Thursday, June 19, 2014

पुस्तक समिक्षा : "धमिलिएका डोबहरु" नियाल्दा


१. विषयप्रवेश :
गजल कविता विधाअन्तर्गतको उपविधा हो । नेपाली साहित्यमा मोतीराम भट्टबाट प्रारम्भ भएको गजल लेखन परम्पराले अनेकौँ उतारचढाव भोग्दै वर्तमानसम्म आइपुगेको छ । प्रेमिकासँगको वार्तालापमा सीमित गजलको पहिचानले अहिले आफ्नो आयाम विस्तार गरेको छ । साहित्यका नौवटै रस - प्रेम, दया, माया, घृणा आदि भाव, राजनीति, धर्म, इतिहास, शिक्षा, समाज आदि विषय, क्षेत्रलगायत यावत् विषयमा गजल लेख्न थालिएको छ । वर्तमानमा सबैभन्दा धेरै लेखिने रचना नै गजल बन्न पुगेको छ । तसर्थ, यसले छुट्टै विधाको मान्यताका लागि टाउको उठाउन खोजेको देखिन्छ ।

नेपाली गजलका लागि चितवन निकै उर्वर भूमि सावित भएको छ । ६० को दशकबाट चितवनले फुुटकर र कृतिगत रुपमा प्रशस्त गजल पाउन थालेको छ । खासगरी, चितवनमा एफएम रेडियोहरुको स्थापनापछि गजल क्षेत्रमा विशेष चहलपहल सुरू भयो । रेडियोबाट गजल सुनाउने र सुन्ने परम्पराको थालनीसँगै चितवनको साहित्यिक माटोलाई ढपक्क ढाकेको पाइन्छ ।

इतिहासलाई स्मरण गर्दा गजलमा दोहोरी प्रारम्भ गराएर सिजर्नी एफएमको लोकप्रिय कार्यक्रम ‘अनुराग’का कुशल प्रस्तोता अर्जुनमणि पौडेलले नयाँ प्रयोगको प्रारम्भ गरे । प्रेमविनोद नन्दन र शीतल कादम्बिनी, रावलकृष्ण र अजिता अधिकारीजस्ता स्रष्टाहरुको सवाल–जवाफयुक्त गजलवाचनले विशेष आकर्षण प्रदान ग¥यो । यस्तो पृष्ठभूमिमा विकसित चितवनको माटोले प्राप्त गरेको छ, सवाल–जवाफयुक्त सिंगो गजलसंग्रह ‘धमिलिएका डोबहरु’ । स्रष्टा रामकृष्ण पौडेल अनायास र फुच्ची जमुना को लेखनीबाट सिर्जित प्रस्तुत कृतिले नेपाली गजलको इतिहासमा नयाँ गोरेटो कोरेको छ ।

२. कृतिभित्रको प्रणयभाव ः
गजल आफैँमा प्रेमपरक हुन्छ । त्यसमाथि, सवाल–जवाफ भनेपछि प्रेमका विषयमा गरिएका वार्तालाप प्रश्नोत्तर संग्रहमा समावेश हुनु स्वाभाविक हो । गजलका लागि छुट्याइएका ४७ पृष्ठमध्ये ३८ वटा पृष्ठका गजल प्रणयभावमा लेखिएका छन् । जीवनका लागि प्रेमप्रणय आवश्यक शक्ति हो । यही मान्यतालाई प्राथमिकता दिँदै लेखकद्वयले अधिकांश गजलहरु प्रेमप्रणयका विषयमा लेखेका छन् । युवायुवतीबीच हुने आकर्षण, शंका, उपशंका, मिलन, बिछोड, छटपटीजस्ता अनेकौँ भाव समेटिएका यस्ता गजलले लेखकहरुको युवापनलाई प्रतिनिधित्व गरेका छन् । एकअर्कामा आकर्षण बढेको यथार्थलाई लेखकद्वय सवाल–जवाफमा यसरी प्रस्तुत हुन्छन् ः

सवाल ः तिमी फुल्छौ भनी मरेर आएँ म
आयु थप्न तिम्रो मरेर आएँ म

जवाफ ः मन मुटु लगेकी थ्यौ आउन त प¥यो आखिर
मेरो आयु बढोस् भन्दै गगनबाट झ¥यो आखिर
(पृ.३३)
विश्वासमा संकट उत्पन्न भएपछि शंका तथा उपशंका उब्जनु स्वाभाविक हो । तसर्थ, प्रेममा परेको युगल जोडी एकअर्कालाई वाचा बँधाउन पछि पर्दैन ।
सवाल ः मर्द हुँ भन्छौ भने जहर पनि खान्छु भन
फुच्चीलाई लाने आँट भए हात उठाई लान्छु भन

जवाफ ः लान्छु भन्थेँ ‘फुच्ची’लाई नौमतीमा सजाएर
मर्द हो कि नामर्द हो देखाउँथेँ चखाएर
(पृ.३५)
प्रेमले मात्र जीवनको लामो यात्रा चल्दैन । जीवन चलाउन आयआर्जनको राम्रो स्रोत पनि चाहिन्छ । त्यही स्रोतको खोजीमा कयौँ युवाहरु आफ्नी प्रेयसीलाई घरमा छोडेर वैदेशिक रोजगारका लागि खाडी मुलुकमा तातो घाम खपिरहेका छन् । यही बाध्यता र वास्तविकता गजलमा यसरी आएको छ ः
सवाल ः सात समुद्रपारि छौ काम कस्तो छ राजा ?
ठिक्क छ कि धेरै थोरै दाम कस्तो छ राजा ?

