Wednesday, November 5, 2014

२२. कविता : हामी छोरी


उफ् हामी छोरि
फगत जन्मिए झै लाग्छ
र लाग्छ - पुरुषवादिको प्यास मेटाउन जन्मिएका हौ हामि
यदी होइन भने किन लादिन्छन् -
उनिहरुको आदेश हामी माथि
उनिहरुको इच्छा हामी माथि
अनी उनिहरुकै मनपरी हामीमाथी
चुपचाप सहनु पर्ने रे हामि
प्रतिवाद गरे - पोथी बासेको सुहाउदैन् भन्छन्

हामी रहरले होइन बाध्यताले जान्मिन्छौ
आमा बाको शिरमा पिरको भारी बोकेर जन्मिन्छौ
अनी जन्मिन्छौ पराइ घरको वंश चलाउने दायित्व बोकेर

भित्र “‘च्या च्या” मैले पहिलो आवाज निकाल्दा
बाहिर पिडिमा बसेका बा’ले
पुर्पुरोमा हात लगाउछन्
र भन्छन् - पिरको भारी थपियो मेरो


हामिले सानैदेखी -
दैलोकुचो गर्न सिक्नुपर्छ
घासदाउरा गर्न सिक्नुपर्छ्
र सिक्नुपर्छ मेलापात गर्न

हामी आखाँ जुधाएर बोल्नु हुँदैन् कसैसँग
चर्को स्वरले बोल्नु हुँदैन कसैसँग
र बोल्नु हुँदैन् अरुसामु जानेको कुरा अघी सरेर पनि

हामी त फूल हौ
फकृन पाउनुपर्छ खुला बगैचामा
तर यहाँ त कैद गरेर राखिन्छ
घरको सिमित घेराभित्र
र बन्धक बनाइन्छ पिंजडाको चरिलाई सरह

जुन उमेरमा भाडाकुटी खेल्न मन पराइन्छ्
भुर्र भुर्र पुतली झै उड्न मन पराइन्छ
र उडाउन मन लाग्छ घामकिरिहरु
त्यही उमेरमा कसरी थाहा हुन्छ -
पराइ घर के हो ?
पराइ मान्छे को हो ?
विहे भनेको के हो ?
सिन्दुर पोतेको अर्थ के हो ?
र कस्ता हुन्छन् पराइ गाउँका मान्छे ? भनेर

“रजस्वला नहुँदै छोरिलाई कन्यादान गर्‍यो भने
पुण्य कमाइन्छ - हजुर बा भन्दै हुनुहुन्थ्यो -
तेरी आमालाई पनि सात वर्षमा विहे गरेर ल्या’को
त पनि ठुली भइस अब,
पराइघर जानुपर्छ
पराइघर जाने दिन नया लुगा लगाउन पाइन्छ नि लाटी”

हामी फुरुक्क पर्यौ - नया लुगाको लागी ?
या त पराइ घर जानको लागी ?

आफुभन्दा पाँच गुणा माथिल्लो उमेरको मान्छे
भलै उमेरले बा भन्नुपर्ला ?
जसलाई पती भन्नुपर्ने
उसैको खुट्टा ढोग्नुपर्ने
कलेटी परेका औंलाहरुको पानी खानुपर्ने
त्यती मात्र कहाँ हो र ?
सबेरै उठेर लिपपोत गर्नुपर्ने
घरधन्दा सम्हाल्नुपर्ने
गोबरसोत्तर भ्याउनपर्ने
अनी, रिझाउनुपर्ने सासुससुरा पनि

छोराहरुको जस्तो रहर छोरिहरुको पनि हुन्छ
हो फरक हुन्छ त केबल एउटा लिङ्ग फरक हुन्छ
आखिर, मन उस्तै हुन्छ, मुटु उस्तै हुन्छ
तर किन बुझ्दैनन् मान्छेहरु ?
या बुझेर पनि बुझपचाइरहेका छन् ?
छोराहरुले सरह
छोरिहरुले पनि पढ्न सक्छन्
पढेर ठुलो मान्छे बन्न सक्छन्
र गर्न सक्छन् भोलि
आमा बा’को सेवा पनि

एक्लो नितान्त एक्लो
अब केहि हुँदैन् हामीसँग
न बैस हुन्छ
न बैसको गीत हुन्छ
माथी माथी उड्ने
रहरका चङ्गाहरु चुडिइसकेका छन्
अब छन् त केबल्
दु:खका पहाडहरु छन्
अब ति पहाडहरु
न भत्किन्छन् आशुको भेलले
न नाघेर जान सकिन्छ
एक अर्काको सम्बन्धलाई इरेजरले मेटेर

वागमा फूल्न खोजेका कोपिलाहरु
कठै ! कसरी फक्रन्छन् र अब
वगानमा आगो लागेपछि
घामकिरी उडाउदै दौडिने हामिहरु
अहो ! कस्तो हुने हो अब
नखसेसी हाम्रै आखाँबाट
जिवनको उज्यालो