Saturday, December 26, 2015

कथा एउटा कुरूपताको

यो दुनियाँ साच्चै अजिव छ, उसैझै अजिव छन् मान्छेहरू पनि। कहिलेकाही आफ्नै मन पनि आफैंलाई अजिव लागिदिन्छ। सोचिदिन्छ - कास, मुहारको सुन्दरतामा मेडिकल ट्रीटमेन्टले निखार ल्याएझै मनको कुरूपतामा निखार ल्याउने कुनै वस्तु भैदिएको भए...!

एउटा प्रश्न - कुरुपता भन्नाले केलाई बुझ्नुहुन्छ तपाईं? तपाईँ मन मनमा गुन्दै गर्नुस् यसको उत्तर। अन्तिममा सोध्नेछु। अहिले भने म आफ्नै उत्तर कहन्छु। झर्को लाग्यो भने मलाई बिचमै रोक्नुहोला।

पश्चिम चितवनको राप्ती छेउछाउको बस्ती। चितवन राष्ट्रिय निकुञ्जले घेरिएको गाउँ। जहाँ दिनभरी ज्याला मजदुरी गरेर भरे पेट भने सर्वहारा वर्गको वर्चस्व छ। उनीहरूका कुनै ठूला सपना हुँदैनन् न हुन्छन् ठूला ठूला रहरहरू नै। सानो परिवार। सुखी जहान र शान्त रहोस् घर। हासिखुसी भर्न पाइयोस् दुई छाक पेट अनि आर्थिक हैसियतले भ्यायसम्म पढुन् लालाबाला र हटाउन पाइयोस् उनीहरूको आँखाबाट अशिक्षाको जालो - बस् यती नै हुन्छन् उनीहरूका आकांक्षाहरू। घिर्निको चालमा घुमिरहन्छन् दैनिकिहरू।

उही हुन्छन्। उस्तै हुन्छन् सधैजसो - घर-जंगल, मेलापर्म, गोठ-गोठालो यस्तै यस्तै। त्यही बिचमा एकाध छन् शिक्षित परिवार। जसलाई सामन्ती भन्न रूचाउँछु म। पेसाले शिक्षक हुन् उनी। शिक्षणको मुख्य विषय अङ्ग्रेजी। निलो सर्ट, कालो स्वेटर, कालो पेन्ट, कालै रङ्गको जुत्ता,आँखामा ठूलो लेन्सवाला चस्मा र मुखमा पान- उनको विशेषता हो।

श्रीमती स्थानीय राजनीतिमा सक्रीय कार्यकर्ता हुन् । दुनियाँको नजरमा श्रीमान् र श्रीमती दुबै दक्ष ठहरिन्छ। सबैले ज्यू ज्यू र हजुर हजुर गर्छन्। भेटेपिच्छे दश औंला जोडेर शिर झुकाउँछन्। गाउँलेहरुको नजरमा उनीहरू सर्वश्रेष्ठ व्यक्ति हुन्। समग्र गाउँको इज्जत हुन्।

कुरा कक्षा ८ मा पढ्दाताकाको हो। उमेर र पढाई दुबैले बैनी हुन् उनी मेरी। निलो फ्रक, सेतो सर्ट, दुईपट्टी रातो रिबन फुर्को पारेर कपाल बानेकी, गोरो वर्ण, खिरिलो जिउडाल। साच्चै, आकर्षक लाग्थिन् मलाई। सायद अरू अरूको नजरम पनि लाग्थिन्।

मलाई याद छ-कक्षाकोठामा सरहरुको नजिक हुनको लागि कि त फर्स्ट स्टुडेन्ट हुनुपर्थ्यो कि त राम्रो। म दुबैमध्ये पर्दिनथेँ। उनी पढाइमा ठिक्ठिकै थिइन् तर राम्री हुनाको कारणले सरहरुले बिशेष ख्याल गर्ने गर्नुहुन्थ्यो। अझ अङ्ग्रेजी पढाउने सरले झनै ख्याल गर्नुहुन्थ्यो। टिफिन टाइममा कहिले बिस्कुट, कहिले चक्लेट, कहिले चाउचाउ त कहिले डल्ला पकौडा जस्ता थरी थरी खानेकुराहरू दिइरहनुहुन्थ्यो। मलाई पनि लोभ लाग्थ्यो। पढाइ तेज नहुनुमा दु:ख लाग्थ्यो राम्री नहुनुमा पनि।

