उ हिजै देखी मलिन थियो । आँखाहरु रसिला देखिएका थिए । उसको अध्यारो अनुहार देखेर मैले सोधे - "बिशाल के भयो आज तिम्लाई ? एक्जाम बिग्रीयो क्या हो ?" कत्ती पनि चमक नभएको अनुहार भुइतिर निहुराउदै उसले सुस्तरी भन्यो - "दिदि, भोली हरिसयनी एकादशी । मेरो ममी बितेको दिन हो ।" यती भनिसक्दा उ रुला रुला झै गरिसकेको थियो । त्यसपछी मैले केहि कुरा गर्ने आँट गर्नै सकिन ।
सधै जसो म अफिसबाट फर्केपछी उ मेरै कोठामा हुन्थ्यो । घरी हसाउने गफ गर्थ्यो घरी उडाउने खालको । घरिघरी भन्थ्यो - दिदी मलाई पनि गजल लेख्न सिकाइदिनु न । तपाईंले जस्तै खत्रा खत्रा गजल लेख्छु म पनि । रेडियो सुनिरहेको बेलामा गजल प्रोग्राम आयो भने फोन नगरि सुखै दिदैन्थ्यो । त्यसैले पनि उ कोठामा भएको बेला गजल प्रोग्राम आउने बेला भएपछी कालिका एफएम ९१ मेगाहर्ज लगाउने गर्थे म । म सुत्नेबेलासम्म उ मसंगै हुन्थ्यो । हिजो उ मेरो कोठामा एकपटक पनि आएन फेरी मैले बोलाउन पनि सकिन । उ सुतिरह्यो आफ्नै कोठामा । हिडेन कही पनि कतै पनि ।
आज बिहान अरु दिन भन्दा केहि छिटो उठेर नुहाइ धुवाइ गर्यो उसले । सेतो रङ मिसिएको कछाड बाधेर यता उता गरिरहेथ्यो उ । मैले हेरिरहे । मैले खाना पकाइसक्दासम्म पनि उसले मलाई "दिदि" भनेर बोलाएको छैन् आज न मैले नै "बिशाल" भनेर बोलाएकी छु । उ मौन मौन बनेर घरी यता घरी उता गरिरहेछ । सोच्छु - उसको मनमा कस्तो पिडा तैरिरहेको होला यतिबेला ? पक्कै पनि उसले सम्झिरहेको होला - त्यो दु:खद दिन । जुन दिनले उसलाई टुहुरो बनाएको थियो र आफुलाई जन्म दिने ममी टाडिनुभएको थियो अब फेरी कहिल्यै भेट नहुने गरी । उसको ब्रतबन्ध गरेको छैन् त्यसैले - हजुर आमाले सिधा उठाइदिनु भयो र बाटोमा लगेर छोडिदिन भन्नु भयो उसले पनि त्यही गर्यो । चुपचाप । उ सिधा राख्न जादाको फोटो हो यो । आज बिहान मात्रै खिचेको । आज उसले खाना खाएन । हजुर आमाले रोटी बनाइदिनु भएको रहेछ त्यही खायो र मेरो कोठामा पस्यो । अस्ती अस्ती जस्तो गरी केहि बोलेन उ । न हासो थियो उसको ओठमा । केबल बताइरहेको थियो त्यो अनुहारले मनभरिको पिडा । जुन पिडा न उ कसैलाई भन्ने आँट गर्न सक्छ न मनमा दबाउन नै । घरी घरी हासे झै गर्थ्यो तर स्पष्टै छुट्टिन्थ्यो अस्ती अस्तिको उसको हासो र आजको हासो । आजको उसको मुस्कानमा नजानिदो गरी पिडा पोखिएको देखिरहेकी थिए मैले त्यसैले सोधे - बिशाल रुन लाछौ क्या तिमी त ? यो शब्द किन भनेछु जस्तो भयो मलाई किनकी मैले त्यती भन्नासाथ उ घोप्टो परेर रोयो । खुब रोयो । त्यसपछी मैले बोलाउने आँट गर्नै सकिन । उसको रुवाइले मेरो मनमा पनि गहिरो चोट परे झै भयो । बोली जती सप्पै घाटी मै अड्कियो ।
२०७१ आषाढ २४ गते
हरिशयनी एकादशी