Tuesday, May 27, 2014

निबन्ध - धोविघाट एक्सप्रेस


रोशन शेरचनको "धोबिघाट एक्सप्रेस" मा यात्रा गरिसकेपछिको यात्रा संमरण :




"धोबिघाट एक्सप्रेस" नाम सुन्नासाथै मैले लख काटे - पक्कै पनि जनयुद्धको बेला माओवादिका डा. बाबुराम भट्टराई र डा. मोहन बैद्द किरणले गरेको धोबिघाट सम्झौतामा केन्द्रीत होला भनेर तर जनयुद्धको प्रभाव त रत्तिभर पनि परेको रहएनछ यस एक्सप्रेसमा । यातायात व्यवसायिले गरेको उपत्यका बन्दको दिनमा चलेको धोबिघाट एक्सप्रेसलाई जस्तै । आफ्नै गतिमा कुदिरहेको यो पनि ।


जम्मा जम्मी २४ वटा शिर्षकमा संग्रह केन्द्रीत छ । सबै शिर्षकहरु उत्तिकै दरिला छन् । विगत देखी वर्तमान सम्मको साहित्य जगतलाई नियाल्ने कोसिस गरिएको छ क्रीतिभित्र । अझ कवितालाई विशेष केन्द्रमा राखेर वाक्यांशहरु तयार गरिएकोछ । यस अर्थमा निबन्धात्मक कृतिले निबन्धलाई भन्दा कवितालाई विशेष जोड दिइएको पनि ठहर्छ ता कि यहाँनिर निबन्ध माथी सोझै अन्याय भएको छ । २४ वटै निबन्ध शिर्षकले दिन खोजेको र बोकेको भाव अव्वल छन् र उर्जाशिल पनि छन् तर लेखकको लेखाइले यदाकदा भावहरु तितर वितर भएको महसुस भयो मलाई । सुरुवाती निबन्धमा भितृएको प्रसंगहरु अझ भनौ बिच बिचमा निबन्धलाई मसलेदार बनाउन मिसाइएका प्रसंगहरुको तालमेलमा बेमेलको स्थिती सिर्जना भएको देखियो तर पछिला पछिल्ला निबन्धहरुमा ति बेमेल र अक्षर अक्षर बिचको खिचातानी साम्य हुँदै गएको पनि छ । यसर्थ लेखक सुधारात्मक पक्षधारबाट अगाडी बढिरहेको अनुमान गर्न सकिन्छ ।


लेखकाहरुमा लेखिरहदा चिप्लिने स्वभाव पनि हुदो रहेछ । जुन चिप्लाईले लेखक स्वयमलाई निकै आनन्द दिन्छ रे । रोशन शेरचन पनि एकादुइ ठाउँमा चिप्लिएका छन् एक्सप्रेस यात्रामा । उसो त एक्सप्रेसलाई ब्रेक लगाउदा लगाउदै चक्काले स्लिप खाएको हो या बाटोघाटोको समस्याले चिप्लियो ? त्यो आन्तरिक कुरा एक्सप्रेस चालकलाई नै थाहा होला तर मेरो बुझाइ अनुसार चालक जानी जानी भन्दा पनि कही कतै नजानेर चिप्लिएको भान भयो मलाई । लेखन यात्रामा इमान्दारी बन्न भरसक मेहनत गरिरहेका शेरचनले निबन्ध कृती धोविघाट एक्सप्रेसमा उक्त मेहनतले सफलताको शिखरसम्म पाइला टेक्न सघाउला या नसघाउला त्यो भावी दिनले बताउनेछ तर त्यो इमान्दारिताको मेहनतलाई नै सबैभन्दा ठुलो र सम्मानानीय कदम भन्ठान्छु म ।

