Wednesday, July 31, 2013

९. छिट्टै फर्कने छु म…..!!

अहो !!
कस्तो सपना देखे हिजो …….!!
सिउँदोमा सिन्दुर थियो तिम्रो
छिन् छिन् चुरा बजेका थिए
छम् छम् पाउजु बजेका थिए
अनी रातो गुन्यो चोलिमा सजिएकी थियौ तिमी
आमा, कतै अनर्थ त हुने होइन ??

म डराइरहेछु
सपनी मै चिच्याइरहेछु
आज फेरी अमलाको रुख ढलेको देखे मैले
आमा, तिमीलाई दमले त समातेको छैन नि है ??


यदी त्यो दिन नआइदिएको भए
यतिबेला तिम्रो काखमा नाती नातीना हुँदा हुन्
भाउजु भान्सामा हुदी हुन्
दाजु परदेशमा हुँदा हुन्
र बाबा गोठमा कुँडो,पानी गर्दै हुन्थे होलान्
अनी पिँडिबाटै मलाई अह्राउदी हौ तिमीले -
“कान्छी, एक डोको घास काटेर ल्या है …!!”


कस्तो बिडम्बना,
तिमीलाई ज्वरो आउँदा
पानी पट्टी लगाइदिन पाउदिन मैले
आफ्नै हातले ओखती ख्वाउन पाउदिन मैले
अनी पाउदिन मैले
आखाँको डिल नाघेर गहभरी झरेका
तिम्रा आशुका ढिका पुछिदिन
तर, आमा सुर्ता नगर्नु
म छिट्टै फर्कनेछु
यो उँटहरुको देशबाट
उपहारै उपहारले भरिएको
सुटकेश भिरेर हैन
तिम्रो दमको ओखती लिएर
हो आमा, तिम्रो दमको ओखती लिएर
छिट्टै फर्कने छु म…..!!




आख्यान - सकस



जगदिश घिमिरे र "सकस"
 उसो त २/४ शब्दहहरुको माध्यमबाट जगदिश घिमिरेको लेखन शक्तिलाई बयान गर्न त म सक्दिन तर पनि केबल घिमिरेको आख्यान कृती "सकस" माथी नितान्त व्यक्तिगत विचार अभिव्यक्त गर्न खोजिरहेकी छु यतिबेला ।


झट्ट हेर्दा जगदिश घिमिरेको पर्यावाची सकस र सकस को पर्यावाची जगदिश घिमिरे हुन कि जस्तो लाग्यो मलाई । "सकस" एउटा डायरी हो । शरदको डायरी । यस कृतिभित्र शरद र कुमारी ले मुख्य पात्रको भूमिका निर्वाह गरेका छन । यिनै दुइ पात्रको जिवनको रफ्तार सँग सँगै  लेखकका कलमहरु कुदेका छन ।

मुक्तक २४


तिम्रो तस्बिरले मेरो मन जितेको थाहै भएन
तस्बिर हेर्दा हेर्दै आधा रात बितेको थाहै भएन
प्रेमिल यादहरुले पनि सताइरहन्छन मलाई
कोल्टो फेर्दा फेर्दै सिरानी भिजेको थाहै भएन

गजल २३



किसानिकी छोरी हुँ किसान हुँ म
अधेरी हटाउने बिहान हुँ म

बाझो फोरेर अन्न झुलाउन सक्छु
माटोको लागी अमृत पान हुँ म

म रमाउँछु र त माटो मै खेल्छु
सधै लागिरहन्छ अन्जान हुँ म

मुठी रोपेर मुरी उब्जाउन सक्छु
खै, किन लाग्दैन बलवान हुँ म

उ भन्दै थियो-वाह जमुना तिमी
सोच्दैछु पुर्खाको स्वाभिमान हुँ म

८ . मान्छे


मान्छे हेरेर होइन भोगेर बाच्न सिक
मान्छे खुशीको आनन्द पलमा होइन
दु:खको आशु पिएर बाच्न सिक
मान्छे खुशीको आनन्द पलमा होइन
दु:खको आशु पिएर हेर त -
कैयौ मान्छेहरु कसरी छट्पटिदा रहेछन ……??

