“मलाया
एक्सप्रेस” माथी मेरो पाठकिय विचार
साच्चै जिन्दगी अफसोच हो । जहाँ सोच्दै नसोचेका
घटनाहरु घटिदिन्छन । जुन समयको समयको कलपना नै गरिएको हुँदैन त्यही समयले निम्त्याउछ
अपत्यारिला घटनाहरु र हामी हिडिरहनु पर्ने हुन्छ त्यही बाटो हुँदै । खण्ड - खण्ड गरी
जम्माजम्मी ३२ वटा खण्डमा उपन्यास टुङ्याइएको छ । प्रत्यक खण्डहरु उत्तिकै चाखलाग्दा छन, उत्तिक्कै मिठा छन,
उत्तिकै स्वादिला छन र छन पाठकको मन जित्न सफल पनि । जितबहादुर, प्रिया र आमा भगवतीको
समग्र जिवनमा आइपरेका उतारचढावमा केन्द्रीत छ 'मलाया एक्सप्रेस' । जितबहादुर जसरि युद्धमा
होमिएर रित्तो हात फर्कने युवाहरु कैयौ छ । ति गनी साध्य छैनन । जितबहादुरले जसरि बिनाकसुर
सजाए भोग्ने हरुको जमात पनि उत्तिकै छन । हितबहादुरले जसरि अनाहकमा युद्धको सिकार बनेका
कैयौ छन । हितबहादुर जसरि नै मृत्युमा परेका कैयौ युवाहरु वेवारिसे र पत्ता लाग्न नसकेका,
वेपत्ता परिएका लासहरु उसैगरी अनगिन्ती छन । कती लासहरु जंगली जनावरका आहारा बने होलान्,
कती यसै कुहिएर गए होलान्, कती मुख्य समाचार बनेर फुकिए होलान अनि कती लासहरु लडाकु
मारिएको प्रमुख समाचार बनेर छापिए होलान । जमुना जस्तै कैयौ बहिनिहरु/छोरिहरु युद्धको
सिकार बनेका छन र घर परिवार प्रत्यक्षदर्शी । जनयुद्धको समयमा त्यस्ता घटनाहरु कती
भए कती । जितबहादुरको जिवनमा घटेको भन्दा पनि कैयौ गुणाले बढी कारुणिक घटनाहरु घटेका
छन त्यतिबेला । ति घटनाहरुको अगाडी जितबहादुरको जिवनमा युद्धकालले घटाएको घटना सामान्य
हो तर यस उपन्यासमा यही घटना नै काफी सम्झन्छु म ।
बिहे गर्ने भनेको नै भरभराउदो बैसमा हो । फेरी
विदेश पलायन हुने र केहि रुपैयाँ / पैसा जोड्ने भनेको पनि यही उमेरमा हो । बैस र विदेश
दुबैको सिकार बनेका छन यहाँ जितबहादुर र प्रिया अनि प्रत्यक्षदर्शी बनेकी छन आमा भगवती
। साच्चै, नै प्रिया र जितबहादुरको बिचमा ५ वर्षको अवधिमा जे जस्ता घटनाहरु घटेका छन
ति सबै वर्तमान समयको यथार्थ चित्रण हो जस्तो मलाई लाग्छ । बिशेष गरी जनयुद्धले पारेको
असर, परदेशिनुको बाध्यता र विदेशिदाका खराब परिणामहरु सबैलाई समेटेर तयार पारिएको उपन्यास
निकै नै समय सापेक्ष लाग्यो मलाई । उपन्यासले जुन भाव बोकेको छ त्यो निकै उच्च छ तर
उपन्यास लेख्दै जादा कही कतै लेखक चिप्लिएको महसुस गरे मैले । लेख्दाखेरी जानी जानी
चिप्लिने स्वभाव पनि लेखकहरुमा नभएको होइन तर सबै चिप्लाईहरु मिठा र सुन्दर चिप्लाई
नहुँदा रहेछन । कुनै कुनै चिप्लाईले लेखनीलाई केहि हलुका बनाइदिएको हुन्छ तसर्थ पनि
सानो देखी सानो कुरामा पनि ध्यान पुर्याउनु जरुरी सम्झन्छु म । सुन्दरतामा रस थप्ने
बहानामा यस एक्सप्रेसमा पनि एकादुइ ठाउँमा लेखक चिप्लिएका छन । जुन चिप्लाई अल्ली भद्दा
देखिएको छ ।
हुन त यात्रामा निस्कदा कहाँसम्म पुग्ने हो भनेर
पहिले नै तय गरेर निस्कियो भने यात्रा गन्तव्यपुर्ण हुनसक्छ तर लेखनिमा गरिने यात्राको
बिन्दु गोप्य नै राखियो भने मिठो हुन्छ । थप रोचक हुन्छ । अन्यथा एक्सप्रेस भनेर तय
गरिएको यात्रा साझा बसको यात्रा झै हुन कत्ती बेर लाग्दैन ।
जनयुद्धको कथाले बोकेको पिडा निकै मर्म स्पर्शी
छ अनि उस्तै मर्म स्पर्शी छ प्रियाले जितबहादुरलाई लेखेको इमेल पनि । परदेसिनुको बाध्यता
आफ्नै ठाउँमा छदै छ तर उसै गरी परदेशिता आइपर्ने समस्याहरु झन दु:खदायी र कारुणिक हुन्छन
। जुन समस्याहरु एक्सप्रेसबाट नै थाहा पाउन सकिन्छ । जितबहादुरले विदेशमा भोगेको पिडा
र मुग्लान पस्दा आइपर्ने समस्याहरु वर्तमान समयलाई जस्ताको त्यस्तै उतारेको भान हुन्छ
जो कोहिलाई पनि ।
जुन घटनाले मन छुन्छ ति घटना नै बढी लोकप्रिय
मानिन्छन । यदी कोही कसैको जिवनमा मेल खान गएमा त्यो संयोग मात्र हुनेछ अन्यथा उपन्यासको
एउटा खण्ड मात्र । मलाई गर्व छ - जितबहादुरले उता परदेशमा भोगेको पिडा र यता प्रियासँग
भएको घटनाले हरेक नेपालिको मन छुनेछ ।
जे होस मलाया एक्सप्रसको यात्रा निकै आरामदायी
लाग्यो मलाई । निकै मज्जाले यात्रा गराउन सफल भएका छन लेखक । यात्रा गर्दै जादा बाटोघाटोमा
खाल्टाखुल्टी देखिनु ठुलो कुरा होइन । ठुलो कुरा त गाडिको कन्डिसन हो तसर्थ पनि मलाई
लाग्यो - मलाया एक्सप्रेसको कन्डिसन एकदमै ठीक छ । अर्थात मलाया एक्सप्रेसको कन्डिसन
सही छ । त्यसकारण मलाई पुरा विस्वास छ - मलाया एक्सप्रेसले अखण्ड भण्डारिलाई गन्तव्य
सम्म सजिलै पुर्याउनेछ । मेरो अपेक्षा साथै कृतिको सफलताको लागी शुभकामना पनि ।