Thursday, June 5, 2014

गजलसङ्ग्रह - नियतिको खेल यस्तै


कहिले मिलन कहिले विछोड, कहिले हासो कहिले आशु, कहिले सुख त कहिले दु:ख आखिर यस्तै हो नियतिको खेल । यिनै यस्तै परिधिमा केन्द्रीत रहेर कोरिएका छन् प्रत्यक गजलका शेरहरु । जम्माजम्मी १०१ वटा गजल रहेको यस कृती १२९ पृष्ठको छ । अगाडिका २८ पृष्ठ शुभकामना र भुमिकाले कब्जा गरेको छ ।

'नियतिको खेल यस्तै खेल्यो जिन्दगिले
जित भन्दा हार धेरै झेल्यो जिन्दगिले'

यही शेरबाट गजलको उठान गरिएको छ । कृतिभित्र जती मायामा मिलनका कुरा समाबिष्ट छन् सायद, ति भन्दा केही बढी छन् वियोगान्त गजलहरु । उसो त लेखिका स्वयम आफ्नो घर परिवार र प्रत्यक्ष रुपमा पारिवारिक ममताबाट केही टाडा रहेको भएर पनि हुनसक्छ गजलहरुमा मायाभित्र पनि विछोडको पिडा मिसिएको आभास सजिलै गर्न सकिन्छ । परदेशको माटोमा पसिना बगाइरहेकी छोरिले कार्यव्यस्तताका बाबजुत सम्पर्कबाट केही दिन टाडा रहदा होस् या आमाको ममताले मुटुमा कुत्कुत्याउदा होस् आफ्नो घर परिवार र सम्झना भनेको हरक्षण साथ मै हुन्छ । त्यही पल परदेशमा बसेकी छोरिले स्वदेशमा रहेकी आमाले मलाइ के सोचेकी होलिन् भनेर यसरी उतारिएको छ गजलमा -

एक्लै हिड्दा दोबटोमा आशु झार्यौ कि त ?
फर्किन्न कि छोरी भनी माया मार्यौ कि त ?

परदेश मै रम्दै होली मलाइ बिर्सी भनि
भुल्न खोज्दा मेरो तस्बिर पर सार्यौ कि त ?

सधै अभावै अभाव र मन भरिको पिडाले गर्दा अफ्नो जवानी आएको र गएको पत्तो हुदैन । तसर्थ यहाँ लेखिकाले आफ्ना सपनाहरु पुरा गर्न नपाउदै जवानी ढल्किएकोमा यसरी चिन्ता व्यक्त गरेकी छिन् -

अधुरा छन् सपना यि अपुरा नै हुने भए
नियतिको बज्रपातले चुटेको यो जवानिलाई

परिवारको खुसिको लागी नारी कुनै कुरामा पछी हट्दिन तसर्थ आफ्नो जिवनसंगी रिसाएको पल उन लाई फकाउनको लागी पनि जुन कुनै कार्य गर्न पछी सर्दिन नारी । आफ्नो मान्छेले जती चोट देओस् हासी हासी सहिदिन्छे उ तर बदलामा दिन चाहान्छे - आफुले पाएको चोट भन्दा दोब्बर बढी खुसी । तसर्थ लेखिकाले पनि यहाँ त्यही भाव अभिव्यक्त गर्दै गजल यसरी कोरेकी छन् -

कोमल यो कलेजिमा चोटै चोट दिदा पनि
तिम्रै लागी फेरी शिर झुकाएछु मेरो हजुर

नियतिलाइ भोग्दा भोग्दै लेखिका पक्कै पनि थाकेकी छन् यतिबेला किनकी उनि यसो भन्छिन् यहाँ -

निस्सासिदो जिन्दगिमा आफ्नो भन्ने नभैदिदा
हरे प्रभु अब म त तिम्रै शरण परु कि त ?

गजलको अन्त्यतिर पुर्णत : देशभक्त बनेकी छन् उनि । देशको प्रेममा भुलेर गजल कोरेकी छन्, देशप्रतिको चिन्तामा डुबेर गजल कोरेकी छ्न् र कोरेकी छन् गजल विर गोर्खालिको स्वाभिमानलाइ निसंकोच उतारेर पनि । चाहे स्वदेशमा होस् चाहे विदेशमा होस् आखिर आफ्नो माटो भनेको सधै प्यारो हुन्छ । त्यसैले त उनि भन्छिन् -