भोकले लल्याकलुलुक भएका हात खुट्टा
अनी, आहाराको खोजिमा
सडक-सडक र गल्ली-गल्ली
भौतारिएका भोका पेटहरु -
फुटपाथका प्लास्टिक टिपेर गुजारा गरिरहेछन् ।
राम्ररी नियाल्दै जाउ त –
एकमुठि स्वास घाटिमा राखेर
अर्धमृत अवस्थामा कसरी बाचिरहेछन मान्छे
मान्छे नामकै प्रजातिहरु ……. !!!!

दु:ख, दु:ख, दुख
खाली आफ्नो दु:खलाई पहाड ठान्ने मान्छेहरु
एकपटक त्रीशुली किनारमा पुगेर हेर त –
सुनौलो बिहानीको पर्खाइमा
टोलाईरहेका
आफ्ना दुइ आखाँबाट
तप्प तप्प मोतिका दाना खसालेर
भक्कानो छुटेको मन
र,
छुटेको आशु भेललाई
आफ्नै मनले बाँध लगायर
दु:खको सारङ्गी रेट्दै
बेदनाको गीत गुन्गुनाउँदै
जाडोले थरर काप्दै गरेका हातहरुले
ती बुढी हजुरआमाले
सुस्त सुस्त गिट्टी कुटिरहेकी छिन ।
मान्छे, के यही हो लोकतन्त्र ?
यही हो गणतन्त्र ?
ज्युदै मरेर बाच्नु पर्ने कस्तो शासन हो यो जिन्दगीको ?
मनभरी पिडा बोकेर हास्नु पर्ने
कस्तो लडाइ हो यो जिन्दगीको ?

छी ! सुन्दा पनि घिन लाग्ने
कस्तो कुकृतिमा हुर्कियछौ हगी हामी ….??
आखिर, तिमी पनि त
बुद्ध जन्मिएकै देशमा जन्मिएका थियौ नि होइन ?
यदी होइन भन्छौ भने
नानातरहका प्रमाण पेस गरि
नेपाली नागरिक बन्ने अधिकार छैन तिमीलाई
अह ! छैन ।
कदापी छैन ।

नेपाली तिमी जस्तो १२/२७ कुरौटे होईन ।
तिमी जस्तो विद्रोहि, हिंस्रक र मांसहारी होईन ।
अनी, तिमी जस्तो
आफ्नै परिवारका सदस्यको हत्या गरी
रगत चुसी मासु खाने पण्डित पनि होइन ।

नेपाली त बुद्धका अनुयायी हुन्
बुद्ध जस्तै शान्त रहन्छन्
सहिद जस्तै त्यागी हुन्छन्
तिमी त रावण रहेछौ
जो सुकै होस मार्न नडराउने दानव रहेछौ
यदी होइन भन्छौ भने
भर्खर बाहिर एक्लो सडकको सुनसान रातमा
त्यो निर्दोष बालकको घाटी निमोठ्ने तिमी नै थियौ
मान्छे तिमी नै थियौ ।
हो, मान्छे तिमी नै थियौ ।

रचनागर्व – २०६६/०९/१७

मुक्तक २३


हरपल तिम्रा यादहरु किन यसरि आइरहन्छन्
अटल, अनवरत, अबिरल जसरि आइरहन्छन्
मानौ, यो मुटुमा धड्किदिने धड्कन हौ तिमी
सोचिरहेछु मनदेखी मुटुसम्म कसरी आइरहन्छन्

