Wednesday, June 26, 2013

मुक्तक २१


काडाले झै फुलले यहाँ डस्न पनि सक्छ
बचनले नै मनमा छुरा धस्न पनि सक्छ
भन्छन प्रेम गर्नेहरु जूनभन्दा राम्री तिमी
अकस्मात आकाशको जून खस्न पनि सक्छ

मुक्तक २०


जानेहरु जान्छन अरुको मन दुखाएर किन जान्छन ??
जानेबेला कोमल मनमा चोट पुर्याएर किन जान्छन ??
सायद, पत्थरहरु पनि त्यती कठोर हुँदैनन होला
पत्थर भन्दा पनि साह्रो मन बनाएर किन जान्छन ??

निबन्धसंग्रह - चौबीसरिल

"चौबीसरिल" को अन्तर्कृया कार्यक्रमले यस माथीका सबल र दुर्बल पक्षहरुलाई केलाउन भरपुर मद्दत गरे मलाई । अन्य पाठकहरुको मुखारबिन्दुबाट कृतिमाथी को समिक्षा सुनिसकेपछी त्यही कृतिलाई आफ्ना आखाँ अगाडी राखेर अक्षर-अक्षर गन्दै पढ्नुको आनन्द नै छुट्टै हुदोरहेछ । त्यही आनन्द उपभोग गर्नका खातिर "चौबीसरिल" सँग स्वार्थको खेल खेले मैले । पुस्तक हात पारेपछी पनि र्याकमा थन्क्याएर मौन बस्नु पक्कै पनि कृतीमाथी को अन्याय हो । भुपिन सर - यस अन्यायको बदलामा कुनै पनि सजाय भोग्न मन्जुर छ मलाई ।
कृतिभित्र प्रवेश गर्नु अगावै रिल भन्नाको मतलव झट्ट सम्झे - क्यासेटका रिलहरु । जब म कृतिभित्र प्रवेश गरे तब ति क्यसेटवाला रिलहरु कही बजेनन र निकालेनन कोइलिदेवी का स्वरहरु, नारायण गोपाल का आवाज हरु अनि गोपाल योन्जन का संगितहरु ……….। "चौबीसरिल" भित्र उतारिएका चौबीस शिर्षकका रिलहरु पढिरहदा बहुतै आनन्दानुभुत गरे मैले र पढिरहदा लेखक सँग-सँगै प्रत्यक यात्राहरुमा समावेश भएको स्वर्णिम कल्पनाभित्र हराइरहे म ।
म जस्ता सामान्य वर्गका पाठकहरुको लागी शब्दको समुन्द्रमा सयर गर्न निकै सजिलो छ किनकी यस रिलभित्रका शब्दहरु सरल छन र बगेका पनि छन एकनासले उसरि नै ।
शिर्षक र शब्दसँगको तालमेल निकै मजबुत लाग्यो मलाई । रुखको बिम्बमा कविता, कविता यात्राको गोरेटो, सास्कृतिक बिम्ब , जिवन: साझा बसको अन्तिम सिट, नदी र जिवन, चोर बाटो हुँदै माडि, सेप्टेम्बर एघारको एठन, साठी सालको डायरि, सांग्रीलाको हृदय र साइकलको क्यारियरमा समुन्द्र शिर्षकका रिलहरु अझ विशेष लाग्यो मलाई ।
माया पाण्डेको प्रसंगले भित्री हृदयमा नै कता-कता चिसो महसुस भयो अनि लागिरह्यो - यदी भगवान हुन्थे भने मायालाई क्यान्सर लाग्ने नै थिएन । क्यान्सर नलागेको भए न उसले पढाइ छाड्ने थिइ न त यत्ती छिट्टै यो संसार नै ।
अन्तकृया कार्यक्रममा सुनेकी थिए सबैको गुनासो एउटै थियो - लेखकका जिवनसंग सम्बन्धित सबै प्रसंगहरु समेटिएका छन तर तिनै प्रसंगहरुको साक्षी "ज्योति" को प्रसंग कही कतै पनि भेटिएन । किन ? त्यसै अनुरुप अक्षरहरु संग दौडिरहदा "ज्योति" खोजिरहे मैले पनि । प्रकट दाइको गजलका प्रसंगमा "ज्योति" भेटे । त्यसपछी ढुक्कका साथ अगाडी बढे म । कमसेकम एक ठाउँमा भएपनी छाम्न पाए मैले "ज्योति" भन्ने नाम ।
अफसोच, चौबिस रिल पढिरहदा निबन्ध पढेको महसुस कही कतै गर्न पाइन मैले । “कवी र सपना” बाट सुरु भएको रिल “हरियो दिल्लिमा लेखकहरु” सम्म नै कविता नै कविताका बिम्बहरु भेटिन्छन र लागिरह्यो मैले निबन्धमा हैन कविताका अक्षहरु माथी नजर डुलाईरहेकी छु ।
“साठी सालको डायरी” माथी घोतलिइरहदा मनमा एउटा प्रश्न चिन्ह खडा भयो । लेखिएको छ - नयाँ वर्षको प्रारम्भ नयाँ होस भन्ने चाहना थियो । यस्तै भयो । बिहानै बाबाबाट नयाँ वर्षको शुभकामना पाएँ तर औपचारिकतामा बाबालाई शुभकामना भन्नै सकिन ।
औपचारिकतामा बाबालाई शुभकामना भन्न किन सक्नु भएन ? यस कौतुहलताले मलाई कुत्कुताइ रह्यो तर दुर्भाग्य, यस कौतुहलतालाई मेट्ने शाब्दिक बिम्बहरु कृतिको अन्तिम पाना सम्ममा पनि कही कतै भेटिन मैले ।
धरतिमा रुख रोप्नु मानिसको धरती प्रतिको प्रेम हो । कवितामा रुख रोप्नु कविको कविता प्रतिको प्रेम हो । यसै अनुरुप निबन्धकार Bhupeen Bhupeen ले कविता प्रतिको अपार प्यार प्रकट गरेर खुलेआम कविताको प्रेमी बनेको घोषणा गरेका छन ।
मलाई पनि खुलेआम भन्न मन लागेको छ – “चौबीसरिलको” प्रेमिका हुँ म ।