एकदिनको कुरा हो, समय शरद यामको थियो। ४ बजे स्कुल छुट्टी भएर उनी घर गइन्। ड्रेस चेञ्ज गरिन् र खाजा नखाई हतार हतार तीनकुलेतिर लागिन्। जहाँ घरहरू छैनन्। सिँचाईँका लागि ल्याइएका गहिरा गहिरा बान्कि परेका कुलाहरू (नहर) र फराकिला गह्राहरू छन्। गह्राका बडा बडा कान्लाहरू छन्।

Thursday, December 17, 2015

मुक्तक ४२

आफ्नो जिवन आफैलाई धिक्कार लाग्छ कहिलेकाहि
बाकिँ चोला तर्न नसकिने जंघार लाग्छ कहिलेकाहि
आखिर,,,,, जन्मनेहरु सबैले मर्नु त छदै छ एक दिन
मान्छेको स्वभाव देख्दा दिग्दार लाग्छ कहिलेकाही

Sunday, December 13, 2015

केटी खुब कडा रैछ !

महिना मंसिरको छ। सामाजिक सञ्जालभरि छ्यापछ्याप्ती भेटिन्छन् नवविवाहित दम्पतिका फोटा। उसैगरी भेटिन्छन् म्यारिज एनिभर्सरी मनाउने पनि। हिजोआज मलाई फेसबुक खोल्नै मन लाग्दैन। मुहारपुस्तिकाको भित्ताभरि टाँसिएका नव दम्पतिका तस्बिरले आफैंलाई गिज्याएझैं लाग्छ।

एकदिन बेलुकापख आमाले फोन गर्नुभयो। मंसिरे गुनासो पोख्नुभयो। त्यस्ता गुनासा यस अगावै पनि कैयौं पटक स्पर्श गरिसकेका छन् मेरा कानले र गरेका छन् सुने नसुने झैं पनि।

'अस्ट्रेलियाबाट बिहेकै लागि आएको रे। कुलघरानको केटो। घर बुटवल। एक्लो छोरो। दिदी बहिनी २ वटी। घरजम भैसकेका। कुरो आको छ के गर्छेस्?' आमाले एकै श्वासमा भन्नुभयो। मैले उत्तर दिन नपाउँदै थप्नुभो -तैं एउटी छस् अब बाँकी। एउटाको जिम्मा लगाइदिन पाए ढुक्कहुन्थ्यो। हुन त तँ आफै बुझ्नेछस् त्यै पनि आमाको मन हो पिर लाग्दो रैछ। जमाना यस्ता छन् कसैले बात लगाइदिन्छ कि भन्ने डर हुँदो रैछ। तँलाई सम्झिदा सम्झिदै उजेलो हुन्छ कहिलेकाँही। कहिलेकाही सोच्दा सोच्दै अघाउँछु, खान मन लाग्दैन। राम्रो कुरो छ। एकपटक विचार गरेस्।

केहीबेर सन्नाटा छायो। सन्नाटालाई छिचोल्दै बोलें- बुझ्दैमा केही भएन क्यारे। मन परे ब्या गर्नी हो नत्र कसैको कर छैन। एकपटक मसँग कुरा गर्न भन्नु न त।
बालकृष्णले कुरो ल्याका हुन्। उनैलाई तेरो नम्बर दिन्छु। बोल्न जानेकी छस्। म नपढेकीले के सिकाउनुरु त्यैपनि अल्ली नरम भएर कुरा गरेस्-आमाले फोन राख्ने बेलामा भन्नुभयो।
शनिबार छुट्टिको दिन। अबेर उठें। लगभग बिहान ९ बजेको थियो। मोबाइलमा घण्टी बज्यो। यसो नम्बर हेरे ९८४७०९४....।

Sunday, December 6, 2015

२४. कविता : हाकिमहरू श्रम किन्छन् या यौन ?

भित्तामा झुण्डिएको छ
ह्वाइट कलरको ठूलो घडी
जुन घडीले
दश बजाउन चार मिनेट बाकिँ छँदा
बजाउँछन् गार्ड दाइले
कार्यालय सुचारुको घण्टि
टिनिनि.... टिनिनि...