मुक्तक २२

Add caption

थाहा छैन मलाई मात्र हो कि अरुलाई पनि यस्तो हुन्छ
उसैको तस्बिर आखाँ अगाडी राखेर हेरिरहुँ जस्तो हुन्छ
मायामा तड्पिनुको पनि मज्जा छुट्टै हुदो रहेछ साथी

उ रिसाउदा दिन खल्लो हुन्छ मनै कस्तो कस्तो हुन्छ

Monday, July 29, 2013

कार्यक्रम गजलका थुँगाहरु~१०


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन दृष्टि पौडेलको परिकल्पनामा 
नमस्कार साथीहरु, आज मिति २०७०।4।15 गते हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित फुच्ची जमुना  हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Download Here

Thursday, July 4, 2013

उपन्यास - ताप


"ताप" माथीको मेरो पाठकिए विचार :-

उसो त बौद्द धर्म सम्बन्धी खासै ज्ञान नभएर पनि हुन सक्छ शुभारम्भले उति सारो मन चुम्न सकेन मेरो । शब्दै-शब्दको जंगलको बिच भागमा पुगेपछी निकै निस्सासिए । अनकन्टार जंगलको बिचमै अलमल्ल परे, न बाहिर निस्कन सक्छु न त अघी बढ्न नै । जे होस अगाडी बढ्दै जादा उति नै मर्मस्पर्शी लाग्यो ।



 युद्दकालको समयको उठान बेजोड लाग्यो । चन्द्रीकाले कोलम्बोमा पराशर लाई लेखेको चिठ्ठी अझ मनमोहक लाग्यो मलाई अनि पत्र पढ्दै जादा कता कता गर्व बोध भयो अनि ढक्क छाती फुलेर आयो मेरो । लेखनशैली अत्यन्तै उत्कृष्ट लाग्यो तर पनि कही कतै प्रसंगहरु अलमलिएका छन । जुन कुराको उपन्यास प्रती गुनासो रह्यो मेरो । जस्तै कि :
• सेनाद्वारा जवानी लुटियकी सुजाता जंगलको बिचमा अचेत अवस्थामा थिइ । अचेत अवस्थाकी सुजातालाई आनी सुलक्षणाले कसरी भेटिन अर्थात आनी सुलक्षणासँग सुजाताको भेट कसरी भयो ?
• आफुलाई जन्मदिने बाबुको अनुहार तस्बिरमा समेत देख्न नपाएकी सुजाताले उपन्यासको अन्त्यसम्ममा पनि बाबुलाई चिन्ने कुनै आधार भेटेकी छैन न त कुनै खबर नै पाएकी छ ।
• युद्द कालको समयमा सुजातासँग शहर छिरेकी चम्पा चन्द्रीकाले घर छाडेपछी बेखबर बनेकी छ ।
• प्रभाकर साच्चै मर्यो कि ज्युदै छ ? नेपाल मै छ कि बाहिर ?

तर शारदा शर्माका कलमहरु एकनासले बगेका छन कही कतै चिप्लिएका छैनन । यो बेजोड प्रस्तुतिको लागी शारदा शर्मा प्रती मुहारपुस्तिका बाटै नमन चढाए मैले ।

उपन्यास - लु

नयन राज पाण्डे को "लु" माथि पाठकिय विचार :-

पछिल्लो समयमा उपन्यासहरु पढ्ने निकै जोस चलेको छ मलाई । यही जोसलाई थाती राख्दै जादा "लु" को पालो आयो ।
पढिसकेपछि, आजसम्म पढेका उपन्यासहरु भन्दा बिल्कुलै भिन्न पाए मैले । लेखनशैलिले खुब मोहित पार्यो मलाई । कलीउडका फिलिमहरुमा सुरुको ५/७ मिनेट जतिको सो हेरेपछी लगभग फिलिमको कथावस्तु अनुमान लागाउन सकिन्छ । ठिक त्यस्तै - त्यस्तै थिए मैले “लु” भन्दा अगावै पढेका उपन्यासहरु पनि तर यस "लु" ले कलीउडका फिलिमहरुमा जसरि कथावस्तुको अड्कल काट्ने ठाउँ कही पनि दिएन । बहुत मजबुत लाग्यो यो पक्ष तर पात्रहरुमा अलिकती डरको भावना पैदा भयपछी - 'कट्टुमा तुरुरु पार्यो र कट्टु लुछुप्पै भिजायो' भन्ने वाक्य चाही लेखकको थेगो जस्तै देखियको छ र पात्रहरुको सम्वाद पढ्दै जादा यही वाक्य चाही सहजै अनुमान गर्न सकिन्छ अनि अब यो पात्रको कृया यही हुन्छ भनेर आखाँ चिम्लेर पत्ता लगाउन सकिन्छ ।


