Friday, July 4, 2014

उपन्यास - आधा जून


आजसम्मको साहित्य यात्रामा मैले पढेको पहिलो राजनैतिक धारको कृती भनेको " प्रयोगशाला" हो र त्यसपछिको कृती "आधा जून" । राजनितिको 'र' सम्म पनि ज्ञान नभएकी म तर प्रयोगशाला कत्ती पनि बोरिङ्ग फिल नभैकन पढेर सकेकी थिए । त्यसैगरी मन तान्यो मेरो आधा जूनले पनि । 'रे' सम्मका कुरा थाहा थियो मलाई २०४६ सालको आन्दोलनको बारेमा । त्यै पनि बुढापाका या उक्त आन्दोलनलाई देखेका र भोगेका केहि मानिसहरुको मुखबाट सुनेका कुरा मात्र हुन् । २०६२ / ६३ को आन्दोलनलाई आफैले देखेको मात्र होईन् भोगेको पनि हो र स्वयंम आफु पनि समाहित भएको कारणले पनि प्रयोगशाला निकै चाखिलो मानेकी थिए मैले तर अफुले नदेखे पनि नभोगे पनि आधा जून पढ्दा निकै एक्साइटेड भए म । प्रयोगशालामा माओवादिको समग्र नालिबेली प्रस्तुत गरिएको छ भने यसमा पात्र सञ्जयको जिवनयात्रा र भोगाईको तर्फबाट ०४६ सालको आन्दोलनलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।


यस उपन्यासमा पात्र सञ्जयले नायकको भूमिका निर्वाह गरेका छन् भने रिता र तृष्णा नायिकाको रुपमा उभिएका छन् । विशेषत सञ्जयले एसएलसी पास गरेपछी उच्च शिक्षाको क्रममा व्यतित गरेको जिवनयात्रालाई प्रस्तुत गरिएको छ । त्यही जिवनयात्रा सँगसँगै 'कम्युनिष्ट आन्दोलनको एउटा धारको सिर्जनाबारे राम्रो दस्तावेज बनेको छ यो उपन्यास' (- नारायण ढकाल ) ।
एउटा परिवर्तनको नारा बोकेर जसरि होम्मिन्छन् युवाहरु - जनयुद्धमा , अन्त्यमा, त्यसरि नै निराश र मलिन मन बोकेर फर्किन्छन् उनिहरु पुरानै जिन्दगीको बाटोतिर तर बिडम्बना समय ढिला भैसकेको हुन्छ । गरीब , दुखी र निमुखाहरुको पार्टी भनेर भनिने कम्युनिष्ट पार्टिले जोशिला युवाहरुको आखाँमा परिवर्तनको जुन संसार भरिदिएको हुन्छ त्यो संसार न हिजो पुरा भयो, न आज भयो न हुनेछ नै भोली । माथिल्लो तप्काका नेताहरु फगत आस्वासन बाडिरहेछन् । बाड्न छाड्दैनन् । जती जती बाड्छन उति उति तुसारापात हुन्छन् आस्वासनहरु । ‘जुन जोगि आए पनि कानै चिरेका’ भने झै जसले नेतृत्व लिएपनी परिवर्तनको कदम एक पाइला पनि अघी बढ्न सकेको छैन् आजसम्म ।

पार्टिमा आशा गरिएका व्यक्ती थिए - कमरेड मदन भण्डारी । उनि पार्टिको नजरमा मात्र होईन् समग्र नेपालिको आशाको किरण थिए तर पचास सल जेठ चार गते बिहान मदन भण्डारी सहित जिवराज आश्रीत चढेको जिप चितवनको दासढुङ्गामा दुर्घटना हुन पुग्यो । जुन दिन कम्युनिष्ट पार्टिको लागी कालो दिन नै साबित भयो । साच्चै, बोलिमा मात्र होईन् तनमन देखी नसानसामा परिवर्तनको रक्तसञ्चार पैदा भए झै लाग्थ्यो उनिमा । देश र जनताको केन्द्रबिन्दु मदन भण्डारी मारिनु भनेको एउटा श्रीमान र एउटा बुवा गुमाउनुमा मात्र सिमित थिएन । सच्चा देशभक्त नेताको देहावसान भएको थियो त्यतिबेला । तर त्यो घटना कुहिरोको काग झै हराउदै गयो । घटना छनबिन बिस्तारै सेलाउदै गयो र हरायो । जसको सत्यतथ्य प्रमाण आजसम्म पनि प्रकाशमा आउन सकेको छैन् ।