सधैं हस्याङफस्याङ गर्दै
आइपुग्छिन् एउटी अधबैंसे महिला कर्मचारी
सोच्छु–
बिहान उठ्दी हुन्, दैलोकुचो गर्दी हुन्
चिया नास्ता, भात भान्सा सबै सक्दी हुन्
आफू खान्छिन् खादिनन् थाहा छैन
तर भर्खरै चार हातखुट्टाले हिँड्दै गरेको
छोरोलाई खुवाउँदी हुन्
र, आउँदी हुन् हतार हतार कार्यालयतिर

चुपचाप, चुपचाप
एकटकले नियालिरहन्छु
दिनभर जसो निकै व्यस्त रहन्छिन उनी
के मा व्यस्त रहन्छिन्? म बझ्दिन
 पालैपालो घरी मोबाइल घरी कम्प्युटर

Sunday, November 22, 2015

मुक्तक ४१

हास्नको लागी  बहाना  बनाइन्छ  केहि  न केहि
रुनको लागी पनि कारण चाहिन्छ केहि न केहि
बाचुञ्जेल मायाको भिख कती माग्नु साथी ?
मरेपछी समवेदना अवस्य पाइन्छ केहि न केहि

Sunday, November 1, 2015

शरद, "म तिमीलाई प्रेम गर्छु" !!


जिन्दगीले बसन्तहरु थुप्रै पार गर्‍यो तर हरेक बर्ष आउने जाने बसन्तहरु कुन बाटो आए र कुन बाटो हुँदै
फर्किए भनेर कहिल्यै भेउ पाइन मैले । जब बसन्तको स्वागतमा बोट बिरुवाहरुले पालुवा हाल्न थाल्छन् तब लाग्थ्यो अब बसन्तको आगमन हुने बेला भयो । लाग्थ्यो म पनि स्वागत गरु यसपाली तर मेरो मनको ढोकासम्म कहिल्यै आएन उ । अझ उसलाई खोज्दै म जहाँ पुग्थे त्यहाँदेखी भागेर पर जान्थ्यो । जहाँ मैले छुनै सक्दिन । जहाँ म पुग्नै सक्दिन त्यही पुगेर गिज्याउथ्यो मलाई । बिचरी म के गर्न सक्थे र ? टुलुटुलु हेर्थे, गहभरी आशु पार्थे र फरक्क फर्कन्थे ।                                                            

मैले प्रेम नगरेकी होईन, स्वार्थ राखेकी थिइन र थिइन लह लहैमा चाहना राखेको पनि । स्वच्छ हृदयले प्रेम गरे, निस्वार्थी मनले प्राप्तिको अपेक्षा राखे अनि राखे सोचेर बुझेर नजिक हुने चाहना पनि । थाहा छैन - खै के कमी भयो मबाट र टाडियो उ ? थाहा छैन - मैले के भुल गरे र समिप पर्नै चाहदैन उ ? अनि थाहा छैन - मैले कुन नकाम गरे र मेरो हुन मान्दैन उ ?
समय अगाडी बढ्दै गयो म पनि हुर्कदै गए । बढ्दै गए । तर पनि मेरो जिन्दगीमा बालापन देखी पक्षाइरहेको शरद यामले पक्षाउन छोडेको छैन । यही शरद सँगै रमाउन खोज्छु तर उ आफैमा उराठ लाग्दो उजाड छ मेरो उदास जिन्दगीमा हराभरा कसरी ल्याउन सक्दो हो र ? तर बिचरा, निर्दोष थियो उ ।
हामी दुईको बेदना मिल्थ्यो, अभाव मिल्थ्यो, कोपरियका घाउहरुको दर्द मिल्थ्यो र मिल्थ्यो बेमौसमी आशुका ढिकाहरुले गाउने सरगम पनि । आखिर मन मिलेपछी न हो प्रेम हुने । चाहे कुरुप होस्, चाहे कालो होस्, चाहे गोरो होस्, चाहे जस्तो होस् मन मिलेपछी संसारको सबैभन्दा राम्रो र सबैभन्दा सुन्दर उहि लाग्छ भन्छन प्रेमधारिहरु । सायद हो पनि । यदी कसैलाई कसैको सच्चा माया र अटुट साथको खाचो छ भने उसले रुप हेर्दैन, धन दौलत भन्दैन । उसले भन्छ त केबल प्रेमको पुजारी बनु म भन्छ । प्रेमको पुजा गरेरै जिन्दगी काटिदिउ भन्छ । हो यस्तै भन्छ उसले, जसले मनसँग प्रेम गर्छ । जसको जो सँग मन मिल्छ उसैका खातिर ।

