Thursday, June 19, 2014

“धमिलिएका डोबहरू”मा समुन्द्रपारिको प्रेम

नेपाली गजल साहित्यमा एउटा फरक शैलीको रूपमा चितवनका दुई प्रतिभाको एउटै कृति गजलमा सवाल-जवाफको सयुक्त सङ्ग्रह प्रकाशन हुनु चितवनको गजल इतिहासमा पहिलो कृति हो । यस कृतिले निश्चित रूपमा एउटा सकारात्मक सन्देश दिनेछ समाजलाई र गजलकारिताको क्षेत्रलाई । मान्छेका मनहरू कसरी ? कहाँ ? रूपान्तरित हुन्छ त्यो समयको कुरा हो । मैले चिनेका यी दुई प्रतिभा गजलकारहरू "रामकृष्ण पौडेल "  र "फुच्ची जमुना" नेपाली गजलका तिख्खर प्रतिभा हुन् । सृजनाको आगो बोकेर प्रत्येक गाउँ वस्तीहरूमा काव्यिक चेतना भर्न सक्ने यी प्रतिभाशाली गजलकारहरू संवेदनशील हुन् । अक्षर यात्राहरूमा र समयका पाउहरूलाई क्षतिपूर्ति दिनसक्ने सम्भावना छ यी प्रतिभाहरूसँग ।

यस कृतिमा रामकृष्ण पौडेलले कतिपय सवालहरु राखेका छन भने फुच्ची जमुनाले त्यसको जवाफ लेखेकी छिन् र कतिपय गजलहरू फूच्ची जमुनाको सवाल छ र रामकृष्णले त्यसको जवाफ दिएका छन् । यस कृतिमा गजलकार रामकृष्ण र जमुनाले समयको नदी भएर गजलका तरङ्गहरू छाल जस्तै उतारेका छन् । निद्रामा रहेका मान्छेहरूलाई व्युँताएका छन् आफ्ना गजलका शेरहरू मार्फत । थाहा छ यी दुई अक्षर यात्रीहरू यतिबेला गजलको यात्रै नभएर आफ्नो जीवनको उज्यालो भविष्य खोजेर शब्द शिखरहरूमा यात्रा गरि रहेछन् । यिनीहरूको यो लोभ लाग्दो सृजनाले केही न केही सन्देश समाजलाई पक्का छर्नेछ भोलिको दिनमा ।

समयका प्रत्येक पलहरू महत्वपूर्ण छन् ।  चेतनशील र सृजनशील मान्छेहरू समयको छाता ओढेर सृजना गर्छन्  र सामाजिक विसंगतिहरू भत्काउँछन् - यस्तै गरिरहेका छन् यी दुई गजलकारहरूले पनि । यिनका अधिकांश गजलहरू प्रेमले निथ्रुक्कै भिजेका छन् । सर्वाङ्ग जीवन प्रेममा नै निहित छ । यस्तो लाग्थ्यो कतै कुनै गजलहरू त आफैसँग सम्बन्ध जोडिए जस्तै लाग्थ्यो । यीनीहरूको गजलमा कहिले काँही म आफै पात्रको रुपमा उभिए जस्तै लाग्छ । मत्थर भैसकेको मेरो मन फेरि एक पटक व्युँझिएको जस्तै लाग्यो । यही त गजलको क्षमता र लेखकको सृजना शक्ति ।
मैले यीनीहरू को गजलमा आफ्नो अभिमत प्रकट गर्दै गर्दा यस्तो अनुभव गरे - धरातल सँगै उड्नुको एउटा औचित्य रहेछ त्यो क्षणिक भए पनि आखिर चाहिने त धरातल नै रहेछ । हो अक्षरहरूले उडान भरेर गजलकारहरू धरातलमै उभिएका छन् आफ्नो एक टुक्रा मन वोकेर । “धमिलिएका डोबहरू” मा प्रेमको शक्ति र समर्पण भाव छ । हरेक सृजनामा प्रेम हुन्छ तसर्थ यसमा प्रणयका थुप्रै चेतहरू छन् । समयको उद्वेगहरूसँगै प्रेमी-प्रेमीकाहरुको न्यानो स्पर्श भेटिन्छन् । घाम जून जस्तै सुकिलो हुनुपर्छ प्रेम । जीवनको सुन्दर गन्तव्य हुनुपर्छ प्रेम । यस्तै सन्दर्भ उठाएर सवाल गर्दैछन्  गजलकार

सवालः-
मेरो उषाका प्रहरहरू खोसेर भूल गर्‍यौ,
मन भित्रका रहरहरू खोसेर भूल गर्‍यौ ।

जवाफः-
चाँद छोड्दै विहानीको उषा खोज्दै आए,
कस्को रहर कति रै छ भनी सोच्दै आए ।

सवालः-
वस्तीभित्र झोसेर आगो के पायौ कुन्नि,
सँगै रात काटेका सहरहरू खोसेर भूल गर्‍यौ ।

