Tuesday, May 27, 2014

उपन्यास - कर्णाली ब्लुज


बुद्धिसागर को “कर्णाली ब्लुज” माथीको पाठकिए टिप्पणी :

जुन कुनै कृती पढिसकेपछी अगाडिको पेजमा रातो पेनले साइन गर्ने गर्छु म । पढी सकेपछी ठिकै लाग्यो भने एउटा साइन, राम्रो लाग्यो भने दुइ वटा साइन र उत्कृष्ट लाग्यो भने तीन वटा साइन ।

यो उपन्यास हर्षबहादुरको जिवन वरिपरी रहेर लेखिएको छ । उसको बालापन देखी युवावस्थासम्मको समग्र जिन्दगीलाई निकै मसिनो गरी केलाईएको छ । हर्षबहादुर - वृषबहादुर को छोरो । एक्लो छोरो । आमा, बा, दिदी र भाई गरी जम्मा चार जनाको सानो र सुखी परिवार छ उनिहरुको । जहाँ हर्षबहादुरका बा डाक्टर हुनुहुन्छ । उनिहरुको परिवारमा ममता दिदिको ममताले निकै सर्हानिय भूमिका खेलेको छ । उनि पर्वतिकी साथी हुन् र पनि पारिवारिक सदस्य भन्दा कम थिइनन् तर यो आत्मियता रहनुले पनि स्पष्टै थाहा हुन्छ कि उनिहरुको परिवार कती मिलनसार र मायावी छ भनेर । आफ्नो जिन्दगीदेखी थकित छिन ममता । आफ्नै जन्मदाताले गरेको अपहेलनाले उनको कालीलो मस्तिष्कमा नराम्रो प्रभाव परेको छ ।

पैसा पाएको दिन ममता दिदी हाम्रा बालाई रातो रिबन ल्याइदिनु भन्थिन् । बाले चुपचाप ल्याइदिनु हुन्थ्यो । "क्यार्छेउ दिदि, यत्तिका रिबन ?" म सोध्थे ।
"एकदिन यिनैमा झुन्डेर म र्छु " भनेर एकछिन चुप लाग्थिन् ।

यो वाक्यांशबाट नै थाहा हुन्छ कि ममता दिदिको जिवन र ज्युनुसँगको समग्र दृष्टिकोण । आखिर, उनले भने झै नै उनि चाडै नै मर्छिन तर रिबनमा झुन्डिएर हैन ज्वरोले थला पारेर । आमा बाले औषधोपचार नगरेर ।

यहाँनिरको यो प्रसंगले मेरो मुटु हल्लिएको थियो जहाँनिर मगर मामाले भन्नु भो - ममताले खाल्डोमा पुर्ने बेला श्वास फेरेकी थिइन् ।

हर्षबहादुर पढ्नमा लद्दु छ तर चकचक गर्न खुब तेजस्वी छ । पढ्दापढ्दै दिदी पार्वती पोइला जान्छिन । यस घटनाले बा आमाको मनमा पहिरो जान्छ । त्यसपछी हर्षबहादुरको परिवार कालिकोट बसाइ सर्छ । कालिकोटबाटै उसले एस एल सि पास गर्छ र उ काठामाण्डौ पढ्न जान्छ । काठमाण्डौ बाटै +२ पास गर्छ र ब्याचलर दोस्रो वर्षमा पढ्दै छ उ अहिले । यही बेला उसको हातमा एउटा चिट पर्छ । जहाँ लेखिएको हुन्छ -'तुरुन्त कोहलपुर टिचिङ हस्पिटल जाने । ड्याडी बिरामी हुनुहुन्छ । २:३० मा फोन आएको थियो ।' उ तुरुन्त हस्पिटल पुग्छ । बा बिरामी हुनुहुन्छ । बेडमा सुतिरहनु भएको हुन्छ । बा'को पिरले आमा बिरामी झै हुनुहुन्छ । बा लाई सन्चो नहुने थाहा पाएपछी मनको घिट्किसो नातिको मुख हेर्ने रहर पुरा गरिदिन सुर्खेत लईजादै गर्दा बाले बाटोमै अन्तिम हिक्का छोड्नुहुन्छ ।


यही कथावस्तुको वरिपरी घुमेकोछ उपन्यास । जहाँ कर्णाली छेउछाउका बासिन्दाहरुको गरीबिलाई पनि स्पष्ट रुपमा देखाउन खोजिएको छ भने केहि प्रसंगहरुबाट जनयुद्धलाई मिसाएको छ । मटेरादेखी कटासे बजार र कालिकोट सम्ममा भेटिएका चन्द्रे, ममता दिदि, भागिराम, बाटु, मन्दिरे, छोट्कु जस्ता फरक फरक पात्रहरुको भिन्न भिन्न परिवेशले उपन्यासलाई पुर्णता दिन साथ दिएका छन् । आफ्नो परिवारको लागी विशेष गरी बाले गर्नु भएको संघर्षलाई उतार्न खोजिएको यस उपन्यासमा सन्तानको लागी बा आमाले गर्ने त्यागलाई पनि उठाउन खोजिएको छ भने बाटुको कथाले छोरी मन्छेहरु अझै पनि आफ्नो इच्छा , चाहना र रहरलाई आफ्नै पैतालाले कुल्चेर हिड्न बाध्य छन भन्ने बाध्यात्मक परिस्थितिलाई दर्शाउन खोजिएको छ । पढिरहदा - प्रसंग जहाँ जहाँ पुग्छ त्यही त्यही आफु पुगेको भान भयो मलाई । पाठकलाई अकर्षित गर्न नसक्ने लेखहरु असफल लेख हुन तर बुद्धिसागर यसमानेमा सफल लेखक सावित भएका छन । उसो त लेखक स्वयम आफु जन्मे हुर्केको ठाउँ मै केन्द्रीत रहेर लेखेको भएर पनि होला स्थान र प्रसंगहरु को अनुकुलता अनुसार पात्रहरुको संयोजन कही कतै झुक्किएको छैन न अलमलिएको नै छ । र सोही अनुरुप पात्रहरुलाई उभ्याउन सक्षम देखिएका छन लेखक । जुन सक्षमता सबै लेखकहरुले सहजताका साथ पार गर्न कठिन पर्छ ।

लेखाइ एकदमै सरल छ । पाठकलाई आकर्षित गर्ने कलामा निपुर्ण देखिन्छन बुद्धिसागर । उसो त सबै पाठकहरुको माग एकै प्रकारको हुँदैन न त लेखकले त्रुटी रहिर बनाउन नै सक्छ आफ्नो लेख तर पनि म चाहान्छु - हरेक उपन्यासहरुको अन्त्य सुखद होस । पढिरहदा जती सन्तुष्ट थिए म त्यती नै असन्तुष्ट यो दु:खद अन्त्यले बनायो मलाई । तसर्थ उपन्यासको अगाडिको पानामा मैले दुइ वटा साइन गरेर राखे ।