“याम्बुरी बुक प्वाइन्ट” ले ०७१ बैशाख महिनामा मात्र बजारमा ल्याएको कबितासङ्ग्रह “च्याउको जङ्गल” मा केन्दृत रहेर केहि कुरा लेख्न खोजिरहेछु म यतिबेला ।
यस कवितासङ्ग्रहमा समावेशी छुट्टाछुट्टै शिर्षकका ५४ वटा कवितालाई ६ वटा खण्डमा विभाजन गरिएको छ । सबै खण्ड र खण्डभित्रका सबै कविताहरुले शिर्षकले दिन खोजेको भावलाई उजागर गरेका छन् । यस मानेमा कविताहरु अनुशासित सावित भएका छन् ।
पहिलो खण्ड 'त्यो आइमाई' भित्र जम्माजम्मी १० वटा कविताहरुले ठाउँ पाएका छन् । जहाँ महिलालाई मुख्य पात्रका रुपमा उभ्यायर कविताहरुले भावलाई मञ्चन गरेका छन् । 'डम्बरिको देश' नामक कविताले अझ आकर्षित गर्यो मलाई । जुन कविताको उठान यसरि भएको छ -
“यस धरतिको सबैभन्दा महङ्गो बजारमा
तिम्रो देशसँगै बिक्री हुन्छ तिम्रो गरीबि !”
कविताका यि दुई हरफले नै बोलिदिएका छन् मुल कविताको आशय । हो कवितामा भनिय झै फुटेको कमाण्डलु जस्तै गरी महङ्गो बजारको भिडमा आफुलाई अत्यन्तै सस्तो मुल्यमा बिक्री हुन बाध्य छौ हामी नेपाली । न हाम्रो श्रमको उचित मुल्य छ न पसिनाको सम्मान नै । छ त केबल सस्तोमा किन्ने र महङ्गोमा बेच्नेको होडबाजी मात्रै ।
दोस्रो खण्ड 'केटाकेटिहरु र हल्ला' भित्र ९ वटा कविताहरुले स्थान पाएका छन् । जहाँ केटाकेटिहरु नै नायक भएर उभिएका छन् र उनिहरुले नै मञ्चन गरेका छन् आ-आफ्ना शिर्षकका आ-आफ्ना भावहरु । यस खण्डभित्र 'हल्ला' 'पुतलिको सुहागरात' र 'फुलमतिको तकियामुनि' शिर्षकका कविताहरु अझ अब्बल लाग्यो मलाई ।
रुखमा घर बनाउने चराचुरुङ्गी , किराकिरी , थकान मेट्ने अनाम मान्छेहरु , सँगै रात काट्ने प्रियजनहरु देखी लियर असामयिक रुपमा हुने सडक दुर्घटनाद्वारा बोटबिरुवाहरुलाई पर्ने धक्काहरु माथी ओझिलो व्यङ्ग्य प्रहार भएका कविताहरु समावेश गरिएको 'रुखबाबाका साथिहरु' नामक तेस्रो खण्डले रुखबाबाका बेदनाहरुलाई हु-बहु उतार्न सफल भएको छ ।
"चेरिफूलका कलीला पत्र जस्ता
रहर लाग्दा शिशुका ओठहरुमा
सङ्गितको कुनै सिम्फोनी हुनेछैन् !
र घाम मध्य दिनमै झ्वाप्प निभ्नेछ !"
