Tuesday, June 17, 2014

प्रियतमको नाउँमा एउटा पत्र

मिती : ३ असार, २०७१
  मंगलबार

प्रिय, 
                   मुटुभरिको असिम प्यार साथै अमिट सम्झनाका कोसेलिहरु तिमीलाई…….।

तिमी कुसल, मंगल छौ भन्ने पुर्ण आशामा छु र म पनि यता सकुसल नै छु - तिम्रो प्यारको कृपाले । मन बाध्न कैयौ कोसिस गरे । तर, अह ! सक्दै सकिन र यो पत्र कोर्ने प्रयास गरेकी छु । म आफैलाई थाहा छैन् - यो पत्र तिम्रो र मेरो प्यारको खातिर पहिलो पत्र हो या अन्तिम ?

प्रिय, 
         जब हामी बिचको सामिप्यता प्रगाढ हुँदै थियो तब मैले भनेकी थिए - 'मलाई माया देउ । केबल माया मात्र । यती माया देउ कि जुन मायामा भुलेर म आफ्नो मनको छट्पटिलाई साम्य पार्न सकु र निभाउन सकु बलिरहेको मनको आगो ।' तर तिमीले उल्टो बुझ्यौ या समय आफ्से आफ् उल्टियो मैले चाल पाइन । तिमीलाई प्रेम गर्नुमा मेरो कुनै स्वार्थी खेल थिएन, न छ , न हुनेछ भोली ।
प्रेम स्वार्थ परिपुर्तिका लागी गरिदैन । चोखो प्यार निस्वार्थ हुन्छ । हो, मैले पनि तिमीलाई प्रेम गरे । चोखो प्रेम । निस्वार्थी प्रेम । किनकी मायाको भोको मान्छे म । एकदमै भोको मान्छे । मेरो जिवनमा चोखो प्रेमको महत्व कती छ भनेर तिमीलाई बताउनै बाकिँ छ मैले । यदी समयले साथ दियो र तिमीले हात दियौ भने अवश्यै बताउनेछु । माया मात्रै होईन्, दु:ख पनि बिसाउने छु , खुशी पनि बिसाउने छु र बिसाउने छु अवश्यै जिन्दगीको गह्रौ भारी पनि - तिम्रो मनको चौतारिमा । जहाँ वर, पिपल र स्वमीका पातहरु फिरफिर फिरफिर नाचिरहेका हुनेछन् र चलिरहेको हुनेछ मन्द मन्द प्रेमिल बतास पनि ।

प्रिय, 
           गुड्दै गरेको हाम्रो प्रेमको गाडी अचानक रोकियो । म अचम्म मात्र परिन पत्याउनै मुस्किल पर्‍यो मलाई । किन रोकियो ? म आफैलाई थाहा छैन् । जिन्दगीको पुरै यात्रा तिमीसँगै तय गर्न मन थियो मलाई तर नतिजा ठिक विपरित भैदियो । जब गाडी गुड्न थालेथ्यो तब उन्माद खुशी थियो यो मन । त्यही खुशी सँगै बसाउदै थिए - सपनाको सँसारमा सुन्दर घर । जब गाडी रोकियो तब एकाएक भत्कियो मेरो जग बस्दै गरेको सपनाको भव्य महल र पहिरो गयो मेरो मनमा । ९० सालको भुकम्प भन्दा पनि ठुलो पहिरो । 
सानै देखी संघर्ष को यात्रामा होमिएकी म अझै पनि उहि यात्रामा यात्रारत नै छु । त्यही क्रममा यात्रालाई सहज बनाउन तिम्रो प्यार पाउँछु भन्ने कलीलो टुसा पलायो मेरो मनमा । कस्तो अचम्म, टुसा झांगिन नपाइकन पलाउदा पलाउदै मर्यो । हेर्दा हेर्दै मर्यो । खडेरिले खेती खाए झै भस्याङ भुसुङ मर्यो । संघर्षको यो दौरानमा कती खेपे दु:ख र आशु भन्ने कुरा मलाई मात्र थाहा छ । केबल मलाई मात्र । तसर्थ भनेकै थिए - 'मलाई सुख चाहिदैन ओठभरिको खुशी दिए पुग्छ' भनेर । यदी मैले एकमुठी खुशी माग्नुमा प्यारको स्वार्थी भाव उजागर हुन्छ भन्ने भन्ठान्छौ भने तिमी गलत छौ प्यारा । एकदमै गलत । 
'मैले एकपटक प्रश्न गरे - 'तिमी हिजो रातभरी किन रोएकी ?' भनेर । तिमीले आनाकनी गर्यौ । भन्न मानिनौ । त्यसपछी लाग्यो तिमी मसँग झुटो प्रेम गरिरहेकी छौ ।' मलाई थाहा छ तिमीले यही भन्नेछौ र यही एक वाक्यव्दारा नै मेरो प्रेमलाई झुटो साबित गर्ने प्रयत्न गर्नेछौ तिमीले । तर यहाँनिर तिमी फेल हुनेछौ । अर्थात मेरो प्रेमलाई झुटो साबित गर्न तिमीसँग उचित सबुतहरु नै छैन भन्नेमा म कन्फिडेन्ट छु किनकी मेरो प्रेम नै झुटो थिएन भने कसरी भेट्टाउछौ तिमीले झुटो प्रेम साबित गर्ने ओरिजिनल प्रमाणहरु ????

प्रिय, 
       तिमी म भन्दा धेरै बुझकी छौ र तार्किक पनि कैयौ गुणा बढी छौ तर मलाई त भोगाइले व्यबहारिक मात्र बनाएको हो । यही व्यबहारिकताले गर्दा मलाई झुटो र स्वार्थी प्रेम गर्ने अनुमती दिएन आफ्नै मनले आफ्नै मनलाई । सम्बन्ध दिगो बनाउन एक अर्का बिचमा विस्वासको डोरी कसिलो हुनु आवश्यक हुन्छ । मलाई तिमी माथी शतप्रतिशत विस्वास छ तर कुरो अल्झियो तिमीले म प्रती गर्ने विस्वासमा । 
                             तसर्थ सम्बन्धको साचो तिमीलाई सुम्पिदिदै यो पत्रलाई बिट मारे ।
                                                                                                                                         उहि तिम्री 
                                                                                                                                            फुच्ची