उपन्यास - अन्तर्मनको यात्रा

कता-कता भित्री हृदयमा चाहर्याए झै भएको छ यतिबेला र त्यही चाहर्याहट सँगै आफैलाई प्रश्न गर्न मन लागेको छ - यो दुनियामा भगवान छन कि छैनन होला ?
सायद, भगवान छैनन होला । यदी छन भने पनि ति भगवान आखाँ भएका अन्धा छन उनि केहि देख्दैनन्, उनि कान भएका बहिरा छन केहि सुन्दैनन्, र उनि मुख भएका लाटा छन केहि बोल्दैनन ।
साच्चै जिन्दगी एउटा अफसोच हो । जहाँ कहिल्यै सोच्दै नसोचेको भैदिन्छ । तर पनि ज्युनु पर्ने बाध्यता र जिवनप्रतिको मोह एकै साथ देखापर्छन आफ्नो अगाडी मृत्युको पर्खाल छेकेर ।
यती धेरै चोट, पिडा र छटपटिका बाबजुत पनि शब्द-शब्दमा कती लोभलाग्दो गरी उतारिएका छन जोस, जागर, उत्साह र हौसलाका बिम्बहरु । पिडै-पिडाले भरिएका शब्दहरु पनि कती मिठा छन । अक्षर-अक्षर गनेर पढु झै लाग्ने र तिनै अक्षरहरुसँग भलाकुसारी गरिरहु झै लाग्ने । पढ्दै जादा शब्दभित्रको गहिराइ मा म यसरि डुबे कि – मानौ, मलाई नै माइलोमा लागेको छ र सुलि-नलिको दर्दनाक पिडाहरुको सहायताबाट केहि समयको लागी मृत्युलाई ओझेल पारेकी छु मैले ।

पानी उनान्सय डिग्री सेल्सियसमा उम्लिदैन । एक सय डिग्रीमा उम्लिन्छ । उम्लेको पानीको बाफले रेलको इन्जिन चलाउछ, अनेकौ चमत्कार गर्छ । त्यो पानी उमाल्ने त्यही अन्तिम एक डिग्री हो । पनिलाई उमाल्न थप एक डिग्रीले फरक पारे जस्तै मान्छेको व्यक्तित्व र चरित्रका सबै भाव र अभाव त्यही एक डिग्रीले अन्तिम फरक पार्छ । औसत मान्छेको फरक त्यही एक डिग्री अथवा त्यो भन्दा पनि कम हुन्छ तर यतिबेला "अन्तर्मनको यात्रा" पढिसकेपछी मलाई अनुभुत भैरहेछ कि - नेपाली साहित्य आकाशमा "जगदिश घिमिरे" पनि त्यही अन्तिम एक डिग्री हुन र रहिरहनेछ्न अनन्तसम्म …………..!!!!