Tuesday, October 27, 2015

२३. कविता : अंकमाल

आउ,
तिम्रो विरोधमा उत्रीएका
मेरा ओठहरु टालिदेउ
आँखाहरु बन्द गरिदेउ
फुटालिदेउ कानका जालिहरु
छिनालिदेउ हातहरु
छप्पछप्प हान
र टुक्य्राईदेउ मेरा गोडाहरु
अझै पनि चित्त बुझेन भने
लैजाउ सडकको बिचमा
छर्किदेउ आधा लिटर मट्टितेल
स्यार्र कोर सलाई
अनी फ्यार्र फालिदेउ मेरो शरिरमाथी

तर पनि म छाड्ने छैन
हामिबिचको भाइचाराको डल्लाहरुलाई
पञ्चासेको भिरबाट गुडुल्क्याउदै
राम-जानकी चोक पुर्याउन
म छाड्ने छैन
त्यही डल्लाहरुले बनाएको बाटोबाटै
मधेस र पहाड गर्न
म छाड्ने छैन
हिमालको हिउँ पगालेर
पहाडको बाटो हुँदै
तराईका फाँटहरुमा सिँचाइ गर्न
अनी छाड्ने छैन
तिम्री मतिया माईले पस्किएर दिएको
कासको थालमा भात खान

तिम्रो भुगोलबाट माटोको भागबण्डा गरिदा
हिमालको झ्यालबाट चियाउँदै
पहाडको फेदिमा उभिएर
समर्थनको थपडी बजाउन कसरी सक्छु म ?

ओ महासय,
सोच त - पहाडबाट झरना खसेन भने
हिमालबाट हिउँ बगेन भने
कसरी हुन्छ हराबरा तराई ?
कसरी फलाउछौ अन्नपात ?
कसरी धान्छौ एकमुठी प्राण ?
अनि भन त - कसरी फेर्छौ
एकमुठी स्वच्छ स्वास तिमीले ?

यो पनि नबिर्सनु कहिल्यै
तिमी, केबल तिम्रो मात्रै होइनौ
सिङ्गो देशको मेरुदण्ड हौ
सिङ्गो देशबासिको आधार हौ

होला, जन्मिएको पाखो फरक होला
हुर्किएको बाटो फरक होला
तर, हामी फुलेको बगैचा एउटै हो
छुट्टिएर हैन
मिलेर छर्नुछ - बगानमा सुवास हामिले
सुगन्ध हामिले
तसर्थ जरैदेखी उखेलेर फालौ
तेरो र मेरो को भावना
रिस र रागको भावना
र गरौ - भाइचाराको सम्बन्धलाई बिजारोपण
अनि गरौ - यही खुशीयालिमा एकपटक अंकमाल हामीले 

Friday, September 11, 2015

.......यानिकी सुजित गुरुङ्ग !!