'अध्यारोको गित' शिर्षकको चौथो खण्डको भावलाई प्रष्ट पार्न यिनै र यत्ती नै शब्दहरु नै काफी सम्झन्छु म । जुन खण्डमा ९ वटा कविताहरु समावेशी छन् र सबै कविताहरुले निस्फिक्री बोलेका छन् शिर्षकभित्रका कथा, व्यथा र पिडाहरुलाई । अनि उसैगरी बोलिदिएका छन् अध्यारोभित्र लुकेको जिन्दगी र जिन्दगीभित्रको अध्यारो पनि ।
पाचौ खण्ड र छैटौ खण्डले देशको राजनैतिक अवस्थालाई व्यङ्ग्य गरेका छन् । 'राज्यको अनुहार' र 'फेरी राज्यको अनुहार' नामाकरण गरिएको यि दुई खण्डमा जम्माजम्मी १७ वटा कविताहरु अटाएका छन् । जहाँ देश, जनता, नेता देखी लियर माओवादिको जनयुद्धलाई पनि घोचपेच गर्न पछी परेका छैनन् कविताहरु ।
"सुनको मस्तिष्क
र हिराका हातहरुले लेखिएको
तिम्रो इतिहासको अन्तिम डिलमा उभिएर
म यो देशको एउटा अज्ञात सहिद
फेरी यही देशमा
आफ्नो रगतको मुल्य हराउन आएको छु !
पेट्रोल सकियो भने रगत बाल !
म बेहिसाब रगत बिक्री गर्न आएको छु !!!”
'म अज्ञात सहिद आएको छु' शिर्षकको कविताका यि हरफहरु पढिरहदा मुटु कापे झै भयो अनि हल्लिए झै भयो आफ्नै माथिङ्गलका रेसाहरु । जब मैले 'च्याउको जङ्गल' शिर्षकको कविता सर्सर्ती पढे तब टक्क अडिए म या अडियो मेरो मन ? तर साबिक भन्दा बेजोडले धड्किरह्यो मुटुको धड्कन ।
"के थाहा तिमीहरुलाई -
म किन निदाउन सक्दिन रातभरी ?
युद्धमा मरेका केटाकेटिहरु
उखुको राइफल बोकेर लखेट्छन् मलाई
म तिम्रो तस्बिर पछाडी लुकेर सास फेर्छु !
तरबारमा झुण्डिएका टाउकाहरु
गित गाउँदै लखेट्छन् मलाई !
खरानिबाट उठेर क्षतविक्षत कङ्कालहरु
आफ्नो जिवनको मुल्य माग्दै लखेट्छन् मलाई !
म झण्डाले मुख छोपेर आशु पुस्छु !”
सबै कविताहरु रसबरि खाए जस्ता गुलिया छन् मिठा छन् । एकनासले सलल बगेका छन् र कही कतै बाटो छोडेर हिडेका छैनन् भावहरु । जती पढ्यो उति पढिरहु लाग्ने बनाउने मोहनिवाली छन् कविताहरु । अनि जादुयी पनि छन् - पाठकलाई आफुतिर तानिरहन खुब सिपालु छन् ।
आमा दुखेकी छन्, दिदी बहिनिहरु दुखेका छन्, दाजुभाइहरु दुखेका छन्, साना साना कलीला नानिबाबुहरु बुर्कुसी मारेका छन्, देशको भविष्यको लागी आफुलाई आहुती दिएका सहिदहरु दु:खेका छन् र समग्रमा सिंगो देश नै दु:खेको छ तर तिनै दु:खहरुको माझमा फूल्न सकेका छैनन् सुखका कविताहरु, हासो र खुशीका कविताहरु, अनि उज्यालो भविष्य सिञ्चिएर अघी बढेका कैयन नेपालिका उज्याला कविताहरु । जिवन मात्र होईन् सिंगो ब्रह्माण्ड नै प्रेमको जालोमा अल्झिएको छ तर कवी 'विप्लव ढकाल' ले कविताको यस जङ्गलमा तिनै प्रेमिल कविताहरुलाई तारबार गरेर पस्नै दिनुभएनछ । अध्यारै अध्यारो र निस्सारताको माझमा केहि उज्याला र सुनौला कविताहरुलाई पनि केहि ठाउँ दिन दिन पाएको भए जङ्गल जङ्गल नभएर बगैचा हुने थियो भन्ने मलाई भान पर्यो ।