Monday, June 30, 2014

यो संसारमा मेरी आमा जस्तो दु:खी अरु कोही छैन् ! (खण्ड 'ग')


खासै पढ्न मन नलागे पनि एक्जाम राम्रै गरेको आभास भयो मलाई । अबको खाली समय के गरेर बिताउने ? भनेर साथिहरु छलफल गर्न थाले - धेरैको सोच कम्प्युटर सिक्छु भन्ने भयो । म बिचरी के सिक्नु ? मन त थियो नि कम्प्युटरका किबोर्ड माथी औंला राखेर आफ्नो मनको भावना सरर लेख्न तर कर्ममा त्यसरि किबोर्ड छुन लेखेको होला कि नहोला भन्ने मै दोधार थिए म । केहि दिन लगत्तै मेरै घर अगाडिको बाटो हुँदै साथीहरु पर्साढाप बजारतिर कम्प्युटर सिक्न जान थाले ।

गहुँ भित्र्याइसकिएको थियो । फापर ठटाउन बाकिँ थियो । मेरो काम त्यही भयो । दिनभरी फापर ठटाउने , उडाउने, बनाउने र थन्क्याउने । अरुले कम्प्युटरका किबोर्डमाथी आफ्ना औंलाहरु कसरी छिटो दगुराउने भनेर सिक्दा मैले कसरी फापर छिटो उडाउने भनेर सिके - फरक यत्ती न हो ।
चैतको खडेरी भन्छन् - त्यही खडेरिको चर्को घाममा खटिन थाले म । त्यो टन्टलापुरे घाममा म एक्लै कहाँ हुन्थे र ? म सँगै फापर ठटाइरहेकी हुन्थिन मेरी आमा पनि । दिनभरी जसो फापर बानायो साझपख घर मालिक आउनुहुन्थ्यो र बेच्नु हुन्थ्यो । पैसा पोको पार्नुहुन्थ्यो अनि जुन भट्टीबाट उठेर आउनु भको थियो त्यही भट्टी तिरै जानुहुन्थ्यो । हामी टुलुटुलु हेर्थ्यौ र चुप्प लागेर भित्र पस्थ्यौ । आमाले त भित्र पसेर सराप्नु पनि हुन्थ्यो । आखिर चित्त बुझाउने बाटो न हो । सरापेर मात्रै त्यो मनको पिडा त के शान्त हुदो हो र ? त्यै पनि सराप्नु हुन्थ्यो र मन शान्त पारे झै गर्नुहुन्थ्यो । घर व्यवहार चलाउनु पर्ने सम्पुर्ण जिम्मेवारी आमाको काधमा थियो तर २ / ४ पैसा हातमा पर्ला कि भनेर आस गरेको बेला अरुले नै पोको पारेर हिडिदिन्थ्यो । म सोच्थे - बिचरी मेरी आमा ! कसरी पुर्याउछिन घर खर्चो ?

हामिले पसिना बगाएर आएको पैसाले पार्टी हुन्थ्यो रे पर्साढाप बजारको "तिवारि" भट्टिमा । पार्टी के को खुशीयालिमा हुन्थ्यो त्यो चाही मलाई नि थाहा थिएन न थाहा थियो मेरी आमालाई नै । पार्टी सकेर घर फर्कदा रातको करीब १२ बजिसकेको हुन्थ्यो । म निदाइसकेकी हुन्थे । मेरो सिराननिर टुक्रुस्स बसेकी हुन्थिन आमा - बुवालाई पर्खेर । बुवा आएपछी हल्लिखल्ली मच्चिन सुरु हुन्थ्यो । त्यसपछी म ब्युझन्थे । यस्तो लाग्थ्यो - त्यतिबेला म सँगै वल्तिर पल्तिरका जासुसे आइमाइहरु पनि ब्युझिन्थे । यदी म ब्युझिन भने पनि आमाले घच् घचाएर उठाउनु हुन्थ्यो । म जुरुक्क उठ्थे र झ्यालनेर भित्तामा अडेस लगाएर बस्थे । आमाले बुवाको लागी भान्सा तयार गर्न थाल्नुहुन्थ्यो ।

न मलाई थाहा थियो न त मेरी आमालाई नै - रक्सी बाहेक के के पाइन्छ र खाइन्छ पार्टिमा भनेर । टन्न पेट भरेर आउनु भाको बुवालाई घरमा पाकेको सावित्री चामलको भात कहाँ पच्दो हो र ? न खानु हुन्थ्यो न सुत्न दिनुहुन्थ्यो न आफु सुत्नुहुन्थ्यो नै तर कचकच कचकच गरिरहनुहुन्थ्यो । बिस्तारै बोल्दा बोल्दै बुवाको बोली चर्को चर्को हुन्थ्यो । म डराउथे । म मात्रै किन मेरी आमा पनि डराउथिन र चुपचाप सुनिरहन्थिन मात्र । मेरी आमाको सहनशिलता देखेर म छक्क मात्र पर्दिनथे अचम्म नै पर्थे । अहो ! कती धेरै सहन क्षमता छ मेरी आमामा । धन्य मेरी आमा ! तिम्रो कोखबाट जन्म लिन पाउनु मेरो सौभाग्य मात्र होइन अहोभाग्य नै सम्झन्छु म तर बुवालाई जन्मदाता भन्नु पर्दा धक लागेर आउछ मलाई ।