म एकदमै बेचैनमा छु यतिबेला । उसो पनि फेरी आफैले निम्त्याएको बेचैनी भन्न रुचाउछु म यसलाई । मनले चैन छोड्नुका कारणहरु अनगिन्ती हुन्छन् । तथापी सबैले सहजै मनन गर्न सक्ने कुराहरु पनि छन् जस्तो कि प्रेममा पर्नु, धोका खानु, मन दुख्नु, पिडा हुनु, घाउ चोटपटक लाग्नु, असाध्यै खुशी हुनु, मन परेको मान्छेसँगको दुरी टाढिनु या नजिक हुनु, कसैलाई पर्खिरहनु । यस्तै यस्तै ।
जिन्दगीमा चैनभन्दा बेचैन को स्वास बढी फेरेकी छु मैले । कुनैपल अभावले गर्दा, कुनै पल प्रेमले गर्दा त कैयौ पल एक्लोपनले गर्दा । समय सधै एक नासको कहाँ हुदो रहेछ र ? कहिले कस्तो परिस्थिति, कहिले कस्तो । सताइरहन्छ, तड्पाइरहन्छ र मेरो हकमा हसाउछ एकदमै सिमित मात्रामा । बिना हिचकिचाहट भन्न सक्छु म कि आजसम्मको भोगाइमा हासोभन्दा आशु धेरै, खुशिभन्दा पिडा धेरै, प्राप्तिभन्दा अभाव धेरै अनि आफन्तको ममता भन्दा एक्लोपनको डसाइले धेरै तड्पिएकी छु म । घरिघरी त यस्तो लाग्छ यो संसारमा म भन्दा दु:खी अरु कोही पनि छैन । फेरी अर्को कोल्टे फर्कन्छु र सोच्छु - हैन म भन्दा कैयौ दु:खिहरु पनि छन् यहाँ । जसका हातखुट्टा कुजिएका छन् र परिवार कै बोझ भैरहेका छ्न् , जो शारिरिक तथा मानसिक दुबै किसिमले असक्त छन्, जो अन्तिम विकल्पको रुपमा बाटोमा कचौरा र हातमा बोरा बोकेर हिडेका छन् । तिनिहरुलाई हेर्छु र महसुस गर्छु - अहो ! म कती भाग्यमानी ।
अँ, म बेचैनको कुरा गर्दै थिए । उसो त नढाटी भन्दा म प्राय कहिल्यै चैनमा हुदिन । अपवाद बाहेक । तर हिजोदेखी अझ बढ्ता बेचैनी छ यो मनमा । सन्दर्भ एकल कविता वाचनको थियो । हरेक शनिबारको दिन समयको घडिले ९:१५ बजाउनासाथ सुरु हुन्छ उज्यालो ९० नेटवर्कमा एकल कविता वाचन, अच्युत घिमिरेको साथमा । प्राय: नटुटाई सुन्छु म । सुन्छु । सुन्दै जादा कविको वाचन शैली र कविताले मोहित पार्यो भने कार्यक्रम अन्तिमसम्म नै सुन्छु अन्यथा बिच मै बन्द गरिदिन्छु या बटार्छु अन्य स्टेसनतिर ।

लेख्नु मात्र ठुलो कुरा कदापी होईन । फेरी लेखेरै ठेली तयार पार्नु पनि खासै ठुलो कुरा मान्दिन म यद्धपी लेखिएका लेखका शब्दहरुले पाठकको मन छुदैनन् भने ।

Thursday, August 13, 2015

कथा सङ्ग्रह - ईन्द्रमायाको देशमा


एक  फन्को  मारेपछी  "ईन्द्रमायाको देशमा


चितवन कविडाँडाका एल.बि. छेत्री । पेशाले प्रेरणाका स्रोत भन्न रुचाउछु म उँहालाई । साहित्य वरिपरी र साहित्य बाहिर रहेर पनि सदैव केहि गर्नुपर्छ, गलत गर्नुहुन्न र डराउनु पनि हुन्न भनेर झकझकाइरहने एल.बि. छेत्रीलाई म आफ्नो अभिभावक ठान्दछु । बस् । एउटा सन्तान भएर अभिभावकको व्यक्तिगत जिवनिमाथी यत्ती मात्र बोले मैले । अब लागौं ईन्द्रमायाको देशतिर ।

