Wednesday, May 14, 2014

१७. कविता : मैले पनि परागसेचन गरे !


हो, मैले तिमीलाई कहिल्यै मन पराइन ।
मन पराउनु - केबल सौन्दर्यको आकर्षण हो ।
तसर्थ, हृदयको आखाँले हेरे !
मस्तिष्कको गहिराइले चिन्तन गरे !
र, मैले तिमीलाई प्रेम गरे !


कतै दु:खका कुरा
कतै सुखका कुरा
कतै सफलताका कुरा
कतै असफलताका कुरा
कतै आटँ, साहस र हौसलाका कुरा
त, कतै बिलौनाका कुरा
म भन्थे तिमी सुन्थ्यौ
तिमी भन्थ्यौ म सुन्थे
केहि भने जस्तो केहि नभने जस्तो
तर केहि छुटे जस्तो
मनमा खुल्दुली भैरह्यो
जब, म आफैले लेखेको
मेरो जिन्दगीको पहिले कथा
सुनाउन छुटाए तिमीलाई !

म खोक्रो छु !
र लाग्थ्यो - बोक्रो जस्तै छु !
तर हैन, म भित्र पनि गुदी रहेछ !
गुदिभित्र स्वाद रहेछ !
र रहेछ - स्वदभित्र मिठास पनि
तिम्रो प्रेमले सम्झायो मलाई !

आशुभित्र प्रेम हुन्छ !
दु:खभित्र स्नेह हुन्छ !
र हुन्छ - पिडाभित्र साहस !
तिम्रै प्रेमले सिकायो मलाई !

तर म बाट खै ! के सिक्यौ तिमीले ?
सिक्यौ भने - केबल
दु:खको आशुले पिडाको सितनसित
छट्पटिको गास खाएर
पेट भर्दा कस्तो हुन्छ ? -
पक्कै महसुस गर्न सिक्यौ होला ?

डाह लाग्थ्यो - आफ्नै प्रेमसँग या तिमीसँग ?
तर लाग्थ्यो - म केहि ढिलो जन्मिए
र ढिलो भयो तिमीलाई भेट्टाउन !

फूल फक्रीन लाग्दा
कती हम्मेहम्मे पर्यो होला उसलाई
आफ्नो जवानिको सुरक्षा गर्न ?
कती झुम्मिए होलान्
र्याल चुहाउदै भमराहरु ?
हजारौ भमराको भिड छिचोलेर
आयो एउटा भमरा
मानौ, हजारौ भमराहरु भिलेन थिए
र उ फिल्मको नायक थियो !

खै ! के हो यो ? -
चाहना, रहर या आवश्यकता ?
आमा बन्नु भनेको
छोरिको जन्म सफल हुनु हो रे !
यस्तै, फूलमा परागसेचन पनि अपरिहार्य छ रे !
जुन साझ फूलले परागसेचन गरेथ्यो
त्यही रातदेखी भमरा बेखबर बनेथ्यो
तिमी पनि बेहिसाब टाडा भयौ -
जुन रात मैले पनि परागसेचन गरे !