Monday, June 9, 2014

तिम्रो प्यारको भेल उर्लिएपछी……!!


मैले त्यतिबेला तिमीलाई खुब सम्झिए , जतिबेला त्यो सानो भाईलाई कसैले सोध्यो - 'बाबु, ममिको याद आउछ कि नाइ ?' भनेर । 'आउछ नि । किन नआउनु' भनेर उ रुन्चे अनुहार पार्दै भित्र पस्यो । फरक यही छ - आमाले छोडेर जादा उ नौ वर्षको थियो , तिमी छ वर्षको थियौ । अरु सबै उस्तै छ । सबै परिस्थितीहरु उस्तै । तिमीलाई जस्तै उसलाई पनि हजुर आमाले हुर्काउनु भयो , बढाउनु भयो र पढाउनु भयो । तिमीलाई जस्तै गरी उसलाई पनि हजुरआमाले 'एकादेश ……' को कथा सुनाउनु हुन्थ्यो रे । तर एउटा फरक छ यहाँ -तिमीलाई हुर्काउने तिम्रो हजुरआमा आकाशको तारा हुनुभयो भने उसकी हजुरआमा यही धर्तिको सेतो फूल झै फुलिरहनु भएको छ अझै ।

मलाई थाहा छैन् - त्यो परिस्थिती कस्तो हुन्छ भनेर । सायद मेरो विचारमा फरक त अवश्यै हुनेछ
तर टोटल्ली फरक पक्कै हुँदैन् होला । किन हुँदैन् होला भने उनि पनि छोरी मान्छे नै हुन् । जस्तो मन र मुटु जन्मदिने आमाको हुन्छ उस्तै मन र मुटु कर्म दिने आमाको पनि हुन्छ । जन्मदिने आमाको ठाउँ मै त बस्न नसक्लिन उनि तर बस्ने कोसिस अवश्यै गरेकी हुनेछिन् । आफ्नो कोखबाट जन्म दिएको सन्तान र आमा बिहिनको त्यो टुहुरो सन्तानमा फरक व्यवहार गर्न कसरी मान्ला र एउटी आमाको मनले । अह ! मान्दैन होला । आफ्नो सन्तानलाई जस्तै टुहुरो सन्तनलाई माया र स्नेह पक्का दिनेछिन दोस्री आमाले पनि । अझ बढी दिलिन तर कम पक्कै दिदिनन् होली । होला, सबैले एउटै व्यवहार नगर्लान । कसैले सौतेनी व्यवहार नै देखाउलन त्यो कुरा म पनि मान्छु तर सबै सौतेनी आमहरुले सौतेनी व्यवहार पक्कै गर्दैनन् भन्ने मलाई लग्छ । किनकी मैले पनि देखेकी छु एउटी / दुइटी सौतेनी आमाहरुको व्यवहार र उनिहरुले गरेको पालन पोषण पनि ।

तर त्यो भाई दोस्री आमाको ममताबाट टाडा छ । कोसौ टाडा । किन टाडा छ त्यो मलाई पनि थाहा छैन् तर तिमी नजिकै छौ एकदमै नजिकै । यस मानेमा मलाई गर्व वोध भैरहेछ । किनकी जन्मदिने आमाको ममता कर्म दिने आमाले विर्साउन नसके पनि विर्साउने कोसिस गरिरहनु भएको छ । र तिमीले पनि पाइरहेछौ आमाको ममता ।

दिनभरी त्यही बोली याद आइरह्यो । आइरह्यो । सोचिरहे- तिमीलाई पनि कतिले सोध्थे होलान् त्यसरि नै - 'बाबु ममिको याद आउछ कि नाइ' भनेर । तिमीले पनि भन्थ्यौ होला - 'किन नआउनु । आउछ नि' भनेर । त्यती भनिसक्दा तिम्रो मनमा भक्कानो छुट्दो हो, आखाँभरी टिलपिल टिलपिल आशु हुदो हो , अनुहार रातो र पिरो हुदो हो, कान तातो हुदो हो अनि खुट्टाको बुढी औंलाले भुइको माटो कोट्ट्याइरहदो हौ तिमी । त्यसपललाइ त्यही कोट्याएको माटोले पुर्ने कोसिस गर्दो हौ तिमी ।

आफुलाई जन्मदिने आमाको याद कसलाई आउँदैन होला र ? आउछ । सबैलाई आउछ ।

आफ्नै लागी दुनियामा सारा भए पनी याद उनकै आउछ
यो मुटुमा फेवा र आखाँमा रारा भएपनी याद उनकै आउछ
मलाई धरतिमा एक्लै छोडेर उनि गइन् , खै ! कहाँ गइन्
मेरी आमा आकाश को तारा भए पनी याद उनकै आउछ

महसुस र भोगाइमा आकाश र पातालको फरक हुन्छ तसर्थ म भन्न सक्दिन तिम्रो मनको छट्पटी कस्तो हुन्छ भनेर किनकी त्यो छट्पटी मैले भोगेकै छैन र भोग्नु पनि नपरोस् - यही चाहन्छु म । कल्पना अवश्यै गर्न सक्छु त्यो पलको तर वस्तविक पिडालाई स्वयम तिमीले जसरि बुझ्न कदापी सक्दिन म । त्यो पिडा तिमीलाई मात्र थाहा छ । केबल तिमीलाई मात्र र आफु सानै छदा तिमीलाई जस्तै आमाले छोडेर गएका हरुलाई मात्र ।

केबल महसुस गर्दा मात्रै त छाती चिरिए झै हुन्छ मलाई भने स्वयम वस्तविकतालाई आत्मसाथ गरिरहेको तिमी कती टुक्रा परिरहेका छौ होला ? त्यो महसुस गर्न सक्दिन म न तिमीलाई सोधेर तिम्रो घाउँ बल्झाउन नै चाहान्छु । उसलाई पनि धमिलो याद छ रे आफ्नि ममिको तस्बिर । तर स्पस्टै याद छ भन्छ - ममिले माया गरेर आफ्नै हातले खुवएको खाना, ममिको काख र ममिको मायालु स्पर्श । थाहा छैन् - तिमीले जस्तै गरी बाकसको कुनामा ममिको फोटो लुकाएर राखेको छ कि छैन् उसले र याद आउँदा तिमीले जस्तै गरी खुसुक्क हेर्ने गर्छ कि नै ममिको तस्बिर ?

जब उसको मायालु चेहरा हेर्छु तब टुहुरो पनको प्रसस्तै झल्को देख्छु म अनि तिमीलाई सम्झन्छु । त्यसपल यो मनमा पहिरो गए झै लाग्छ । प्यारको पहिरो । त्यसपछी तिम्रो प्यारको भेल उर्लिएर आउछ । अनी अझ बढी झन् बढी याद आउछ र लाग्छ त्यसपल तिमीलाई चरप्प कसेर राखु यो अंगलोमा । तर ……. ।

२०७१-०२-२४
शनिबार