Wednesday, November 5, 2014

२१. कविता : अस्तित्वको खोजि


हामी आफै ठगिएका होइनौ
'ठग' भनिनेहरुले ठगेका हुन् हामिलाई
म ति 'ठग' हरुलाई
कठ्घरामा उभ्याउन चाहान्छु
र, दिलाउन चाहान्छु - कडा भन्दा कडा सजाए

सबै जमानाको कुरा गर्छन् यहाँ
आधुनिक जमानाले दिएको सहजताको कुरा गर्छन्
तर मलाई यो जमाना
फिटिक्कै मन परिरहेको छैन्

श्रीमान् जमाना आधुनिक आयो त
खै ! के दियो हामिलाई ?
न न्याय दियो
न अधिकार दियो
न दियो सुरक्षा कतै
झनझन त्रास थपिइरहेछ बरु -
बाबुद्वारा छोरी डराउनु पर्ने
दाजुद्वारा बहिनी जोगिनुपर्ने
अनि, सचेत रहनुपर्ने सधै ससुराद्वारा बुहारी पनि


श्रीमान् ति 'ठग' भनिनेहरुले
आधुनिकताको फाइदा उठाइरहेछन्
र नामेट पार्न खोजिरहेछन् हाम्रो अस्तित्व
यदी हैन भने -
धर्तिमा पाइला टेक्नु अगावै
किन मिल्काइदिन्छन् हामिलाई ?

म अचम्म परिरहेछु
र चुपचाप हेरिरहेछु - यि 'ठग' हरुको नौटंकि
अनी मनमनै सोचिरहेछु -
हेरौला म पनि, हामी नभै कसरी चल्दो रहेछ यो सृष्टी ?

श्रीमान् ध्यान पुगोस् ति बस्तीहरुमा
जहाँ आधुनिकताको पहुँच छैन्
हो त्यही जन्मिन्छौ हामी
यदी पहुँच हुदो हो त
पक्का पनि मिल्काइदिने थिए हामिलाई
आमाको गर्वबाटै
त्यसपछि,
न टेक्न पाउने थियौ हामिले यो धर्ति
न देख्न पाउने थियौ यो रमिता पनि

बिडम्बना, त्यहाँ पनि पुग्छन् ति 'ठग' हरु
र, कागती निचोरे झै निचोर्छन् हामिलाई
पुरुषवादी समाजको झोली भिराएर
आफ्ना पैतालामुनी दबाउँछन् हामिलाई
अनि, बनाई छाड्छन् हामिलाई
वंश चलाउने मेसिन पनि
हामिले चुपचाप चुपचाप
बिना प्रतिकार - भने जसै गरिरहनुपर्छ

जसले हाम्रै जन्म स्विकार गर्दैन्
त्यही आधुनिकता किन चाहियो हामिलाई ?

आधुनिक प्रविधी र जमानालाई निहुँ बनाएर
हाम्रै अस्तित्वमाथी धावा बोल्ने
अपराधिहरु 'ठग' हुन्

हो श्रीमान् कि त 'ठग' हरुलाई
कारबाही गरियोस्
हैन् भने लिङ्ग पहिचान गर्ने
आधुनिक प्रविधिको खारेज गरियोस्
यदी दुवै कार्यमा पाइला चालिदैन भने
हामी आफै गर्छौ जे गर्नुपर्छ
तर बिन्ती श्रीमान्
कानुनको आँखामा पट्टी बाधियोस्
र, केहि नदेखिएको नाटक गरियोस्
हो श्रीमान् हामी आफै गर्छौ जे गर्नुपर्छ

रचनागर्व - १८ कार्तिक २०७१
सेतोपाटी डट कम मा प्रकाशित
प्रकाशित मिति: बिहीबार, चैत्र २६, २०७१
अस्तित्वको खोजि