जवाफ ः विदेशीको खुट्टा मोल्दै बस्नुप¥यो दास कान्छी
कमाइ छैन हातमुख जोर्न पु¥याएको छु गाँस कान्छी
(पृ.३६)
श्रृंगार रसले भिजेको ३८ वटा पृष्ठका गजलहरुमा कतै संयोग र कतै विप्रलम्भ श्रृंगार पाइन्छ । समर्पणदेखि वियोगसम्म, आशादेखि भावी योजनासम्मका भावहरुले भरिएका यी ३८ वटा सवाल–जवाफयुक्त गजलमा लेखकद्वय अनायास र फुच्ची लजाउँदै हाँस्दै, रूँदै सम्हालिँदै पोखिएका छन् ।

३. गजलमा सामाजिकता ः
कुनै पनि लेखक समाजसापेक्ष हुन्छ । उसको रचनाको धरातल आफू बाँचेको समाज नै हो । तसर्थ, ‘धमिलिएका डोबहरु’ सवाल–जवाफ गजलसंग्रहभित्र पनि सामाजिकता झल्कने गरी ६ वटा पृष्ठमा गजलहरु समावेश गरिएका छन् । प्रेमसँगै मिसिएका सामाजिक यथार्थ, विकृति, विसंगति, समाज सुधारका कुराहरुलाई पनि गजलकारद्वयले आफ्ना गजलमा समेटेका छन् । स्वार्थी समाजको चित्रण गरिएको एउटा नमुना ः

सवाल ः आखिर सबै संसार मास्ने हुन्छन् अभागीको
पीर व्यथा मनका कसले सुन्छन् अभागीको ?

जवाफ ः पीर नगर्नु तिमी संसार यस्तै छ
स्वार्थ समेट्नमै यो दुनिया मस्तै छ
(पृ.६९)
जब अभाव चुलिँदै जान्छ, त्यसपछि नेपालीहरुको मुग्लान पस्ने क्रम बढ्दै जान्छ । यो नेपाली समाजको वास्तकिता हो । यस्तो समाजको चित्रण गजलकारद्वयले आफ्नो गजलमा गरेका छन् ।
सवाल ः भुलेर पनि मुग्लान नपस्नु है तिमी
सकिनँ भनेर थ्याच्च नबस्नु है तिमी

जवाफ ः कसरी पालिने हो मुग्लान नपसेर पनि
थकित छु प्यारी के गरौँ नबसेर पनि
(पृ.४८)
४. गजलमा राष्ट्रप्रेम ः
हरेक देशभक्त नागरिकका हृदयमा राष्ट्रप्रेमको भावना छताछुल्ल हुन्छ । त्यस्तै, नेपालीहरु आफ्नो देशलाई औधी माया गर्छन् । यस संग्रहभित्र जुन अनुपातमा अन्य विषयका गजलहरु समेटिएका छन्, त्यसको सापेक्षतामा राष्ट्रप्रेमलाई उपेक्षा गरेको जस्तो देखिन्छ । यद्यपि, एउटा गजलमा भने गजलकारमा रहेको देशभक्ति झल्किएको छ ।

सवाल ः विश्वको शिर सगरमाथा ढल्दै छ रे फुच्ची
चन्द्रसूर्य सिंगो नेपाल जल्दै छ रे फुच्ची

जवाफ ः के भो कुन्नि हिजोआज मेची, कोशी सुकेको हो कि
चन्द्रसूर्य छाती मेरो हिमाली शिर झुकेको हो कि
(पृ. ५८)

देश बिग्रँदै गएको कुन स्वाभिमानी नेपालीलाई मन पर्छ र ! गजलकारहरु पनि देशको दुरवस्थाबाट चिन्तित भएर खबरदारी गर्दैछन् ।

५. उपसंहार ः
‘धमिलिएका डोबहरु’ गजलसंग्रह आफैँमा एउटा इतिहास हो । सवाल–जवाफलाई संग्रहका रुपमा प्रस्तुत गरेर लेखकद्वयले प्रशंसनीय काम गरेका छन् ।

कृतिको शीर्षकले निराशावादी चिन्तनलाई प्रतिनिधित्व गरे पनि लेखकहरुमा गजल लेखनका प्रशस्त सम्भावना रहेको यस कृतिले प्रमाणित गर्दछ । केही स्थानमा भाषिक अशुद्धता, मिसरा ए शानी र मिसरा ए उलामा अक्षरहरुको असमानुपातिक रखाइ, कतैकतै भावमा विचलनजस्ता कमजोरी आगामी दिनमा नदेखिएमा साँच्चै कृतिले अझै उच्चता प्राप्त गर्दछ । सवाल र जवाफ कसको ? युवक वा युवतीको ? यो कृतिमा समेटिएको भए अझ स्पष्ट र सुन्दर बन्न सक्थ्यो । यद्यपि, ७२ पृष्ठभित्र समेटिएको प्रस्तुत कृति आकर्षक कलेवरमा आएको छ । गजलकारद्वय रामकृष्ण पौडेल अनायास र फुच्ची जमुनाको लेखकीय क्षमता अझ परिष्कृत बन्दै जाओस् र नेपाली गजलले उत्कृष्ट कृतिहरु यी दुईका लेखनीबाट प्राप्त गरोस् भन्दै हार्दिक शुभेच्छासहित उज्ज्वल लेखकीय भविष्यको कामना गर्दछु ।


व्दारिका नेपाल
२०७० आषाढ २०
(चितवन पोस्टमा प्रकाशित)