त्यमा, सभ्य र सुललित तर हठी स्वभावलाई एल.बि. स्टाइल भन्न रुचाउछु म । जुन स्टाइल यहाँका कथाहरुमा पनि समावेश भएका छन् । कथाकार हरेक कथामा इमान्दार देखिनुभएको छ । नारिप्रतिको सम्मानभाव छर्लङ्ग उतार्नु भएको छ । उसो त कथामा मात्र होइन कथा बाहिरको संसारमा पनि उस्तै गरी नारी सम्मान प्रकट गर्नुहुन्छ उहाँ । उहाँको हृदयमा भएको त्यो नारी सम्मानभावको खातिर स-हृदय नमन अनि कृती सफलताको शुभकामना पनि ।