उपन्यास - तोदा

सर्वप्रथम साहित्य जगतमा "तोदा" जस्तो सर्वित्कृष्ट उपन्यासबाट कदम चालेकी उमा सुबेदी लाई सफलता र निरन्तरताको शुभकामना मेरो …………… ।
 

लेखनी केबल लेखकहरुका लागी मात्र होइन पाठक वर्गहरुका लागी पनि हुनुपर्छ भन्ने अवधारणालाई सायद अन्तरमन देखी नै मनन गरेको हुनुपर्छ उमा जि का कलमहरुले त्यसैले त अत्यन्तै सरल भाषाशैलिमा उसरी नै सरल ढङ्गले जिन्दगीका बडेमानका खाडलहरुलाई कती सजिलै सित उतारिएका छन उपन्यासमा । सुरुवात देखी अन्त्यसम्म नै कती मज्जाले एकनासले बगेका छन निबहरु । न कही लेउ लागेर चिप्लिएका न त कही कतै बेतालसित उछिट्टिएका नै । जिन्दगीको उदेक लाग्दो भोगाइबाट विरक्तिएको मनलाई झट्ट कती सजिलै सम्हालेकी छन लेखिकाले उपन्यासमा ।
चैत, वैशाखको खडेरिमा झै खङ्ग्रङ्ग सुकेका सपनाहरु बसन्त ऋतुको आगमनमा झै अपत्यारिलो ढङ्गले झाङ्गिएका छन अनि उसरी नै मरेका आशाहरुमा पालुवा पलाईरहेका छन । कागजमा पेन्सिलले लेखिएका हरफहरुलाई इरेजरले मेटे झै गरी सदा सदाका लागी मेट्न चाहेका स्मृतीहरु बेला बखतमा उकल्चिछन अनि दुखाइरहन्छन भित्री कलेजोमा टाटो बसेका स्मृतिका घाउहरु तर पनि भागमा परेका साना साना खुशीहरुबाट नै पलाउँदो रहेछ मान्छेभित्र जिउने आकांक्षा । नत्र मान्छेले जन्मेको भोलिपल्ट देखी नै मृत्युको कामना गर्न थाल्ने थिए होलान अनि अस्तित्व के नै रहने थियो होला र यो जिन्दगीको ?
स्वदेशमा आफन्तै आफन्तको बिचमा जिवन व्यतित गरिरहदा त एक्लोपनले सताइरहन्छ भने भोलिको सुन्दर भविष्यको सपना बोकेर विदेशिएका नेपाली चेलीहरुलाई त्यो विरानो मुलुकमा कती छटपटी हुन्छ होला ?, कती पिडा हुन्छ होला ?, कती जलन हुन्छ होला ? अनि कती बहन्छन होला दुइ आखाँबाट आशुका मोती दानाहरु ? भन्ने कुरा उपन्यासले नै छर्लङ्ग पारेको छ । आफ्नो घर, परिवार, नाता, गोता, इष्टमित्र सबैलाई छाडेर विदेशिनु कुनै पनि चेलीको रहर हुँदैन । सबै बध्यताले पारिल्याएको हो, परीस्थितिले जाल हानेको हो अनि चुनौती थपिदिएको हो समयले तर पनि परिवारको भोलिको सुन्दर भबिष्यलाई अंगालो हालेर नेपाली माटो देखी टाडिएका दिदी बहिनिहरुलाई यो समाजका पुरुष टोपलिनेहरुले कती सम्मको जर्जर पिडा थुपारिदिन्छन र डुबाइदिन्छन पिडै पिडाको सागरमा भन्ने कुरा उपन्यासले नै स्पष्ट बोलेको छ । उपन्यासका हरेक प्रसङ्गहरु मन छुने खालका छन तर पनि उपन्यासको शिर्षकलाई स्पष्ट पार्न अन्त्यमा केहि शब्दहरुको अभाव खट्किए झै लागी रह्यो मलाई - उपन्यासको शिर्षका अनुसार "तोदा" (धन्यवाद) कसको लागी ?