विमोचन अगावै चर्चामा आइसकेको यस कथा सङ्ग्रह विमोचन पश्चात गुपचुप रहने त कुरै भएन । मण्डला थिएटरको हलमा श्रावण ९ गते शनिबारको दिन ईन्द्रमायाको देश विमोचित भयो । सबै पाठकको लागी उक्त देशमा घुम्न, खेल्न, रमाउन प्रवेश खुला गरियो तर रु २०० को टिकट कटेर मात्र । म छुटको अफरमा परे र रु १०० मै पाए प्रवेश अनुमती । प्रवेश अनुमती पाएको करीब २ हप्तापछी मात्र घुम्न निस्कने अवसर जुर्यो मलाई । त्यसपछी लागे म 'ईन्द्रमायाको देशमा' । ९४ पृष्ठको यस सङ्ग्रहभित्र जम्माजम्मी २२ वटा कथाहरु सङ्ग्रहित छन् । एडगर एलेन ले भने झै पाठकको रोजाई बुझेरै हुनुपर्छ कथाकारले बिल्कुलै छोटा धारका कथाहरुलाई प्रश्रय दिनुभएको छ । 'राष्ट्रानीर्माण' बाट सुरु भएको कथाको लहरले 'उसले फेरी सपना बुन्नु छ' मा पुगेर बिट मारेको छ । छोटा छोटा वाक्यांशहरु छन् जसले गर्दा पढिरहन पट्यार लाग्दैन । क्लिष्ट शब्दहरुलाई प्रवेश निषेध गरिएको छ जसले गर्दा हामी जस्ता भर्खरै बामे सर्न खोज्दै गरेका पाठकहरुलाई वाक्यांशहरुले बोल्न खोजेको भाव बुझ्न खासै कठिन पर्दैन । डा. गोविन्दराज भट्टराई कै शब्दमा भन्नुपर्दा - लेखक नारिप्रती अत्यन्तै संविदनशिल हुनुहुन्छ । एउटा शिक्षित व्यक्तिले नारिप्रती जती संविदनशिल हुनुपर्छ त्यती नै उदारता र स्नेह प्रकट गर्नुभएको छ । साथै, पुरुषको दम्भ, अहङ्कार, प्रेम, सद्भाव, सबै पक्ष छर्लङ्ग पारेर विभिन्न कथाले प्रस्ट्याएका छन् । हरेकजसो कथामा सफल नारी पात्र उपस्थित छन् । यस कथा सङ्ग्रह 'ईन्द्रमायाको देशमा' मा नारी स्वतन्त्रताको खोजी र आत्मनिर्माणको अद्धितिय शक्ती प्रकट गरिएको छ ।

परिवर्तन एक्कासी हुँदैन । समयसँगै विस्तारै हुँदै जान्छ । जस्तो कि २१औं शताब्दिमा तत्कालै परिवर्तन खोजिएको जातभातको कुरा । यो कुरा पछिल्लो पुस्ताले अबलम्बन गरेता पनि हाम्रा बुवाआमा तथा हजुरबुवा हजुराआमा को पुस्तालाई पाच्य हुँदैन । उँहाहरुको मानसिकताले आफुभन्दा तल्लो जातको मान्छेलाई घरभित्र पस्न, उनिहरुले छोएको खाना खान स्विकृती दिदैन । यो सत्य हो ।

Monday, June 22, 2015

आमालाई चिठ्ठी


 मिती : २०७२/०३/०७
        सोमबार
स्थान : सुनसान कोठा
समय : जून हराएको रात



ममतामयी आमा,

                         असिम प्यार र अगाध सम्झना ।

                                    थाहा छ - समयले कोल्टो फेरिसक्यो । हात हातमा हुने मोबाइल फोनको बिगबिगिले चिठ्ठीपत्रको जमाना एकादेशको कथा बनिसकेको छ तर पनि आधुनिक जमानाको सुविधालाई अल्ली परै छाडेर सेतो पानामा काला अक्षरहरु उतार्न मन लाग्यो मलाई । त्यो पनि तिम्रो सम्झानाको खातिर । फेरी यसरि कोरा कागजमा आफ्ना बहहरु पोख्नुको आनन्दानुभुत त्यो मोबाइलबाट कहाँ पाउन सकिन्छ र ? हो, आमा आज अनायासै तिम्रो यादले भाव विह्वल भए म । खै ! किन भए त्यो म आफैलाई थाहा छैन ।

पत्र लेख्दै गर्दा यि दुई नयनबाट साउने बलेसी सरी अश्रुधारा बहिरहेका छन् । यि काला अक्षरहरुमा नपरुन भन्नको खातिर घरी घरी लेख्दा लेख्दैको कलम बिसाउछु र आँखा पुस्छु अनि पुन : लेख्न थाल्छु । यो क्रम निरन्तर चलिरहेको छ । यस पानामा फुलेका अक्षरहरु पढ्दै गर्दा रुदा रुदा फुलेका मेरा आँखहारु तिम्रो वरिपरी नघुमुन । बस् ।

