“पानीको घाम” माथी छरिएका मेरा पाठकिए नजरहरु :
अमर न्यौपाने व्दारा लिखित आख्यान कृती "पानीको घाम" माथी सयर गर्न खोजिरहेकी छु म यतिबेला । छुट्टाछुट्टै १९ वटा शिर्षकमा अनुबन्धित छ यो आख्यान । आख्यानको स्थान नेपालगन्ज र पात्रहरु नेपालगन्ज बासिलाई उतारिएको छ । स्थलगत अवलोकन व्दारा लेखिएको हुनाले आख्यान काल्पनिकताको धरातलबाट मुक्त छ ।
समाजमा सुरुप नारिहरु असुरक्षित छन् तर कुरुप नारिहरु सुरक्षित छन् । उनिहरुलाई कसैको सुरक्षाको जरुरत पर्दैन् । एउटी युवतिलाई बा, आमा, दाजुभाइ, लोग्ने, प्रेमि, प्रसासन , सेना- प्रहरी , भागवान कसैले पनि दिन नसकेको सुरक्षा कुरुपताले दिन्छ भन्ने भाव व्यक्त गरिएको आख्यान शिर्षक 'उ असुरक्षा मान्छे' ले निकै मन तान्यो मेरो । आखिर सुन्दर हुन रहर कसलाई पो हुँदैन र ? तर आफ्नो ज्यान र जवानिको सुरक्षाका खातिर कुरुप हुनु भनेको बरदान सावित हुनु जस्तै हो किनकी खुला आकाश मुनी निवस्त्र उत्तानो परेर सुतुरहेकी 'सुन्दरि' (पात्रको नाम ) को छेउमा ब्युझिदा भुस्याहा कुकुर टासिएर सुतुरहेको हुन्छ तर लोग्ने मान्छेको नजरसम्म पनि परेको हुँदैन् ।
"साटिएका फूल" शिर्षकमा शवनम र शितल को व्यवहारले नारी जिवनको पिडा कथानलाई स्पष्ट झल्काइदिएको छ भने लोग्ने जस्तो सुकै प्रवृत्तिको भए पनि श्रीमती भने पतिव्रता भएर बस्ने गर्छन् भनेर मार्मिक भाव व्यक्त गरिएको आख्यान शिर्षक ' हिडिरहेको बाटो र कुरीरहेको रुख ' का पात्रहरु विरथ र विरथ कि श्रीमती प्रेमपताको भूमिका निकै सर्हानिय लाग्यो मलाई । मान्छे बाहिर हेर्दा जस्तो भए पनि भित्री चरित्र देखे जस्तो हुँदैन् । जहाँ विरथले रामको भूमिका निर्वाह गरे पनि रामको जस्तो चरित्र देखाउन नसक्नु तर प्रेमपता भने मेरो पती अब सुधृयो र राम नै भयो भन्ने स्वेत कल्पनामा हराउनुले स्वास्नी मन्छेहरुको साघुरो मस्तिष्कको अट्टहास गरे जस्तो पनि भान भयो ।
सबै नारिहरु सहन सक्ने क्षमताका हुँदैनन् । कसै-कसैमा विद्रोही भावना हुन्छ । निसंकोच विद्रोह गर्न सक्ने आटिला नारिहरुको को झलक दर्शाउन खोजिएको आख्यान शिर्षक 'अस्तित्वको दावि' र 'रिमिक्स' पढिसकेपछी केहि हदसम्म सन्तुष्तिको आभास भयो मलाई । रिमिक्स शिर्षक माथी सयर गरिरहदा मलाई लेखिका - सिता पाण्डेको याद आयो । उनले भनेकी छन् कुनै लेखमा - मलाई लोग्ने चाहिदैन् लोग्ने मान्छे भए पुग्छ । त्यस्तै यहाँ पनि मिसाइएको छ एउटा वाक्य - छोराछोरी पाउन बिहे गर्नु पर्दैन् ।
नेपालगन्जमा बसोबास गर्दै आइरहेका सिमान्तकृत समुदायको जिवनशैलीलाई यस आख्यानमा उतार्ने प्रयास गरिएको छ । जहाँ हसिया हथउडामा भोट लगाएर पनि काङ्ग्रेसलाई दिए भन्ने अबुझ मान्छेहरु छन् , लव भनेको धनीहरुले गर्ने हो गरीबले होइन् भन्ने सोझा मान्छेहरु छन् , निल्न नसकेर आधा चपाएर ओकलेको पानसँग आफ्नो जिवनलाई दाज्ने असन्तुष्ट मान्छेहरु छन् , चाहना भएर पनि असुरक्षित हुन नपाएका तर वेश्या हुन सुन्दर भएर जन्मिनु पर्ने रहेछ भन्ने तल्लो सोचका मान्छेहरु छन् , घरेलु सम्स्या समेत टार्न मुस्किल परेका गरीबहरुका कथा गरिबिले खाएको हुन्छ भन्ने अशिक्षित मान्छेहरु छन् , यस्तै यस्तै थुप्रै थुप्रै भिन्न भिन्न सोचका मान्छेहरु बसोबास गर्छन् ।
तिनै मान्छेहरुको वास्तविकतालाई उतार्ने कोसिस भरसक गरेका छन् लेखकले । उस्तै गरी यौनका कुरा, समग्र नेपालगन्जको रुप र रंगहरु , जिवनप्रतिको चिन्तन तथा विगत र वर्तमान को राजनैतिक स्थितिलाई पनि समेट्ने प्रयास गरिएको छ तर यो अख्यान पढिसकेपछी म निकै अलमलमा परे र सोचे - भन्न त आख्यान भनेर पढे तर यो निबन्ध जस्तो पनि छ र कथा जस्तो पनि छ तर जेहोस् यस भित्र समेटिएको साहित्यिक सरसताका साथै सरल प्रस्तुतिले मन तन्यो मेरो ।
उसो त 'सेतो धरति' मा खोट लागाउने ठाउँ भेट्दिन म तर पहिलो आख्यान कृती 'पानीको घाम' पढिसकेपछी लाग्यो - सेतो धरती अझै ससक्त हुनुपर्ने थियो ।
कुनै पनि मान्छे बत्तिस लक्षणले युक्त हुँदैन तसर्थ राम्रो भैकन पनि यस कृतिभित्र केहि मसिना त्रुटिहरु भेट्न सकिन्छ । जस्तो कि - कतिपय प्रसँगहरुको अनावश्यक रुपमा विस्तार गरिएको छ । 'उ असुरक्षा मान्छे' शिर्षकमा सुरुप र कुरुप नारिप्रतीको पुरुष प्रधान समाजलाई उभ्याउन खोजिएको छ जुन भाव अव्वल रुपमा उठेको छ तर नारी माथिको यौन मनोभावनालाई अति सस्तो रुपमा अभिव्यक्त गरिएको । ता कि यौन त्यती सस्तो छैन जती कथामा उल्लेख गरिएको छ ।
अन्त्यमा नेपालगन्जमा बसोबास गर्ने निम्न स्तरका बासिन्दालाई जसरि फुटपाथबाट टिपेर जती सस्तो तरिकाले कथामा उतारिएको छ त्यस्तै गरी केहि उच्च वर्गको समुदायलाई पनि समेट्न पाएको भए र उनिहरुको पहुचसम्म पुगेर तुलनात्मक हिसाबले पात्रहरुलाई उभ्याउन सकिएको भए कृती अझ उत्कृष्ट बन्ने थियो कि जस्तो आभास भयो मलाई ।