Friday, June 20, 2014

तिर्न नसकेको गुन


समय पुष माघको तुसारे र ठिर्याहट मौसमको थियो । दुबै आखाँबाट बरबर्ती आशुका ढिका खसिरहेका थिए । मान्छेहरुको हुलमिल थियो । सबै आ-आफ्नै धुनमा व्यस्त थिए । तर म ? म पनि व्यस्त नै थिए तर रुनमा व्यस्त थिए म । आफ्नो भाग्य धिक्कार्दै बस्नमा व्यस्त थिए म र खुब व्यस्त थिए निर्दयि भगवानलाई गाली गर्नमा । यि सबै सबै केबल मनको आधिलाई शान्त पार्न खोज्ने उपाए मात्र थिए तर वास्तविकता वास्तविक नै थियो । त्यही वास्तविकताले गर्दा नै म रोइरहेकी थिए । दुइ हातले मुख छोपेर रोइरहेकी थिए ।

हाम्रो कलेजको प्रशासन भवन दोस्रो तलामा थियो र प्रशासन भवनको ठिक अगडिको कोठा कक्षा ११ को व्यवस्थापन संकायको कोठा थियो । त्यही कोठा अगाडी उभिरहेकी थिए म । आज एक्जाम फर्म भर्नी अन्तिम दिन । साथीहरु सबैले फर्म भरेर घरतिर लागिसके तर म उभिरहेकै छु । मौन छु । अस्थिर छु । न बोल्न मन छ कसैसँग न घरतिर जान नै मन छ । जब आखाँ अगाडी कुनै पनि उपाए देखा पर्दैन तब रुनु बाहेक अरु विकल्प नै केहि नहुदो रहेछ ।

११ बजिसक्यो । कलेजको समय सकिएर स्कुल सुरु भैसक्यो र पनि त्यहिको त्यही छु । हातमा भरेको फर्म छ । तर त्यो भरेको फर्म प्रशासन भवनमा लगेर बुझाउने कसरी ? मन अलमलमा छ । मनमा आगो लागेको हो या पहिरो गएको हो केहि पत्तो छैन् । खाली छटपटी भैरहेछ र सोचिरहेछु मेरो नाङ्गो भविष्यको बारेमा । सोच्नु र सोचेका सपनाहरु तुहाउनु आखिर मेरो जिन्दगीको रित नै बनिसकेको थियो तर जती सपनाहरु तुहिन्छ यो पापी मनले उति नै धेरै सपनाहरु चाङ लगाएर राख्थ्यो । यि गरीबका आखाँहरुमा त सपनाको महल नठडिए पनि हुनि नि तर पनि महल दिनहु जसो बढ्दै जान्थे घट्नुको साटोमा ।

"जमुना" पछाडिबाट कसैले बोलायो । म झस्किय । पछाडी नफर्किदै मैले "हजुर" भनेर उत्तर फर्काय । उत्तर सँग सँगै पछाडी फर्केर हेरे । को ओर्डिनेट सर - डिल्लिराम सोडारी सर हुनुहुदो रहेछ । "सरहरु निस्कन लाग्नु भयो अब तिमी फर्म नबुझाएर किन यहाँ बसेकि ?" सरले सोध्नु भयो । केहि बोलुला झै ओठ चल्मलाए तर वाक्य नै फुटेन । "के भयो" सरले फेरी सोध्नु भयो । मैले बडो मुस्किलका साथ आवाज निकाले र आटँ गरेर भने - " सर, म सँग फर्म भर्नी पैसा नै छैन ।" एकछिन वातावरण शुन्य भयो । र त्यही शुन्यतलाई चिर्दै सरले भन्नु भयो – “फर्म पुरै भर्यौ ?” “अँ भरिसके सर । यि !" - सर तिर फर्म तेर्स्याउदै भने । “ल म सँग आउ ।“ म सरासर सरको पछी लागेर गए । प्रशासन कोठामा पुगेर सरले तुलसी सरलाई फर्म दिन भन्नु भयो मैले दिय । रुजु गर्दा फर्म भरेको सबै मिलेको रहेछ ।

मुटु कापिरहेछ । ढुकढुकी यसरि बढीरहेछ कि – मानौ, यहाँ भुकप्पले झट्का दिइरहेछ बारम्बार । बिलतिर हात बढ्यो तुलसी सरको मेरो मुटु झन जोडले काप्यो । बिल दिदै सरले भन्नु भो - ' ल २५९० रुपैयाँ ल्याउ जमुना" म खसे । थाहा छैन् कहाँ खसे ? एकाएक छाङ्गाबाट खसे झै भयो मेरो मन । बेतोडले आधी तुफान आए झै भो । अहिले त हात खुट्टा पनि लगलग कापिरहेका थिए । बोली फुटेन । ओठ बोलुला झै गर्थ्यो तर घाटी देखी माथी बोली आएन । घाटी मै अड्कियो । जति बोली मनदेखी आयको थियो सबै अड्कियो घाटी मै । मानौ, म बहिरी छु । बहिरी झै गरेर चुपचाप नसुने झै गरेर ठिङ्ग उभिइरहे । तुलसी सरले बिल मतिर तेर्स्याउदै गर्दा छेउमै उभिनु भएको सोडारी सरले भन्नु भो - "जमुनाको त्यो बिल मेरो नाममा लेखिदिनु सर !"