आमा,
                थाहा छैन किन यस्तो बेचैनी बढिरहेछ मलाई । जती जती सम्झाउन खोज्छु यो मन उति नै छट्पटी बढिदिन्छ झन । क्यै गरी सकिरहेकी छैन । मनभरी खात लागेका सपनाहरुले दिनहुँ झक्झक्याइरहन्छन र पनि ब्युझिन सकिरहेकी छैन । फेरी निदाएकी पनि छैन तर लमतन्न परेर सुतेको शरिर उठ्न मन गरिरहेको छैन । घरिघरी त यस्तो लाग्छ कि - पुगौँ कुनै अग्लो डाडामा र बन्द गरौ दुबै आँखा अनि बिर्सेर दुनियाँ सारा, भुलेर आफन्त सारा अनि त्यागेर सारा लोभ, मोह, र इर्ष्या हाम्फालु त्यही डाडाको टुप्पादेखी र एक निमेषमै मारिदिउ आफ्ना अनगिन्ती सपनाहरु तर सपना सँगसँगै म मर्न चाहान्न । त्यसैले त सकिन त्यसो गर्न पनि । फेरी सोच्छु - सपनाहरुको लानी 'सपनानाषक बिषादि' छरिदिउ सपना फूल्ने मनको बारिभरी । बिडम्बना, सोचनिय मेरा सबै प्रयासहरु फगत भैरहे । विफल भैरहे म यस मानेमा हर हमेशा ।
सधैजसो यही सुनसान कोठामा हुन्छु । झ्यालमा उभिन्छु र आकाशका ताराहरुसँग भलाकुसारी गर्छु घण्टौसम्म तर कालो बादल मडारिएको छ आज आकाशमा र झुल्किएका छैनन् मेरा ताराहरु यसर्थ एक्लो पनले छट्पटाइरहेको छ मलाई । यसैबेला चारैतिर हेर्छु, सोच्छु नितान्त एक्ली लाग्छु म आफु । छैनन् कोही वरिपरी । यदी कोही हुदो हो त खुशीमा सँगै हास्ने साथ भेट्टाउदी हुँ, यदी कोही हुदो हो त म रुदा आशु पुछिदिने हात भेट्टाउदी हुँ, भेट्टाउदी हुँ मन निराश भैरहेको बेला हौसलका केहि शब्दहरु अनि भेट्टाउदी हुँ मनको बह बिसाउने चौतारी पनि ।

Tuesday, May 26, 2015

मुक्तक ४०

महिनौदेखी गासँ, बासँ र कपास टुटाएपछि
भुकम्पिय विपत्तिले मलाई टुहुरो बनाएपछि
झनझन पिडाले आहात भएकिछु म आमा
हुरि-वतासले जून छेकेको त्रीपाल उडाएपछी

Saturday, May 23, 2015

भूकम्प, म र सानो बाबु


जिन्दगी एउटा भुल भुलैया हो । कहिले दु:खको भुल भुलैया त कहिले सुखको भुल भुलैया । दु:खै दु:खको भुमरिमा रुमल्लिदा रुमल्लिदै कुनबेला झुलुक्क झुल्किन आइपुग्छन् खुशीहरु र उसैगरी कुनबेला बिलय भैदिन्छन् भन्ने केहि पत्तो हुँदैन । आखिर, त्यस्तै न हो दु:ख पनि । एकाध खुशीको बिचमा दु:खै दु:खको पहाड आएर तेर्सिदिन्छ अनि रोकिदिन्छ हिड्दा हिड्दैको बाटो । जहाँको त्यही ।