जवाफः-
हामी दुईको सम्बन्धलाई टुटाउने यो समाज
जलाएर राख पारी आगो झोस्दै आएँ ।


मान्छेसँग माया कति छ कति तर साँचो र यथार्थ फरक रहेछ । कति झुट्टा मुद्दाहरू मा जीवन झेल्नुपर्छ र अरुका फूलहरू सँगै जीवन फुल्दै क्रमशः भन्नुपर्छ शायद यी नियतिका खेल हुन् । समग्रमा बाँच्नुको सार्थकता त्यहीनिर हुन्छ जहाँ मायाको संवेग हुन्छन् हृदय भरि । हरेक मनको इजलासमा मायाको विकेन्द्रीकरण हुन्छ । नयाँ सोच र अध्ययन सँग संयोजन हुन्छ । मनहरू अनि सार्थकता भेटिन्छन् सृजनाहरूमा । गजलकार जमुनाले आफ्ना मनको देउतालाई प्रेमीले स्पर्श गरेर सोधेकी छिन् हजुरलाई कस्तो ?  विदेशमा के गर्दैहुनुहुन्छ ? भनेर । मनभरिका थुप्रै अभिलाषाहरू गुनासाहरू पोख्दै छिन् सवालमा यसरी र गजलकार रामकृष्ण ले आफ्नी प्रेमीकालाई मनको किनारबाट उठाएर आँखा भरि राखेर आफ्नो व्यथा पोखेका छन् गजलमा हेरौ न तः

सवालः-
सात समुद्र पारि छौ, काम कस्तो छ राजा ?
ठिक्क कि धेरै थोरै, दाम कस्तो छ राजा ?

कता-कता सुनेकी छु मान्छे जाली छन् रे,
लुटपाट हुन्छ कित, ठाम कस्तो छ राजा ?

जवाफः-
विदेशीको  खुट्टा  मोल्दै  बस्नु  पर्‍यो   दास    कान्छी,
कमाइ छैन हात मुख जोर्न पुर्‍याको छु गाँस कान्छी ।

कोही  आफ्नो   छैन  यहाँ   हराउँछु   आफैँ   भित्र,
मर्न लाग्दा पानीको नि लाग्दैन खै आस कान्छी ।

यस्तै दुःखहरूको अनुभूति बोकेर आफ्नी प्रेयसीले समुद्रपारि रहेको आफ्नो जीवन साथीलाई धेरै कुराहरू मनको गुनासाहरू बनाएर सोध्दै छिन् यसरीः

सवालः-
 कस्तो छ तिम्लाई उता के गर्दै छौ गाउँमा प्यारी ?
बालुवामा खेल्दै छु म बिरानो यो ठाउँमा प्यारी ।

जवाफः-
पर्खिएर तिम्रै बाटो हेरी बसेँ गाउँमा प्यारा,
कस्तो तिम्लाई उता बिरानो त्यो ठाउँमा प्यारा ।

सवालः-
 पढ्न पनि सकिएन इलम छैन हातमा केही,
त्यसैले त पर्न आए विदेशीको पाउमा प्यारी ।

जवाफः-
 यसो उसो कमाई गरी खाने बाटो छैन देशमा,
जानु पर्‍यो विदेशीको आखिर आज पाउमा प्यारा ।

हुन त मान्छेहरू आफैभित्र एउटा पीडाको पहाड वोकेर हिडिरहेको हुन्छ - एउटा अनौठो प्रश्नहरूको । फूल जस्तो स्निग्ध जीवन र सुवासिलो प्रेमको आवश्यकता भएर पनि त्यस्तो समग्र भेटिदैन जीवन यात्राहरूमा । कतिपय मान्छेका मनहरू वगर भएका छन् । इर्श्या  र प्रतिशोदले स्थिरता जन्माएको छ  भावानाहरूमा । थुप्रै सपनाहरू वोकेर अक्षरहरूको यात्रामा वग्दै गरेको स्वर्णिम जिन्दगी लेख्ने क्रममा यतिबेला गजलकार रामकृष्ण र जमुनाले एउटा आफ्नै मायाको आँगन बनाएका छन् । कति छट्पटी, कति पीडा, कति भोगाइहरू छन्  गजलमा । कयौँ रात उनकै पर्खाइमा रोएर विताएक गजल  छन् । आस्थाका उज्याला घामहरू बोकेर उदायका गजल छन् । सबै सबै छन् यो  गजल सङ्ग्रहभित्र । यिनका रचनागत शिल्पशैली र गजलका संरचनाहरू उपयुक्त छन् तर शब्द भावहरू मा परीस्कृत भएर आउन जरुरी ठानेको छु । सवै गजलहरूमा मायाको वृतचित्र छन् । अब देश र समाज उठान जरुरी छ यी गजल स्रष्टाहरूले । प्राय: गजलहरूमा प्रेमी र प्रेमीका बीचको संवादहरू मात्रै छन् । गजलमा अझै नवीनता खोजको भए यो सङ्ग्रहले एउटा अस्तित्व उठाउने थियो । समग्रमा गजलकारहरू को यो प्रयास प्रशंसनीय छ ।

गजलकार पुष्प अधिकारी 'अञ्जलि'
भरतपुर १० चितवन