त्यतिबेला सोडारी सरलाई ढोगु ढोगु लाग्यो मलाई । लाग्यो मेरो भगवान यिनै हुन् । मलाई साक्षात दर्शन दिन आएका मेरा भगवान । त्यो नबोल्ने ढुङ्गो पुज्न र ढोग्न जुन कुनै बेला तत्पर हुने म आफ्नै आखाँ अगाडी उभिएका भगवानलाई ढोग्न किन नहुनु र ? ढोगे मैले । जसले जे भने पनि सोडारी सरलाई मैले मन मनले कयौ पटक र पटक पटक ढोग गरे । मनले ढोग्दा श्रद्दाले मेरो शिर सर अगाडी झुकिरहेको थियो । आखाँ भरी खुशीको आशु छचल्कियो । खुशीले सिमा नाघ्यो मेरो र लाग्यो चिच्याएरै रोउ म एकपटक । तर मन थामे र तप्प तप्प खासाए खुशीका थोपाहरु । त्यो बिलको पछाडी डिल्लिराम सोडारी भनेर नाम लेखिएको थियो । जुन बिल अझै पनि छ मसँग । सम्हालेर राखेकी छु मैले । किनकी त्यही बिलले मेरो उज्जल भविष्यको बाटो खोलिदिएको थियो ।

म घर आइपुग्दा १:०० बजेको हुदो हो । पेट भोको भए पनि मन भोको थिएन मेरो । खुशीले अघाएकी थिए म । आमाले मेरो बाटो कुरेर बस्नु भएको रहेछ । पिडिमा बसेकी मेरी आमाका आखाँ राता राता थिए । सायद, रोएका आखाँ हुनुपर्छ ति - मैले लख काटे तर सोधिन । आगन पुग्दा नपुग्दै आमाले सोध्नु भो - "फर्म के गरिस त नि ?" " अँ, भरेर आए " मैले यती भनिसक्दा आमाका आखाँमा अपत्यारिलो खुशी देखे मैले । ओठमा पनि देखे त्यही खुशी । "कसरी भरिस त ?" जे जे भयो सबै बताइदिए । आमा झन खुशी देखिनु भयो । बुवा भित्र सुतिरहनु भएको रहेछ । उहाले केहि सोध्नु भएन । सायद हामी आमा छोरिको कुरा सुनेर हो या चासो लिन नचाहेर हो थाहा भएन ।

त्यो साझ खाना खाने बेलामा आमाले भन्नु भयो - 'त स्कुल गैस । म पैसा खोज्न भनेर हिंड्न थालेकी थिए । निस्कन लाग्दा बुवाले भन्नु भो - त्यल्लाई पैसा मात्रै खोजेर दिइस भने तिमरु आमा छोरी नै बाच्दैनौ । आँ यो जड्याहाले जे भने नि भनुन भनेर नसुने झै गरेर हिडे तर सारा गाउभरी डुले तर कसैले दिएनन् । पैसा नपाएसी रित्तो हात लिएर स्कुल किन जानु भनेर गैन । पछी बाटेबारी माइलिले भनिन् - साइलाले पैसा माग्न आए भने नदिनु है भनेर भन्दै हिडेको रैछ गाउँभरी । त्यो सुन्दा त मलाई धिक्कार लागेर आयो । खान पनि मन लागेन त पनि आइनस । धन्न ती सरले दिएछन् । तीनको त जय जय होस कान्छी ।" यती भनिसक्दा आमाको गह आशुले लुछुप्पै भिजिसकेको थियो । आमाको आखाँमा आशु भरिएपछी मेरो आखाँ पनि त्यसै त्यसै भरिएर आयो । हामी आमाछोरी गफ गर्दा गर्दै त्यो रात १:०० बजेसम्म बसिएछ । सोडारी सरले दिनुभएको पैसा मेलामा गएर जम्मा गरेर साउनतिर तिरे तर त्यो दिनको गुन तिर्न आज सम्म सकिन मैले । यस्तो लाग्छ - त्यो गुनको रिन मैले कहिल्यै तिर्न सक्ने छैन् ।