लेखक झलक सुबेदिले पेज नं २४१ मा लेखेका छन् - 'मदन कमरेडलाई मारे…..इन्डियनहरुले ।……. टनकपुरको मुद्दा उठाएको , अस्ती भर्खर चिन घुमेर फर्केकाले आफ्नो पक्षमा पार्न सकिन्न भनेरै यसो गरेको हो इन्डियाले । दक्षिण अफ्रीकामा क्रीस हनिको हत्या र यो एकै खालको हो ।'
'जे सुकै होस् मदन मरिसकेपछी यो पार्टी पहिलेको जस्तो कसै गरे पनि हुन्न' - टिआरले भने झै पार्टिमा फेरबदल धेरै भयो । तत्पश्चात पार्टी एकढिक्का भएर अघी बढ्न सकेन । जहाँ गुट र उपगुटको सिद्धान्त फैलिदै गयो । झांगियो र ढपक्क ढाक्यो त्यस सिद्धान्तले पार्टिलाई । त्यही सिद्धन्तको सिकार भए बिचरा सोझा, सिधा योद्धाहरु । जसले आफ्नो सर्वस्व सहित घर परिवार नभनेर आफुलाई पुर्ण रुपमा समर्पित गरेर लागी पर्‍यो आखिरिमा उहि उपेक्षित भयो । हुने खाने र पहुचवालाहरुले सिधै माथिल्लो तहमा पुगेर नेतृत्वको बाजी मारे तर ति सोझा र सिधाहरु सिधै किनारा लागे । अचेल यस्तो लाग्छ - यो पहुचवालाहरुको सिद्धान्त कम्युनिष्टहरुको राजनैतिक आस्था नै हो कि झै पनि । यदी हैन भने ०४६ सालको यो रणनिती माओवादिको १० वर्षे जनयुद्धमा किन लागु भयो त ? १० / १० वर्षसम्म आफ्नो ज्यानको बाजी राखेर होमिएका लडाकुहरु युद्ध पश्चात बिना आनाकानी अयोग्य ठहर भए । एउटा स्वच्छ कार्यकर्ताको लागी यो भन्दा असह्य नतिजा अरु के हुन सक्छ र ?


के थियो तीनलाई त्यती शक्तिशाली बनाउने हतियार ? विचार, अन्यायको विरुद्ध लड्नुपर्छ भन्ने आत्मबोध, मुक्तिको लालसा या मानवताप्रतिको प्रेम, क्रान्तिप्रतिको समर्पण ? के ले तीनलाई यो वेदिमा होमिन उक्साएको थियो ? (पेज नं १२० ) बाघको अनुहार खाए पनि रातो नखाए पनि रातो भने झै युवाहरुको मन र आत्मबल पनि उत्तिकै उत्साहित हुन्छ । केहि गरु भन्ने मनोभावनाले छोपेको हुन्छ । त्यसैले त आफ्नो कामलाई फत्ते नगरि पछी हट्दैनन् नि युवाशक्तीहरु । यसैको परिणामत आन्दोलनले एउटा उचित निष्कर्श निकालेको थियो र अवश्यै निकाल्ने छ अगामी दिनहरुमा पनि ।



आन्दोलनको सफल समापन पछी कम्युनिष्टहरुको हातमा सत्ता नपुगेको होईन् । पुग्यो तर धनीले गरीबलाई मिचेको मिच्यै भयो । धनीहरु सधै सधै माथिको माथी भए, गरीबहरु सधै तलको तल नै भए । न केहि व्यबस्था गर्‍यो - दलित र पिछडिएको वर्गहरुको हितमा ।

कम्युनिष्टको आन्दोलनलाई सञ्जय पात्रको भूमिकाबाट जे जती प्रस्तुत गरिएको छ त्यो धेरै हो । आफुले उक्त आन्दोलनलाई देखेका र भोगेका मानिस हरुले यस उपन्यास पढिसकेपछी समग्र आन्दोलन अवधिलाई छर्लङ्ग स्मरणमा ल्याउन सक्नेछन भन्ने मा विस्वस्त छु म ।

अन्त्यमा , यो उपन्यास हो । तसर्थ पनि सञ्जयको अघिपछी दायाँबायाँ गरेर उपन्यासमा भित्रीएका र बहिरिएका पात्रहरु कैयौ छन् । उनिहरु आवश्यकता परेको बखत आउछन् र आफ्नो आवश्यता परिपुर्ती गरेर जान्छन् । त्यसपछी उनिहरु खै ! कहाँ जान्छन् केहि मेलो मेसो हुँदैन् । न खोजी हुन्छ कही कतै । अरु आए गए कुनै गुनासो थिएन मेरो तर आफ्नि प्रेमिका तृष्णालाई अन्य पत्रहरुलाई सरह गोरेटो मै छोडेर हिड्दा कता कता असन्तुष्टिको भाव पैदा भयो मनमा । उसका हरेक कृयाकलापहरुलाई सञ्जयको मनले एकएक गरी चियाइरहेको हुन्छ, पलपल उसैलाई खोजिरहेको हुन्छ र सम्झिरहेको हुन्छ त्यो मनले भने उ कहाँ छे ? के गर्दै छे ? के गर्ने बिचारमा छे ? भनेर व्यक्तिगत जिन्दगीबाट टाडा रहे पनि पार्टिगत हिसाबले सामेल गर्नुपर्ने थियो नायक सञ्जयले । यदी त्यसरि सञ्जय प्रस्तुत हुन सकेको भए उपन्यासमा अझ मिठास थपिने थियो कि भन्ने आभाष भयो मलाई । उपन्यासमा यदाकदा नजानिदो पाराले अक्षरात्मक त्रुटिहरु फेला परेका छन् भने एकाध रुपमा व्याकरणात्मक हेलचेक्र्याइ पनि भेटिएका छन् । जिवनको हरियो रङ , अविरको रातो रङ , सिद्धान्तको खैरो रङ र विचारको हरियो रङ गरी चार खण्डमा विभाजन गरी तयार पारिएको यस उपन्यासमा ४६ सालको आन्दोलन र आन्दोलन वरिपरिको समयलाई जती उतारियो त्यो धेरै हो तर अझ धेरै समेट्न सकिने ठाउँहरु प्रसस्तै देख्छु म । जसलाई नसमेट्नुलाई के भन्ने - लेखकको कमजोरी ? या अल्छिपना ? तर यती सरल भाषामा त्यती लामो समयलाई एकै मुठिमा बाध्न सक्नु लेखकको अद् भुत क्षमता भन्ठान्छु म ।