कुरो त्यो बेलाको हो जुन बेला मेरो एस एल सि परिक्षा चलिरहेकी थियो । फलामे ढोका भनिएको परिक्षा । सानै देखी पढ्नमा तेज थिए म तसर्थ सरहरु सबैको नजर म माथि पर्नु नौलो कुरा भएन र सबैले गरेको म प्रतिको आशालाई मृगतृष्णा हुन दिन मलाई पनि मेरो मनले अनुमती दिदैन्थ्यो तसर्थ म पढ्न चाहान्थे । धेरै पढ्न चाहान्थे र चाहान्छु अझै पनि । भोली परिक्षाको पहिलो दिन । अङ्ग्रेजी बिषयको परिक्षा थियो ।
समय गहुँ काट्ने बेलाको थियो । आमा र दिदी खेतमा गहुँ काट्दै हुनुहुन्थ्यो म घरमा पढ्दै थिए टुकिको सहायताले । बुवा खै ! कता जानु भएको थियो थाहा भएन । करिब ८:०० बजेतिर लडबडिएका खुट्टा र लरबरीएको बोली परै थाहा पाए मैले । त्यस्को केहि वास्तै गरिन र गर्न जरुरी पनि ठानिन किनकी भोली एक्जाम छ मेरो । त्यसैले पढिरहे । दाया बाया ध्यान कतै नफिजारेर । बुवा सरासर मैले पढिरहेको खाटनेर आउनु भयो र सोध्नु भयो - आमा खै ? मैले भने - गहुँ काट्न खेतमा । एकछिन सुनसान भयो । बुवा पनि बोल्नु भएन म पनि बोलिन ।
हाम्रो घरमा जम्मा दुइ वटा मात्र खाट थियो । अगेनानिर एउटा थियो । अनि मुल ढोका नेर एउटा । अगेनानिरको खाट अगाडी एउटा झ्याल थियो । जहाँ मन दुखेको बेला र कसैले गाली गरेको बेला त्यही झ्यालबाट बाहिर हेर्दै रुने गर्थे म । अनि अगाडी पट्टी नै थियो चुल्हो पनि । नजिकै नजिकै थियो । जुन चुल्होको धुवाँले मेरा किताबहरु ध्वासा भएका थिय र पनि खुब माया गर्थे म मेरा किताब र कपिहरुलाई ।
बुवा बाहिर भित्र गरिरहनु भएको थियो । एकाएक चिच्याउन थाल्नु भयो – आमा र दिदिले यसबेलासम्म गहुँ काटिराँ छन । यो राडी पढन्ते भा'की । या आफुलाई भोक लाग््या छ । खेताँ नगए घरमै थेच्चेर पकाको भए नि हुन्थ्यो नि । यही बिचमा म बोले - के पकाएर बस्नी हो र मैले भोलिको जाच छ र । त्यसपछी बुवा झन पड्किन थाल्नु भो - तलाई भात नपचेको राडी । पढ्छेस कि भात पकाउछेस हँ । खुरुक्क भात पका । म चुपचाप थिय । तैले नसुनेकी होस ? मैले नसुने झै नै गरे । बुवा बाहिर पुगेर भित्र आउनु भो र मैले टुकी अगाडि फिजारेका किताब र कपी अगेनामा लगेर फालिदिनु भयो । म एकैचोटी छाङ्गाबाट खसे झै भए । एकाएक आखाँभरी आशु भयो । म गले थचक्क भुइमा बसे । मेरो कपाल समातेर लतार्दै बाहिर लग्नु भयो र कटिबासको लट्ठिले मेरो ढाडमा हिर्काउनु भयो । म घोप्टो परेर रोए । उत्तानो परेर रोए । रोए । बेस्सरी रोए । पिटाइले भन्दा पनि व्यवहारले मन दुखेर रोए । धेरै रोए । म रोएको सुनेर आमा खेतबाट हतारिदै आउनु भो । आमा मेरो अगाडी उभीदा आखामा टिलपिल टिलपिल आशु भैसकेको थियो । म रोएको देखेर म सँगै रुनु भो आमा । मैले यत्ती थाहा पाए । यत्ती सम्झिए । केहि सम्झिन सकिन आमाले बुवालाई के के भनेर गाली गर्नु भो भनेर । तर मधुरो याद छ - त्यो रात आमाले "रोटी खान उठ् छोरी । जती रुच्छ खाएर सुत् । भोली बिहानै उठेर जाच दिन जानु पर्छ" भनेर बोलाएको तर मैले त्यस रात आमाले माया गरेर खान दिएको रोटी खान सकिन । म उठ्नै सकिन कसरी सक्थे खान ?
जसो तसो गरेर पठाउने , ठुलो मान्छे बनाउने रहर छ मेरी आमाको मनमा - आमाले नभने पनि बुझ्न सक्छु म । आमाका आखाँहरु हेरेर नै । आफुले त सुख पाउनु भएन नै तर छोराछोरी जन्माएर पनि कहिल्यै सुख भएन मेरी आमालाई । आफ्नो पिर माथी आफ्नो सन्तानको पिर थपिदा कती मर्माहत हुन्छ होला त्यो मन ? त्यो रात आमाका आखाँ एकपटक पनि जोरिएनन । यता र उता फर्किदै लामो स्वास फेरेको चाल पाइरहे मैले । आफुलाई गरिएको व्यवहार भन्दा पनि आमाको दुखेको मन बढी सम्झिरहे मैले र त्यसपल लाग्यो मलाई - यो संसारमा मेरी आमा जस्तो दु:खी कोही छैन ।
यो संसारमा मेरी आमा जस्तो दु:खी अरु कोही छैन (खण्ड 'क' ) - पढ्न यहाँ क्लिक गर्नुहोस् ।