उपन्यासमा पात्रहरुको आगमन सजिलै हुन्छ तर उक्त पात्रहरुले आ-आफ्नो भूमिका पुर्णत: निर्वाह नगरिकन बिचबाटै विलिन हुने प्रकृयाले गर्दा प्राय: उपन्यासहरु खल्ला हुने गर्दछन तर यस उपन्यासमा पात्रहरुको आगमन र पत्यागमन पनि उत्तिकै आकर्षक छ । आ-आफ्नो भूमिका निर्वाह गर्दा गर्दै कुनै पनि पात्र पलायन भएका छैनन । जसरि भितृएका थिय उसरी नै सुचना सम्प्रेसण गरेर नै बाहिरियका छन । यस मानेमा पात्रहरुले लेखकलाई भरपुर मद्दत गरेका छन तर उपन्यासका केहि प्रसंग हरुले नाटकिय शैली प्रस्तुत गरेका छन । जस्तो कि :- आफ्नि माइ र वापलाई फिटिक्कै नटेर्ने र वास्तै नगर्ने ( मायाको त कुरा परै रह्यो ) इलैयाले एउटा सिनेमाबाट प्रभावित भएर आफ्नि माइलाई अथाहा प्यार गर्नु अनि आफ्नो प्यार सबित गर्नको लागी माइलाई कुमकुमको टिका लिएर घर आइपुग्दा माइको मृत्यु हुनु, रेडियोलाल र कविताको लोग्ने स्वास्नी बिचमा भएको चटके माया-पिरति, इलैयाको मनमा नुसरत प्रती एकाएक झांगिएको एकोहोरो प्रेम र शिवकुमारिको चर्तिकला ……..आदी ।
अन्त्यमा, उपन्यासलाई बिट मार्ने सिलसिलामा टुटे पण्डितले लेखकलाई लेखेको चिठ्ठिले निकै ठुलो भूमिका खेलेको छ । जसले उपन्यासलाई थप रोचक बनाइदियको छ, आकर्षक शैलिमा ढालिदियको छ र पात्रहरुले लेखकलाई खबर गरेर नै आफ्नो भूमिकाबाट बाहिरिने नियमलाई पालना गर्दै कुन पात्र कस्तो अवस्थामा कहाँ छ ? के गर्दै छ ? भन्ने जानकारी पनि गराइदियको छ साथै अझ मिठास भर्ने काम पनि गरेको छ ।
समग्रमा भन्नुपर्दा Nayan Raj Pandey को "लु" उपन्यास बिल्कुलै फरक स्वादको पाए मैले र उत्तिकै स्वादिष्ट पनि ।
 

Tuesday, July 2, 2013

गजलका थुँगाहरु~9

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने

कार्यक्रम:- "गजलका थुँगाहरु~9" 
अर्जुन पौडेलको परिकल्पनामा 
मितिः– 2070।3।3 Monday   
नमस्कार साथीहरु, आज मिति २०७०।3।3 गते सोमवार हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित रामकृष्ण पौडेल अनायास र फुच्ची जमुना  हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
आवश्यक भागहरुलाई क्लिक गरी सुन्न सकिनेछ 
Download Here Episode~9