Thursday, June 5, 2014

आमा ! …… घाटी थिचेर किन मारिनौ मलाई ?


जतिबेला म सानै थिए त्यतिबेला सानो थियो मेरो मनस्थिती पनि । मलाई जन्मदिने मेरी आमाले नै स्वयम भन्ने गर्थिन मलाई कि - "तलाई मैले जन्माकै हैन । मैले जन्माकाँ त दाइ र दिदिहरु हुन । तलाई त रापतीपारी जंगलमा भेट्टाएर लेरा'को हो ।" मेरो बाल मस्तिष्कमा यो कुराको गहिरो छाप पर्‍यो । आमाले भनिसकेपछी दाइ र दिदिहरुले भन्न के बाकिँ राख्थे र ? जब म रुन्थे तब सबैले एकै स्वरमा भन्थे - "त जाबी हाम्री नै हैनस् । कसकी होस् कसकी ।" यो सुनेसी म झन रुन्थे र रुदै भन्थे - " मलाई रापतीपारी भेट्टाएको भए किन ले'राको त घर ? उतै घाटी थिचेर मारिदेको भए हुन्थ्यो नि ।" विस्तारै - विस्तारै दिनहरु ढल्किदै गए । दिनहरु संगसँगै म पनि हुर्किदै गए । मलाई थाहा थियो म मेरी आमाको कोखबाट जन्मेकी हुँ भनेर तर आमाले म जन्मदाको प्रसव पिडा बिर्सिइन या के भयो मलाई थाहा भएन तर आफैले नौ महिनासम्म कोखमा राखेर जन्मदिएको आफ्नो सन्तानलाई किन त्यसो भन्निन मेरी आमाले ? त्यो पनि एक दुइ पटक होइन पटक पटक ।


जब म हुर्किदै गए फेरी अर्को आरोप आइलाग्न थाल्यो मलाई । म नजन्मदा सम्म हाम्रो बुवा देउता जस्तो हुनुहुन्थ्यो रे । खुबै भलाद्मी हुनुहुन्थ्यो रे । तर यो कुरामा मलाई अचेल शंका लाग्छ -किनकि, यदी हाम्रो बुवा देउता जस्तो भलद्मी हुनुहुन्थ्यो भने हाम्रो बुवाकी जेठी स्वास्नी किन गएकी त पोइला ? भलाद्मि, अभलाद्मी जस्तो भए पनि जाड रक्सी खानुहुन्थ्यो रे । जब म जन्मिए त्यसपछी खान सुरु गर्नु भयो रे । बुवाले रक्सी खान थाल्नु भन्दा अघी अथवा म जन्मनु अघी हाम्रो घर शान्तिको नमुना थियो रे त्यो नमुना घरमा म जन्मेसी अशान्ती फैलियो रे । जब बुवाले रक्सी खाएर आएर आधा रातमा कोलाहल मच्चाउनु हुन्थ्यो तब मेरी आमाले मलाई निकै सराप्नु हुन्थ्यो । भन्नुहुन्थ्यो - "यो अलक्षिनी किन जन्मेकी होली ? कि नजन्मेको भए हुन्थ्यो कि त जन्मने बित्तिकै मरेको भए हुन्थ्यो । यो मरेको भए आज यो दिन देख्न त पर्ने थियन ।" यो भनिरहदा मेरी आमाको आखाँबाट बरबर्ती आशुका ढिका खसिरहेका हुन्थे । थाहा छैन त्यो आशु बुवाले कोलाहल मच्चाएकोमा झरेको हो या त म जन्मेको र बाचेको दु:खेसोमा ? त्यसपल निकै नजाती लाग्थ्यो मलाई । सायद, मेरो ठाउँमा अरु कोही भएको भए पनि अवश्यै लाग्ने थियो मलाई जस्तै नजाती । नजाती लागे पनि म केहि बोल्दिन थिए । चुपचाप बस्थे । सुनिरहन्थे र मनमनै सोच्थे - आमा ! रापतिपारी जंगलमा भेट्टाउदा उतै घाटी थिचेर किन मारिनौ मलाई ?

समय बित्दै गयो । समय सँगै मेरा दिनहरु पनि बित्दै गए । वितेका ति दिनहरु देख्नेहरुले त खै ! कसरी एनालाईसिस् गर्छन् मलाई थाहा छैन तर ति दिनहरु बडो कष्टका साथ बिताएकी छु मैले र त्यसै गरी वित्दै छन आज पनि ।

मेरो को मात्रै छैन ? सबै छन् । अझ अरुका भन्दा बढी होलान् मेरा आफन्तहरु तर पनि म एक्ली रहेछु । केबल एक्ली । त्यो दिनदेखी मलाई आफु नितान्त एक्ली भएको महसुस भयो जुन दिन म सँग पानी खाने भाडो नभएर धाराको पानी अन्जुलिमा थापेर भोक र प्यास दुबै मेटाए मैले अनि त्यसरि नै भोक मेटाएकी थिए दुइ मुठी भुजा दुइ अन्जुली आशुमा भिजाएर । त्यसैपल सोचे मैले - म कती धेरै अलक्षिनी रहेछु भनेर । अनि थाहा पए मैले - मेरी आमाले मलाई त्यसै अलक्षिनी भनेकी होइन रहेछिन भनेर र त्यसै भनेकी होइन रहेछिन जन्मने बित्तिकै मरेकी भए हुन्थ्यो भनेर ।

आजसम्ममा दुइ अन्जुलिमा थापेर पानी मात्र होइन आशु पनि कती पिए कती तर मलाई त्यसको कुनै प्रवाह छैन् किनकी आशु भनेको दु:खको बेला सबैभन्दा ठुलो साथी रहेछ । मन दुख्दा चित्त बुझाउने सबैभन्दा माथिको साथी रहेछ साथी रहेछ र आफन्तहरुले साथ छाडे पनि कहिल्यै साथ नछोड्ने सबैभन्दा नजिकको साथी रहेछ । न आशु पिएकोमा प्रवाह छ मेरो न आफु अलक्षिनी भएकोमा दु:खेसो छ मेरो न त गुनासो केहि छ आफु रापतिमा भेटिएकोमा तर अझै पनि उदेक लाग्दो पिडै पिडाको पहाडमुनी बसेर सोच्दा यस्तो लाग्छ - आमा ! रापतीपारि जंगलमा भेट्टाउदा उतै घाटी थिचेर किन मारिनौ मलाई ?