अँ, बोली चर्को हुँदा हुँदै बुवा आमामाथी नै जाइलाग्न थाल्नु हुन्थ्यो । रक्सिको मातले बल आफ्से आफ उत्पती हुन्थ्यो या झन झन जोसले शरिर तातेर आउथ्यो ? खै ! के हुन्थ्यो कुन्नी ? बुवाको पारा देखेर दंग पर्थे म । दिउसो नखाको / नमातेको बेलामा देउता जस्तो मान्छे मातेर आएपछी यस्तो चर्तिकला । त्यसबखत कि त आमा डल्लो परेर अगेना छेउमा बस्नुहुन्थ्यो कि त घर बाहिर भाग्ने कोसिस गर्नुहुन्थ्यो । जब आमा डल्लो परेर अगेना छेउमा बस्नुहुन्थ्यो तब म खाटबाट तल ओर्लन्थे र आमाको छेउमा गएर टुक्रुस्स बस्थे । जब बुवाको लात आमामाथी जाइलाग्न खोज्थ्यो तब त्यो लात आफु माथी परोस भन्ने चाहन्थे र आमालाई बचाउने कोसिस गर्थे । बिचरी, मेरी आमा ! दिनभरी घरदेखी मेलापात सम्मको कामले लोत परेकी हुन्छिन झन उसै माथी मध्यरातमा ति मातेका बलिया लात खानु पर्‍यो भने कती असह्य हुदो हो ? त्यही असह्य पिडालाई केहि हदसम्म भएपनी बचाउन चाहान्थे म र त आमामाथी बज्रीन खोजेका लातहरुलाई आफुमाथी थाप्थे । साच्चै आमाको मन कती फराकिलो हुन्छ हगी ? मैले आफुमाथी थाप्न खोजेको लातलाई पन्छ्याएर आफै माथी परोस भन्ने कसरत गर्नुहुन्थ्यो उहाँ । किनकी आफुले नौ महिनासम्म गर्भमा बोकेर हिडेको आशा को पोको थिए म ।

अनि, जब आमा भाग्ने सुर निकाल्नुहुन्थ्यो तब म पनि आमासँगै पछिपछी सुस्तसुस्त भाग्ने कोसिस गर्थे । हामी मुल ढोकाबाट फुत्त निस्किन्थ्यौ र घर अगाडी बाटो पारी रहेको पाती घारिमा लुकेर बस्थेउ । '…..यि आमाछोरिलाई नमारी छोड्दिन आज । ए ! बाहिर निस्कओ तिमरु । यिनरुको व्यहोरा देख्दा चण्डिजाल उठेर आउछ । यो राडी आफु त बिग्री बिग्री त्यो छोरिलाई पनि बिगारी…….।' आदी इत्यादी भन्दै बुवा भित्र बाहिर गरिरहनुहुन्थ्यो । पातिघारिबाट नदेखे झै गरी लुकिलुकी हेरिरहन्थ्यौ हामी । त्यो पातिघारिमा लुकेको सम्झिदा अचेल मुटु चिसो भएर आउछ तर उ बेला हामिलाई कत्ती डर थिएन - पातिघारिमा केहि आउला र टोक्ला भन्ने । त्यो अध्यारो घारिमा आमाको छातिमा टासिएकी हुन्थे म त्यसैले पनि होला मलाई आफु सुरक्षित महसुस भएको तर मेरी आमालाई डर किन लागेन होला ?

फत्फताउदा फत्फताउदै बुवा सायद निदाउनुहुन्थ्यो । कुनै चानो मानो सुनिन्थेन । त्यसपछी हामी आमाछोरी बिरालोको चालामा लुसुक्क भित्र छिर्थ्यौ र बिस्तारी ओछ्यानमा गएर पल्टिन्थ्यौ । आमालाई खै ! के हुन्थ्यो मलाई थाहा भएन तर मलाई भने - आज त बाचियो भने झै लाग्थ्यो । सुतेको घण्टौसम्म पनि आखामा निन्द्रा पर्दैनथ्यो । त्यसैबखत म सोचिरहन्थे - जसलाई जिन्दगीभरिको सुख - दु:खको साथी भनेर आमा बुवाले कन्यादान दिएर पठाए उसैले मन बुझ्न त कहाँ हो कहाँ उल्टै मातेको जोसमा लात्तिले भकुर्छ, दाउराले सुम्ल्याउछ, हसियाको झटारो हान्छ अनि बचनको वाण प्रहार त कती गर्छ कती र पनि चुपचाप सहनु पर्ने रे । बाहिर कसैले थाहा पाउला भनेर कुरा लुकाउनुपर्ने रे । घरको चिन्ता उनैले लिनुपर्ने , खेतबारी उनैले समेल्नु पर्ने, मेलापात उनैले भ्याउनु पर्ने अनि छोराछोरिको रेखदेख उनैले गर्नु पर्ने । उफ्, अझ भएन भनेर दिनभरिको कामले लोत परेको शरिरमाथी मध्यरातमा बिना कारण गाली उनैले खानु पर्ने । साच्चै भन्ने हो भने - यो संसारमा मेरी आमा जस्तो दु:खी अरु कोही छैन् ।

सेतोपाटी डट कम मा प्रकाशित
प्रकाशित मिति: शनिबार, आषाढ २८, २०७१
यो संसारमा मेरी आमाजस्तो दु:खी अरु कोही छैन !! 

यो संसारमा मेरी आमा जस्तो दु:खी अरु कोही छैन (खण्ड 'ख') -  पढ्न यहाँ क्लिक गर्नुहोस् ।