Tuesday, October 8, 2013

कवितासंग्रह - अक्षरहरुको रङ



“अक्षरहरुको रङ” भित्र शेखर विकल्पको आकृति

कतै प्रेम दुखेको छ, कतै देश दुखेको छ । त्यो दुखाई सँगै आफ्ना आमा र बाबाको पनि मन दुखेको छ भने कतै प्रेम मुसुक्क मुस्काएको छ गुलाबी अधर बोकेर । यसरि नै दुखाई र मुस्कानहरुले सजिएको अक्षर - अक्षरको इन्द्रेणी हो -  “अक्षरहरुको रङ” ।

 
क्रमांकमानुसार ३६ वटा कविता समावेश गरिएको भएता पनि खासमा यस कृतीभित्र जम्माजम्मी ३७ वटा कविताहरु समाबिष्ट छन । हरेक कविताहरुले हृदयको भित्री गहिराईसम्म छुन सफल छन । यस मानेमा पनि "अक्षरहरुको रङ" एक सफल कृतीको सम्भावना बोकेर उभिएको छ - भन्ने मलाई लाग्छ अर्थात अक्षरहरुको रङ + सफल कृती = सफल लेखक (शेखर विकल्प)
कवितामा कविले आफ्ना बा लाई यसरि प्रश्न गर्दैछन -
नमिठो गरी भन्दैछन गाउँलेहरु -
छोरा रहरले जन्मिन्छन - छोरी बध्यताले
बा, तिम्रा कविता छोरा कि छोरी ?
  
यस्तै यस्तै अझ सुन्दर बिम्बहरुको प्रयोग सहित कविताहरु सुसज्जित छन । बिम्बले कवितालाई सुन्दरतामा रस र सुगन्ध दुबै भर्ने काम गर्छ । तसर्थ पनि कविताहरु स्वादिला छन । सबै उस्तै स्वादिला । चाखिरहुँ झै लाग्ने ।
वनमा डडेलो लागेको सबैले देख्छन मनमा डडेलो लागेको कसले पो देख्दो रहेछ र ? वनको डडेलो निभाउन सबै दगुर्छन कसले निभाइदिन्छ र मनमा लागेको डडेलो ? यसरि नै गरीबिको  क्रन्दनहरु मिसिएको कविता "आगोको हुरि" ले पाठकहरुलाई सजिलै आकर्षित गर्न सक्छ । उसो त युद्धले कहिल्यै नमेटिने गरी छातीमा लागाएको गहिरो खत कवितामा नमुछिएको होइन तर पनि राजधानिको सम्पुर्ण वस्तुस्थितिलाई उतारिएको कविता "काठमाण्डु" अझ मनमोहक लाग्यो मलाई ।
लेख्दै जादा कवी कही कतै चिप्लिएका छैनन । एकनासले सलल बग्न सफल भएका छन उनि । त्यसरि नै सलल बगेका छन नारी सम्मानप्रती पनि उनका केहि कविताहरु । "फूल अर्थात नारी " कविता शिर्षकलाई आधार बनाएर कोरिएको नारीप्रती समर्पित  शब्दहरुको लागी कविका कविताहरुलाई स - हृदय स - सम्मान सलाम चडाए मैले यही मुहारपुस्तिकाबाट नै ।
अन्य शिर्षकलाई प्राथमिकता  दिदा दिदै आफ्नि प्रियतमालाई सम्झन २७औँ नम्बरमा पुगेका छन कवी । "प्रियतमाको नाममा - यौटा कविता" बाट यसो भन्दैछन उनि आफ्नि प्रियालाई -
हुलाकी दाईले अस्ती मात्रै पत्र थमाएथे,
लेख्दै थिइन प्रियतमा - निष्ठुरी ,
माया भन्ने त थोपो छैन है तिम्लाई !
माया नै नभएको त कोही मान्छे होला र ?
के जवाफ दिउँ म खै !
कुन विस्वास खोपेर प्यारमा
सपना , आस्वासन या विवसता ?
जुन लेखले पाठकलाई  आकर्षित गर्न सक्छ , आफ्ना शब्द र अक्षरहरुभित्र पाठकलाई हराउन/भुलाउन सक्छ र आनन्द दिन सक्छ त्यो लेखले मात्र पाठकको मनमा ठाउँ पाउँनेछ । लेखक शेखर विकल्प ले पनि पाठकलाई मज्जाले तानेका छन आफ्ना कविताहरुमा । "अक्षरहरुको रङ" हात परेपछी एकै घुट्कोमा सिनित्तै पार्नेछन जो कोही पाठकले पनि - मलाई गर्व छ यहाँनिर । खल्ला/ भाव बिहिन र बेरङ्गिन कविताहरुले ठाउँ नपाएको हुँदा कृतिले युवा पुस्तादेखी बुढी हजुरआमा र बुढा हजुरबुवाको पनि मन जित्न सफल हुनेछ र सफल होओस मेरो कामना साथै कृतिको सफलताको शुभकामना पनि ।