सगरमाथा शिर हाम्रो झुक्न दिनुहुन्न्
चन्द्र सुर्य निशान हाम्रो चुक्न दिनु हुन्न्

आइपरे लड्न सक्छौ गोर्खाली हौ हामि
संघर्षमा लड्ने पाइला रुक्न दिनु हुन्न

स्वदेशमा बस्नेलाइ आफ्नो देशको चिन्ता जती हुन्छ सायद त्यो भन्दा कम पक्कै हुदैन् परदेशमा बस्नेलाइ पनि । आफ्नो व्यक्तिगत र पारिवारिक कारणले इजरायल को माटोमा दिन कटाइरहेकी सुचित्रा खनियाले यसरी व्यक्त गरेकी छन् आफ्नो देशप्रतिको चिन्ता -

सोझा अनि निमुखा यि जनता बली बने
देश फुटाउने खेर मात्रै बारमबार देख्छु

भाइ भाइ को लडाइले देशै अब फुट्ने हो कि
त्यसै मन पोली रहन्छ झनै आगो भर्भराउदा

जब देशमा खडेरी पर्छ , अनिकाल पर्छ या बाढी पहिरो आउछ र कैयौ देशबासी लाइ घरबार बिहिन बनाउछ, कैयौ दिनको भोको बनाउछ तब देशको सरकारलाइ भन्दा बढी छटपटी हुन्छ लेखिकालाइ तब ति सबै पिडितलाइ राहत दिन मुग्लानपारिबाट यसरी बहकिन्छिन उनि -

खडेरी र अनिकालले नभेटिदा अन्न
सुख्खा दिल सिन्चित गरी उब्जाउ बन्न सकु

जलस्रोतको दोस्रो धनी देश हो नेपाल तर दिनको १९ घण्टासम्म लोडसेडिङको मार खपिरहेछौ हामी नै । वर्तमान समयको यथार्थ वस्तुस्थितिलाइ प्रतिबिम्बित गरी उतारिएको गजल को एक शेर -

बत्ति, पानि, बाटो अनि गरिबिलाइ देख्दा
विकासको एउटा दियो जलाउन मन छ

अन्तिम गजलको अन्तिम शेर वाचन गरिसकेपछी लामो स्वास फेरे मैले । निकै सन्तुष्टिको आभास भयो मलाई तर पुर्ण सण्तुष्टिको महसुस हुन भने सकेन । गजल आफैमा एक शिर्षक हो, कवितामा जस्तो गजलमा छुट्टै शिर्षक राखिदैन र राख्नु हुदैन् भन्ने मान्यता राख्छु म । यस कृतिभित्र हरेक गजलहरुमा छुट्टाछुट्टै शिर्षक राखिएको छ । उसो त गजल तिन शेरदेखी लिएर बाइस शेरसम्म खुलेर लेख्न सकिन्छ तर पाँचवटा शेरको गजललाइ बढी प्राथमिकता मा राखेर हेर्ने गरिन्छ यहाँ । तथापी यहाँ प्राय गजलहरु चार शेरका छन् र बाकी पाँच शेरका । गजलहरु सबै उत्कृष्ट छन् । लेखिका स्वयम परदेशको माटोमा बसिरहेको हुनाले केही गजलहरु परदेशकै माटोलाइ उजागर गरेर कोर्न पाएको भए र त्यहाँ नेपालिहरुको अवस्था या उनि आफैले भोगेको सुख तथा दु:खलाइ पनि मिसाउन पाएको भए कृती अझ उचाइमा पुग्ने थियो कि भन्ने भान भयो मलाइ । भाषा, लय, अनुप्रास,शब्द चयन सबै चित्त बुझ्दो छ तर काफिया प्रयोग प्रती मन उति साह्रो रम्न सकेन मेरो । काफिया प्रयोग प्रती लेखिकाको ज्ञान कमी भएको हो या हेलचेक्य्राइ गरिएको हो त्यो मैले ठम्याउन सकिन । सबै विधाको आ-आफ्नै नियम हुन्छ । त्यस्तै गजलको सबै भन्दा मुख्य र बिर्सन नहुने नियम भनेको नै काफिया हो तसर्थ काफियालाइ ध्यानमा राखेर लेखिएन भने जती सुकै अब्बल भाव व्यक्त गर्न खोजेर कोरिएता पनि त्यो गजल, गजल नभएर फजल मात्र हुन जान्छ तसर्थ आगामी दिनहरुमा ति त्रुटिहरु पुन: दोहोरिने छैनन् भन्ने अपेक्षाका साथै आगामी साहित्यिक यात्राको सफलता र निरन्तरताको लागी मेरो स-हृदय शुभकामना ।