कवितासंग्रह - बागी सारङ्गी

Add caption
करिब १५ मिनेट जती बाहिरी कभरलाई नियालेरहे र अक्षरहरुमा नजर डुलाउनु भन्दा अगावै सोचे पक्कै पनि बेदनाका खाटाहरुले पोतिएका छन यसभित्रका पानाहरु अनि सोचे बेदनाका रंगहरुले पोतिएको भए पनि पक्का सुन्दर हुनुपर्छ पानाहरु …… !!!!
म जुन प्रवेशद्वारबाट भित्र छिरेकी थिए त्यही द्वारबाटै बाहिर निस्किए । 'हे बरै' कविताबाट 'यो अन्तिम कविता होईन' सम्म पुगे अनि 'यो अन्तिम कविता होईन' बाट 'हे बरै' मा आएर रोकिए म । उसो त यस कृतीभित्रका ३९ वटा कविताहरु उत्तिकै उत्कृष्ट छन तर पनि उत्कृष्ट मध्यबाट मेरो पाठकिय मनोनयनमा परेका सर्वोत्कृष्ट कविताहरुलाई सम्झन चाहे मैले, मेरो अनुमती बिना नै जुन कविताहरुले टपक्क टिपेर लगे मेरो मन ।

आधा क्यानभासमा देशबाट
११. त्राहिमाम् त्राहिमाम्
१६. अनुहार चित्र

सुत्केरी कविताहरुबाट
१८. अदालत
१९. सुत्केरी कविता
२३. प्रतिपक्षको मान्छे

प्रेमाख्यानबाट
२५. सम्बन्धको सौन्दर्यस्हास्त्र
२८. अधुरोपना
२९. प्रेमाख्यान

सम्बोधित आस्थाबाट
३०. वक्ररेखा
३१. उँटहरुको देशमा
३४. मान्छे हुनुको अर्थमा

जती सुन्दर सोचेर प्रवेश गरेकी थिए त्यो भन्दा अझ बढी सुन्दर भेटे मैले । शब्दका रंगहरु कही कतै पनि लतपतियका छैनन । ठिक बिम्बहरुमा ठिक ठिक तरिकाले पोतिएका छन अक्षररुपी रंगहरु तर पढिरहदा मुटु चिसो भैरह्यो । कतिपटक त भक्कानिएर रोकिए पनि । अझ आशाका सुनौला किरणहरुको रंग मिसिन पाएको भए सुनमा सुगन्ध फैलने थियो ।
……………………………
बागि
आफ्नै मन बागी भएपछी कसको के लाग्छ र ?

मन र बागी मनको अनुहार लेखी नै रहनेछु ।
एउटा सिमान्तमा म छु
फेरी पनि
लेख्नु छ कविता अन्य हजारौ सिमान्तहरुको
फेरी पनि
लेख्नु छ कविता मान्छेहरुको, मान्छेभित्रका मान्छेहरुको
मेरी सँगिनि,
यो अन्तिम कविता होईन, हुँदै होइन ।
……………………………………….
‘यो अन्तिम कविता होइन’ शिर्षकमा भनिए झै यस्ता तेजस्वी कविताहरु ति सिर्जन्सिल कलमहरुबाट निरन्तर कोरिइरहुन र हामी आखाँ अगाडी फिजारीरहन पाउँ कामना रह्यो मेरो अनि कवयत्रीलाई शुभकामना पनि ……. !!!
दिनहुँ जसो डुङ्गा खियाउने नदिको पानीमा पनि ऋतुहरुको फेरबदलले उतारचढाव ल्याइदिन सक्छ अनि लेउ लाग्न के बेर किनारका डुङ्गाहरुमा र त कुनै समयमा डुङ्गाले माझिलाई झुक्याउन सक्छ र माझी चिप्लिन सक्छ तर अह! Saraswati Pratikshya का निबहरुमा कही कतै लेउ लागेका छैनन र चिप्लिएका छैनन अक्षरहरु पनि न त कही कतै बेगेका नै छन बेतालसित भावहरु । आहा! कती मज्जाले सलल बगेका छन कविताहरु । पढिरहु, पढिरहु, पढिरहु लाग्ने गरी ।
पढिसकेपछी एकछिन फेरी सोचे - देश दुखेको बेदनामा आफै दुखेर, सुत्केरिको पिडामा आफै छट्पटिएर, प्रेमिल उज्याला सम्बन्धहरुमा आफै रमाएर र सम्पुर्ण मानविय भोगाइहरु आफैले भोगे कै सरह दुरुस्तै उतरिएका ति शब्द-शब्द प्रती नमन गरे मैले अनि ति कलमहरुलाई यो मुहारपुस्तिकाबाटै अभिनन्दन मेरो ।

