Thursday, June 19, 2014

बालसंमरण - बाल्यकालका पदचापहरु




आफ्ना बाल्यकालका दिनहरु एकएक सम्झिन निकै कठिन हुन्छ । तर तिनै सम्झन नसकिने यादहरु नै जिन्दगी अवधिभरमा सबैभन्दा प्यारा लाग्छन् । जो कसैले पनि आफ्नो बाल्यकालका संमरणहरु ताजा राखिरहन चाहन्छन् - आफ्नो मानस्पटलमा तर यहाँ खगेन्द्र संग्रौलाले त जिवन्त राख्ने प्रयास गरेका छन् - कृती "बाल्यकालका पदचापहरु" मार्फत । सम्झदा पनि भित्रैदेखी छुट्टै खुशीको आभाष भएर आउछ । बाल्यकालका ति दिनहरु - बोले पनि मिठो, नबोले पनि मिठो । हासे पनि मिठो , रोए पनि मिठो । साच्चै, जे गरे पनि मिठो ।

संग्रौलाका पदचापहरु पढ्दै जादा मलाई मात्र होईन् पढ्ने सबैलाई लस्करै यादगार हुन्छन् आफ्न ति बाल्य दिनहरु । छुट्टा छुट्टै ४८ वटा शिर्षकमा अनुबन्धित छ यो कृती । हरेक शिर्षकले छुट्टाछुट्टै पलहरुको सम्झना गराएका छन् अझ भनौ संग्रौलाका ४८ वटा बाल्य यादहरुलाई ताजा बनाएका छन् । हरेक शिर्षकहरु आफैमा पुर्ण छन् । एउटाको अन्त्यले अर्कोसँग सम्बन्ध गासेका छैनन् । हरेक खण्डहरु छोटा छोटा छन् । पढ्दा खेरी अल्छी नलाग्ने । कहाँ पुगेर कतिबेला टुंगिने हो ? भनेर अत्यास पनि नलाग्ने ।

संग्रौलाले आफ्नो बाल्यकालको सम्झना सँग सँगै केहि तत्कालिन राजनैतिक स्थिति, समाजमा एकल महिला माथी लगाइने आरोप प्रत्यारोप तथा अत्याचार , दुराचार र उ बेलाको शैक्षिक अवस्थालाई पनि उजागर गरेका छन् । अझ 'बडिआमाको बिचल्लि' शिर्षकले मनमा कता कता ननीको गरी दुखाइ रह्यो मलाई । साच्चै, यो समाज एकल महिलाहरु प्रती किन यती क्रुर व्यवहार गर्छ होला ? समाजका सबै मध्य कसको निधारमा के लेखेको छ ? कस्तो भोग्न लेखेको छ ? कसलाई के थाहा ? लोग्ने भन्दा पहिला स्वास्नी मर्छे या स्वास्नी भन्दा पहिले लोग्ने मर्छ ? कसलाई के पत्तो ? तिनै स्वास्नी मान्छेहरु रत्तिभर सोच्दैनन् कि म पनि भोली विधुवा हुन सक्छु भनेर अनि सोच्दैनन् म पनि विधुवा हुँदा यसरि नै आरोपहरु आइलागे भने मलाई कस्तो प्रभाव पर्छ भनेर । लोग्ने मान्छेहरु त लोग्ने नै भए । उनिहरुको कुरै नगरे नि हुन्छ । उनिहरुलाई स्वास्नी मरेर विधुवा बन्नु पर्दैन न बस्नुपर्छ जिन्दगी भए एक्लै । स्वास्नी मरेको दुइ महिना पनि नबित्दै कान्छी भित्र्याउछन् र मर्द हुँ भन्दै छाती फुलाएर हिड्छन लोग्नेहरु तर स्वास्निहरु त्यसो गर्न सक्दैनन् । तर, स्वास्नी मान्छेहरुले नै अर्की स्वास्नी मान्छेलाई गरेको निन्दनिय व्यवहार देख्दा कता कता छाती चसक्क हुन्छ मेरो ।

पढिरहदा कतै रमाइला पलहरु छन् भने कतै डर लाग्दा पलहरु पनि समावेस गरिएका छन् । संग्रौलाले बाल्यकालको बेलामा गरेका पटकपटकका उट्पट्याङ्, “घोप्टे कपुरी 'क'” , “लाहुरे मास्टर ठन्डेइच”, “भुर्भुस् भुर्भुस् छुस छुस” जस्ता शिर्षकहरु पढ्दा रमाइलो लाग्छ तर “मुर्कुट्टासित जम्काभेट” पढ्दा भने खुब डर लागेर आउनी । आफै मुर्कुट्टाको फेला परे झै गरेर मुटु थरथर कामे झै हुने । लीला सरको “ब्याउनी पप” खुब चाख लाग्दो छ अनि “सानाले सुन्नु नहुने कथाहरु” भने पढुम पढुम लाग्ने खालको छ ।

संग्रौला साहित्यमा निखारिएका व्यक्ती भएकोले पनि होला निकै सरल भाषाशैलिमा प्रस्तुत भएका छन् यहाँ तर आफ्ना पदचापहरु प्रती पाठकलाई आकर्षित गर्ने कलामा फेल भएका छन् उनि । पढ्दै जादा पाठकलाई कौतुहलता जगाउने र अक्षरहरुको डुङ्गा चढेर अक्षरमाथी नै सयर गर्दै अझ अगाडी बढ्न प्रेरित गर्ने शिल्पले 'इस' ख्वाएछ संग्रौलालाई ।