सुरुदेखी अन्त्यसम्म पुग्दा यस्तो लग्यो - धोविघाट एक्सप्रेस भनेको शेरचनलाई मन परेका निबन्धकार र कविहरुको व्याख्या हो । एकै निबन्धकार र कविहरुको व्याख्या पटक पटक गरिएको छ अनि एउटै कुरा दोहोर्याइ तेहेर्याइ बिच बिचमा मिसाइएको छ । जसले गर्दा लेखकले दिन खोजेको मिठासपनमा फितलो आएको छ । आफुलाई प्रभावित पारेका लेखकहरुलाई स-हृदय सम्मान गर्नु आफ्नो निजी अधिकारको कुरा हो । सायद शेरचनले पनि त्यही अधिकारको प्रयोग गर्न खोजेको हुनुपर्छ तर उक्त अधिकारको प्रयोग गर्दा ईश्वरवल्लभले भने झै भाषा र शैलीलाई बिशेष ख्याल पुर्याउनु पर्ने देखिन्छ । अझ थुप्रै सुधार्ने ठाउँहरु छन् यस कृतिभित्र पनि । उसो त सबै लेखकहरुको लेखन कला एकै किसिमको हुँदैन् र हुनुपर्छ भन्ने पनि छैन् । सबैको लेखन शैली आ-आफ्नै किसिमको हुन्छ तर जुन किसिमले लेखे पनि लेख पाठकले बुझ्ने सरल भाषाको हुनुपर्छ यो मेरो व्यक्तिगत मान्यता हो । भए भरका अल्ठ्याङ बल्ठ्याङ र अलमलमा पार्ने खालका अप्ठ्यारा शब्दहरुको प्रयोग ले लेखलाई उच्च ओहोदा दिन्छ भन्ने कुरा म मान्दिन । यदी तपाईंले लेख्नु भएको निबन्ध, कविता, कथा या उपन्यास जे होस आफ्नै लागी लेख्नु भएको हो भने जस्ता शब्द राख्नुस जती गहन शब्दहरु मिसाएर जती सुकै गहन कृती तयार किन नपार्नुस त्यो हामिलाई सरोकारको बिषय भएन । यदी तपाईंले लेखेका लेखहरु पाठकले पढुन र प्रतिकृया दिउन भन्ने अपेक्षा राख्नुहुन्छ भने सहजताको र सरलताको घेरामा उभिएर लेख्न कहिल्यै नबिर्सिनु होला । यहाँनिर शेरचनले प्रयोग गरेका लेखक र पुस्तकिय ठेलिहरुको अप्रासंगिक व्याख्याले हामी जस्ता सामान्य पाठकहरुको मस्तिष्क भुट्ने काम बाहेक अरु केहि गर्न सक्दैन् ।

आफ्नो मुल्याङ्कन आफै गर्ने व्यक्तिलाई म मुर्ख मान्छु । एक्सप्रेस यात्रामा लेखकले पनि त्यही मुर्ख्याइको काममा हात पसारेका छन् । लेखकले निबन्ध कृती प्रकाशन गरिसकेपछी पाठकहरुले सजिलै बुझ्ने कुरा उनि निबन्धकार हुन तर उनि आफैले निबन्ध विधालाई थप सवल बनाउँदै लगेका निबन्धकारहरुको सुचिमा आफुलाई पनि उभ्याएर व्याख्या गर्नु सान्दर्भिक थियो जस्तो मलाई लाग्दैन् । तसर्थ पनि लेखकले सानो भन्दा सानो कुरालाई पनि ध्यानमा राखेर लेख्नुपर्ने आवश्यक हुन्छ । अन्यथा हेल चेक्र्याइ गरिएको त्यही सानो गल्तिले ठुलो मेहनतलाई फितलो बनाइदिन्छ ।

बाटोघाटोमा देखिएका खाल्टा खुल्टिलाई पार गर्दै धोविघाट एक्सप्रेस गन्तव्यसम्म पुगोस मेरो कामना छ र एक्सप्रेस चालक रोशन शेरचनले एक्सप्रेसको कन्डिसन सदैव ठिक राखिदिनुहुन अनुरोध पनि किनकी एक्सप्रेसको कन्डिसन ठिक भएमा एक्सप्रेसले चालकलाई मात्र होइन यात्रुहरु सबैलाई गन्तव्यसम्म सजिलै पुर्याउनेछ । तसर्थ धोविघाट एक्सप्रेसले रोशन शेरचन लाई गन्तव्यसम्म पुर्याओस मेरो कामना साथै कृतिको सफलताको शुभकामना पनि ।