जाजरकोटमा एकाएक "स्वाइन फ्लु" को महामारी फैलियो । कैयौ मान्छेका घरहरु रित्तिए, कैयौका काख रित्तिए, कैयौका पुछिए सिउदो त कैयौ भए टुहुरा पनि । उता एउटा विपत्ती साम्य पार्न सरकारी टोलिले सकृयता देखाउदै थियो यता अचानक सिंगो देशलाई मर्माहत पार्न भुकम्प आइदियो । भनिन्छ - विपत्ती बाजा बजाएर आउँदैन । आखिर भयो नै त्यस्तै । न कसैले आकंलन गरेको न भविष्यवाणी नै । सोच्दै नसोचेको भुकम्म अचानक आइदियो र पारिदियो सारा देशवासिलाई घरवार विहिन । यो भूकम्पले निम्त्याएको विपत्तिको वर्णन गर्न म असमर्थ छु यतिबेला । किनकी यहाँ भत्किएका लाखौ घरहरु मेरै घर हुन्, टुहुरा बनेका नानिबाबुहरु मेरा भाइबहिनी हुन्, श्रींगार उजाडिएकी अबला नारी मेरी दिदी हुन्, काख रित्तो पारेर बसेकी बुढी आमा मेरी आमा हुन्, पुरै घर रित्तिएको परिवार मेरो परिवार हो र यहाँ जती जती मान्छेहरु न गास न बास ले बिचल्लित परेका छन् ति सबै सबै मेरो घरभित्रका सदस्य हुन । हो, यो सिङ्गो नेपाल मेरो घर हो अनि यो घरभित्रका सबै मन्छेहरु मेरो परिवार हुन् । अब तपाईं आफै भन्नुस् - मेरो घरभित्र परेको यो अस्वभाविक घटनाको बयान म कसरी गर्न सक्छु ? अह ! सक्दिन । कदापी सक्दिन तर स्मरण गर्न खोजिरहेकी छु त्यो कालो दिनमा मैले गरेको जिन्दगीको पहिलो र अनौठो अनुभव । चाहान्छु - यही अनुभव मेरो जिन्दगीको पहिलो र अन्तिम दुबै होस् ।

Friday, May 8, 2015

मुक्तक ३९

हिजोका महलवाला लाई रातारात  सडकछाप पारिदियो
दिन दु:खिहरुलाई  दु:खमाथी अझै दु:ख थपथाप पारिदियो
भलै,जून चुहिने भए पनि एउटा सानो झुपडी थियो आफ्नो
साला,भुकम्प अचानक आयो र एकैछिनमा सखाप पारिदियो

Monday, March 23, 2015

साच्चै, अबुझ छन् मान्छेहरु !!

जसरि एउटा फूलको बोटले आफुलाई बचाएको जरा सुकेपछी स्वयम आफु पनि सुक्न बाध्य हुन्छ त्यसरि नै मर्न बाध्य हुदो रहेछ मान्छे - आफ्नो मनका सपनाहरु मरेपछी । होला, मान्छे हेर्दा स्वास फेरिरहेको, हिडिरहेको, कुदिरहेको, बोलिरहेको देखिएला तर मनका इच्छा, आकांक्षा, रहर र सपनाहरु मरिसकेपछी मान्छे बोल्नु हिड्नु र स्वास फेर्नुले मात्र ज्युदो नहुदो रहेछ । उसको अन्तर आत्मा मरिसक्छ र पनि नचाहेरै लतार्नु पर्ने यि पाइलाहरु फगत लतारिएका हुनेछन् । फेरिएको स्वास पनि फगत फेरिएको हुनेछ । साच्चै सबै कृयाकलापहरु फगत रुपमै गरिएका हुनेछन् । मनभरी पिडा हुन्छ, आँखाभरी आशु हुन्छ, मुटुभरी घाउँ हुन्छ अनि चाहर्याइ रहेको हुन्छ हृदय र पनि सबै भुलेर मानौ मलाई केहि भएकै छैन् झै गरेर मुसुक्क मुस्काइदिनु पर्ने यो दुनियाको सामु - अहो ! कती गाह्रो कुरो । फेरी यो समज पनि त त्यती साह्रो बुझकी कहाँ छ र ? आँखाभरी आशु छचल्किएक्को देख्न सक्दैन तर देख्छ ओठको मुस्कान । अचम्म छ केबल मुस्कान देख्छ समाज अह ! देख्दैन् मुस्कानमा लुकेको असिम पिडाका बहाबहरु । जहाँ सम्म लाग्छ - मलाई मात्र होईन् कोही कसैलाई पनि आफ्नो आँखाभरीको आशु अरुले देखोस् र कठै ! भनिदिओस् भन्ने चाहना हुँदैन् । म चाहान्छु - मेरो पिडाको एक अंश पनि नबुझोस् यो दुनियाले अझ चाहान्छु कत्ती पनि भ्यउ नपाओस् । पिडा दबाएरै भए पनि यो दुनियाको आँखामा मुसुक्क मुस्कान अवस्य छर्नेछु र कत्ती पनि बन्ने छैन् अरुको दयाको पात्र । चाहान्छु - हामी कोही पनि कसैको दयाको पात्र बन्नु नपरोस् । कहिल्यै पनि । कसैको पनि ।