कथासंग्रह - चक्लेट

चक्लेट भन्नासाथ हामी सबैले सजिलै बुज्छौ मिठाइ भनेर तर यहाँ मिठाइ हैन Nayan Raj Pandey को कथासंग्रह "चक्लेट" को कुरा गर्न खोज्दैछु म यतिबेला ।
छुट्टाछुट्टै २७ वटा शिर्षकमा उतारियको यस संग्रहमा शिर्षकहरु जती सरल भयता पनि भाव भने उत्तिकै गहन छन ।
गाउँबाट चुनाव जितेर शहर पसेका नेताहरु अर्को चुनाव आउँदा मात्र गाउँ फर्कनु अझ गाउँको बाटो नै बिर्सेर पुन: उहि बाटो शहर छिरेका व्यँग्यात्मक प्रस्तुती देखी लियर गरीबिको रापले थिचिएका झुपडिहरुमा दुइ छाक पेटभरी भात खाने सपना केबल सपना मै सिमित रहेको प्रसंगले निकै भावुक बनायो मलाई ।
नेपालमा भैरहने बन्दको कारणले आफ्नो एक मात्र सन्तान (छोरो) को उपचार गराउन नपाई मृत्यु भएको प्रसंगलाई उठान गरिएको "बाह्र बजे" ले पनि मन चसक्क पार्यो उसैगरी फुलको बिजनेस, मुनामदनको नयाँ कथा र हे नमदे जस्ता शिर्षकमा कोरिएका कथाहरुले मेरो मनमा हल्लिखल्ली मच्चाइदिए ।
एक सुन्दर युवतिले किशोर युवक सँग लिफ्ट माग्दा आनाकानी कसले पो गर्ला र ? अझ
मध्यरातमा..... !! मध्यरातमा लिफ्ट माग्ने "नैतिकता" को वर्षौ अघी मृत्यु भैसकेको छ भन्ने "भुत" खण्ड पढ्दा आङ नै सिरिँग भयो अनि जिउ भरी काडा उम्रीए ।
तर यस कथासंग्रहमा कोरिएका हरेक कथाहरुको बिचमा आखाँभरी फुलेका सपनाका फुलहरु ओइलाएका छन तसर्थ कथाको अन्त्यमा आशाका सुनौला किरणहरु कही कतै भेट्न पाइएन ।
जे होस प्रस्तुती बेजोड लाग्यो तसर्थ Nayan Raj Pandey का सृजन्सिल कलमहरुलाई यो मुहारपुस्तिका बाटै अभिनन्दन ।

उपन्यास - सेतो धरति


पहिलो र दोस्रो पटक भन्दा तेस्रो पटक धेरै रोय म । उसो त आफु "तारा" बनेर आमालाई आफ्नो जिवनको वास्तविक कहाँनी सुनायकी थिय त्यसैले पनि होला मन नथामियको । सायद आमाको आखाँ ओभानो भैदियको भय पनि त्यसरी भक्कानो छुट्दैन थियो होला ?

"सेतो धरति" पढिरहदा स्वयंम आफु तारा बनिरहेको पुर्ण महसुस थियो मलाई । चुर्लुम्मै डुबे म ताराको यथार्थतामा आफ्नो प्रतिमा राखेर ।
यस्तै शसक्त लेख आगामी दिनहरुमा पनि पढ्ने सु - अवसर पाइयोस आशा अनि अपेक्षा रह्यो सम्पुर्ण लेखकहरु समक्ष । यसपालिको "सेतो धरति" को लागी सलाम छ Amar Nyaupane को सृजन्सिल र प्रतिभासाली कलमहरुलाई ।

Monday, June 17, 2013

गजलका थुँगाहरु श्रृंखला– ८ (नारी स्रष्टा विशेष)

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने

कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 
गजलका थुँगाहरु श्रृंखला– ८ (नारी स्रष्टा विशेष)
मितिः– 2070।3।3 Monday   
गजलका थुँगाहरु श्रृंखला– ८ (नारी स्रष्टा विशेष) नमस्कार साथीहरु, आज मिति २०७०।3।3 गते सोमवार हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित रामकृष्ण पौडेल अनायास र फुच्ची जमुना  हुनुभैक्नुभएको छ ।

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Download Here

Sunday, June 2, 2013

गजल २२


"मधु" ले झै वायुपंखी घोडा चडाएर एकदिन
मलाई लैजानेछ "मालति" बनाएर एकदिन

चुरा,पोते,गुन्यु,चोली सँगै जन्ती लिएर आउछ
खाली सिउँदो आफ्नै हातले भराएर एकदिन

पक्का ल्याउनेछ रातो घुम्टो मेरो लाज छोपिदिन
हेर्नु, म अन्मिनेछु नौमती बजाएर एकदिन

तिम्रो दु:ख नै मेरो दु:ख तिम्रो खुशी नै मेरो खुशी
भन्नेछ उसले मेरो हात समाएर एकदिन

बाचे  सँगै मरे सँगै जनम जनम सँगै हामि
त्यो पनि भन्नेछ दिलभित्र बसाएर एकदिन